असिना पानीले ४ करोडको इँटामा क्षति
परासी : बेमौसमी वर्षाका कारण नवलपरासीमा ४ करोड बराबरको इँटामा क्षति पुगेको छ। सोमबार राति परेको असिना पानीले काँचो इँटामा क्षति पुगेको हो।
जिल्लामा रहेका १७ उद्योगमध्ये हालः ११ वटामात्र सञ्चालनमा छन्। ‘आर्थिकमन्दीका कारण ६ वटा उद्योग सञ्चालन हुन नसकेर बन्द भए। अहिले सञ्चालनमा रहेका उद्योगमा तयार गर्न राखिएका करिब १ करोड २० लाख बढी काँचो इँटामा क्षति पुर्याएको छ,’ नेपाल इँटा उद्योग महासंघका केन्द्रीय सदस्य एंव हरिकृष्ण इँटा उद्योग रामग्रामका सञ्चालक कृष्ण नारायण श्रेष्ठले भने।
प्रति काँचो इँटा तयार गर्न ३ देखि ४ रुपैयाँ लाग्ने गरेको छ। जिल्लामा वार्षिक ४ करोड इँटाको माग छ। ‘पहिला ८ देखि ९ करोड इँटाको माग हुने गरेको थियो। आर्थिकमन्दीका कारण अहिले ५० प्रतिशत माग घटेको छ,’ उनले भने।
माग नहुँदा गत वर्ष ४ करोड इँटा उत्पादन भएको र त्यसलाई खपत गर्न पनि धौ-धौ भएको जिल्ला इँटा उद्योग संघले जनाएको छ। तयार भएको इँटा प्रति हजार १३ देखि १४ हजारमा बिक्री हुँदै आएको छ।