नक्साको जूनमा चहक
सकारात्मक सोचमा जीवन बाँच्ने ऊर्जाको दियालो सल्काउँछिन् कवि यी कवितामा।
कवि र कविताको साइनो कति प्रेमिल हुन्छ। एउटा शब्दशिल्पी कसरी अक्षरको पूजारी हुन्छ र अनुभूतिको माला उन्छ अनि त्यो माला श्रद्धेय पाठकलाई पहिराउँछ भन्ने उदाहरणको जीवन्त नमुना हो, कवितासंग्रह ‘नक्साको जून’। जब कृतिभित्र छिरेँ तब यहाँभित्रका शक्तिशाली कविताले मभित्रको वैचारिक धरातल राम्रैसँग हल्लायो। कवि जयन्ता पोखरेललाई सिंगो कृतिभित्र पढ्ने अवसर यसअघि पाएकी थिइनँ। उनीभित्रको काव्यिक चेत र साहित्यिक अन्तक्र्रियाको फुँदो गाँसेर घण्टौं बस्ने फुर्सद मिलेकै थिएन।
नमिलेको पनि जाती अहिले किन प्रियकर लाग्यो भने उनका कविताका पंक्ति र बान्कीमा बेहिसाब कुद्न पाएँ। काव्यिक आनन्दको रसपान गर्न पाएँ। उनका कविता निश्चित रूपमा समयका दस्तावेजहरू हुन्। तर, पनि कति मीठो लेखन। खिप्ने कलामा उनी कति सिपालु। भूमिकामा लेखेकी छन्, ‘एकदशक अघि ‘मेरो अर्थमा’ कविता कृतिको एउटा देउराली तयार पारेँ। त्यही देउरालीमा छाडेर काव्य अभ्यास र आपूmलाई म गायब भएँ...।’ यसबीचमा उनले घरगृहस्थी र साहित्यिक यात्रा दुवैसँग रस्साकस्सी गरिन् र अन्ततः सुन्दर उपहार दिइन्। लगभग चार दर्जन कविता यसभित्र छन्। प्रायः कविता मझौला आकारका छन्। थोरै मात्रामा संक्षिप्त पनि छन्। हरेक कविताले दिने सन्देश आफैंमा शक्तिशाली त छँदै छ, त्यसलाई प्रस्तुत गर्ने कला पनि मनमोहक छ। संग्रहको प्रथम कविता ‘ओ काठमाडौं सरी ल !’का केही हरफ :
साँगुरो आँगन
काठमान्डूले बोलाएको थिएन मलाई
सुविधाको ल्याम्पपोस्टमुनि
पुतली झैं फरफराउन
काठमान्डूले लगाएको थिएन मलाई
कंक्रिटको चिसो ओडारमा
झरिलो बिपना ओस्याउन
काठमान्डूले झिकाएको थिएन मलाई (पृ. १)
पक्कै पनि काठमाडौं अवसरको खानी हो। पचास लाखभन्दा बढी नागरिक राजधानीमा बसोबास गर्छन्। यसका अप्ठेरा सजिलै महसुस गर्न सक्छौं। जान्दाजान्दै पनि काठमाडौं बिरानो सहर महसुस हुन्छ। यही कारण होला उनी काठमाडौंलाई सरी भन्दै गाउँघरतिर लाग्छिन्। पर्यावरणमैत्री कविता ‘उक्लदै गर्दा’ र ‘तुइन’ लेख्छिन्। यी दुवै कवितामा ग्रामजीवनको निश्चलता र हार्दिकता भेटिन्छ। उसो त मानिसलाई गाउँले मात्र कहाँ तृप्ति दिन्छ र ? ‘हरियो सपनाको युद्ध’ कवितामा फेरि आफूलाई शहरवासी भएकोमा गर्व ठान्छिन्। उनका कवितामा युगीन समयका बुलन्द आवाज झंकृत छन्। गलतलाई गलत भन्न उनी डराउँदिनन्।
विसंगत समयको भताभुंग अवस्थामा पनि उनी आशावादी छन्।
सकारात्मक सोचमा जीवन बाँच्ने ऊर्जाको दियालो सल्काउँछिन्। समय सधैं प्रतिकूल हँुदैन, विकासको निख्खर उज्यालोले गति लिनेछ भन्दै ‘विश्वासका कोसेलीहरू’ कविता बाँड्छिन्। दशकौंदेखि अस्थिर राजनीतिले देशलाई गाँजेका कारण नेताप्रति उनको गम्भीर प्रश्न छः निर्मला हत्याकाण्डको कुरा, वैदेशिक रोजगोरमा पुगेकी चेलीले आठ वर्ष कोमामा पुगेर मृत्युवरण गर्नुपर्दाको अवस्था, बिचौलिया र लुटाहाले देशलाई खोक्रो पारेको सन्दर्भ, मसला कविता आदिबाट। कुनै पनि घटनाको वास्तविक अवस्था नबुझी हत्त न पत्त असत्य, भ्रामक र मनगढन्ते समाचार लेख्ने पीत पत्रकारिताप्रति ‘खबर’ शीर्षकको कवितामार्फत उनी खबरदारी गर्छिन्। लेख्छिन्:
दबाबका अनेक मुद्दाहरूमा
प्वाँख पलाएपछि
पीतकर्मको आकाशमा
खतराको चिल देखिएपछि
कुखुरीले चल्ला छोपे झैं
झ्यापभुप झुटलाई छोपेर
हरेक दिन अखबार कुरकुराएर बस्छ
कुरकुराउनबाहेक अखबार
अरू के गर्न सक्छ र ? (पृ. १६)
प्रतिकूल समय र अस्थिर राजनीतिको पासो थापेर राजतन्त्र फर्कनु पर्छ भन्नेहरूप्रति उनी ‘नागार्जुन’ शीर्षकको कवितामा भरौटेहरूलाई शब्दको कोर्रा हान्छिन्। युवा किन विदेश पस्छन् ? सत्ताको तबेलामा हिनहिनाउने सत्ताधारीहरूले किन बुझ्दैनन् जनताको मनोविज्ञान ? उनी प्रश्न गर्छिन्। जयन्ता नारी कवि हुन्। अवश्य पनि उनका कवितामा वर्गीय चेतको बुलन्द आवाज पाइन्छ। हिजोसम्म गृहिणी मात्र बनेर घर व्यवहार धानेकी हजुरआमाले सन्तानलाई पर्याप्त माया दिन्थिन् होला, अहिलेका आमाहरू घर कार्यालय, सामाजिक पहिचानका लागि अस्तित्व चेतप्रति सचेत छन्। पुरुषको भन्दा महिलाको समय अझ बढी विभाजित छ। पुरुष अफिसको कामबाट फर्केपछि घरमा पुगेर आराम गर्छन् तर महिला अफिसको काम भ्याएर फेरि घरधन्दाको तालिकामा चर्कोसँग खट्नुपर्छ। यही दौडधूपको रिले खेलमा आफ्ना सन्तानको कपाल सुम्सुम्याउँदै बाबु र नानी भनिरहन भ्याउँदिनन््।
मन उनीहरूकै वात्सल्यमा हरेक धड्कनमा धड्किरहेको हुन्छ तर पनि सन्तान सजिलै भनिदिन्छन्– हामीलाई माया नै गर्नुहुन्न, हाम्रा लागि समय नै दिनुहुन्न। यतिबेला एउटी महिलाले प्रमाणको रूपमा के पेस गर्ने होला सन्तानका लागि ? जयन्ता शब्दशिल्पी भएकीले आफ्ना भावना खन्याउन सजिलो भयो कवितामा। उनी भावनामा पग्लिनन्। अनेकौं बाधाव्यवधान आए पनि आत्मबलले स्वाभिमानको पहाड उक्लिरहन्छिन् र ‘म मर्दिनँ’ कवितामार्फत कमलीको स्वअस्तित्व चेतलाई बुलन्द पारिरहन्छिन्। सरकारी कर्मचारीले भ्रष्टाचार गर्नुमा पनि कतै न कतै महिलाको पनि हात त छैन भनेर सचेत गराउँछिन्। आत्मसम्मानको शंघघोष कवितामार्फत उनी भन्छिन् :
छड्के तिलहरी ढल्काएर
म अझै नाच्नुपर्छ
सुनको दाँत टल्काएर
म अझै हाँस्नुपर्छ
भन्नेहरू मलाई खर्दार्नी भन्छन्
मै हुँ हरपल उक्साउने
मै हुँ उनलाई घुस्याहा बनाउने (पृ. ९५)
नक्साको जुनभित्र समसामयिक विषयका मन छुने कविता प्रशस्तै छन्। उनको कवितात्मक शैली पृथक छ। अस्तित्वचेतले उनी हिमाल झैं अग्लिएकी छन्। जीवन भनेको जीत र हारको सहयात्रा हो भन्ने दर्शनलाई उनले बुझेकी छन्। आमाप्रति श्रद्धाभाव राखिएका कविताले उस्तै भावुक बन्छ पाठक। यो देशमा सबथोक बिक्रीमा हुँदा एउटी युवतीले बाध्यतामा शरीर बेच्छे भन्ने उसलाई मात्रै किन अवहेलना भनेर प्रश्न गर्छिन्। युवाजति विदेशमा हुँदा वृद्धवृद्धा वृद्धाश्रममा रहनु पर्ने हो भनेर सचेत गराउँछिन्। देशप्रेमको झन्डा उत्तिकै अग्लो छ। प्रत्येक कविताले पाठकलाई मीठो झंकार पैदा गराउँछ। कवितामा विम्ब र प्रतीकको सुन्दर प्रयोग छ। फिपी, चरी, घुम्टो, सेतो सिक्का, थाबो जस्ता अनेक विम्बले कवितालाई वजनदार बनाएका छन्।
जयन्ताका कविता पढ्दा विपुल प्रतिभाशाली कवि लाग्छिन् कवि। हरेक पाठकले यो कविता संग्रह पढून् र उनको काव्यिक धरातलको पहिचान गरुन्। साझा प्रकाशनबाट २०७९ सालमा प्रकाशित यो संग्रह पठनीय र कविता विधाको महत्वपूर्ण प्राप्ति लाग्यो। ठाउँठाउँमा अंग्रेजी शब्दका सट्टा नेपाली शब्द नै राखेको भए भन्ने पाठकलाई महसुस हुन्छ। यद्यपि पढ्दा काव्यिक रसको पर्याप्त आस्वादन गर्न सकिन्छ। यति सुन्दर कविताको संगालो नेपाली साहित्यले पाउनु गर्वको कुरा हो।