मच्छिन्द्र विराट गोल्डकपको फाइनलमा
विराटनगर : मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। सहिद रंगशालामा बिहीबार राति सम्पन्न अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतलाई १–० गोल अन्तरले स्तब्ध बनाउँदै मच्छिन्द्र उपाधिनजिक पुगेको हो। मच्छिन्द्रले सिक्किमविरुद्ध कठिन जित निकालेर फाइनलमा घरेलु टोली सांग्रीला मोरङ एफएसँगको भिडन्त पक्का गरेको छ।
गोल्डकपको उपाधि रक्षाका लागि मच्छिन्द्र र सांग्रीलाबीच आगामी शनिबार फाइनल स्पर्धा हुने छ। सांग्रीला विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गर्दै बुधबार उपाधिनजिक पुगेको टिम हो।
मच्छिन्द्रलाई फाइनल पुर्याउने क्रममा आयुष घलान नायक बने। प्लेयर अफ दी म्याच घोषित भएका उनले ११ हजार नगद पुरस्कार पाए। वैकल्पिक खेलाडी मनिष डाँगीको क्रस पासलाई सदुपयोग गर्दै घलानले ९४ औं मिनेटमा टिमको जितका लागि निर्णायक गोल गरेका हुन्। उनको दर्शनीय गोलबाट मच्छिन्द्र फाइनल पुग्दा विदेशी पाहुना टोली भने स्तब्ध बनेर फर्कियो। घलानलाई बल निकाल्न सहयोग गरेका डाँगी मध्यान्तरपछि हिसब थपलियाको ठाउँमा मैदान प्रवेश गरेका थिए।
फिनिसिङ कमजोर हुँदा खेलमा पाएका महत्वपूर्ण अवसरलाई दुवै टिमले सदुपयोग गर्न सकेनन्। आदर्श तामाङले ९ औं मिनेटमा ३० यार्डदेखि गरेको कडा प्रहारले पोस्टको दिशा तय नगर्दा सिक्किम सुरुवाती अग्रता लिनबाट चुक्यो। ३२ औं मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी एनडे«सले डी–बक्स भित्रबाट गरेको प्रहारमा सिक्किमका गोलरक्षक प्रिसो बाधक बने।
हिसब थपलियाको प्रहारमा सिक्किमका गोलरक्षक बाधक बन्दा मच्छिन्द्रले पहिलो हाफमा अग्रता लिन पाएन। पहिलो हाफ गोलरहित बराबरीमा सकियो। ५२ औं मिनेटमा मिच्छिन्द्रका एनडे«सको प्रहार बाहिरियो। मच्छिन्द्रका आयुष घलानले ७८ आंै मिनेटमा डी–बक्स भित्रबाट गरेको प्रहारलाई सिक्किमका गोलरक्षकले विफल पारिदिए। ८९ औं मिनेटमा आदर्श तामाङले पेनाल्टी एरियाबाट गरेको प्रहार फ्रेमभित्र नपर्नु सिक्किमका लागि दुर्भाग्यपूर्ण बन्यो।
सिक्किमा प्रशिक्षक कुन्जन भुटियाले खेलाडीले उत्कृष्ट पदर्शन गरेपनि फिनिसिङ कमजोर रहेको बताए। निर्धारित ९० मिनेटपछि थप गरिएको समयको अन्तिम एक मिनेट लेफसाइट कमजोर हुँदा गोल खानु परेको उनको भनाइ छ। भुटियाले अन्तिम समयमा खेलाडी सम्हालिन नसक्नु हारको मुख्य कारण बनेको बताए।
मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले पहिलो हाफमा थुप्रै अवसर गुमाएका कारण जित निकाल्न अन्तिम समयसम्म पर्खनु परेको बताए। दोस्रो हाफपछि रणनीति परिवर्तन गरेर विपक्षीलाई दबाबमा राख्न सकेका कारण खेल मच्छिन्द्रको पोल्टामा परेको उनको दाबी छ।
‘हाम्रो फिनिसिङ सोचेजस्तो भएन। त्यसैले सुरुवाती गोल भएन,’ न्यौपानेले भने, ‘उपाधि रक्षाका लागि फाइनलमा राम्रो प्रदर्शन गर्छौं। फाइनलमा विमल घर्तीमगरलाई मैदानमा उतार्ने प्रयास हुनेछ।’
गोल्डकपमा पुरस्कारवापत विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउने छन्। उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ। सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने छ।
बलका लागि प्रतिस्पर्धा गर्दै सिक्किम ड्रागन (रातो जर्सी) र मच्छिन्द्रका खेलाडी।