पुनर्लेखन तथा प्रतिलेखन

पुनर्लेखन तथा प्रतिलेखन

नेपाली साहित्यमा अनुवाद, सिक्वेल लेखन, पुनर्लेखन, प्रतिलेखन, जवाफी लेखनजस्ता पुनर्लेखनका अनेक प्रकार देखिएका छन्।

सृष्टिमा शाश्वत तथा अन्तिम सत्य भन्ने केही हुँदैन, समयक्रममा कतिपय स्वचालित रूपमा परिवर्तन हुन्छन् भने कतिपयचाहिँ योजनाबद्ध ढंगले परिमार्जित हुँदै जान्छन्। देश, काल, वातावरणअनुरूप साहित्यमा वर्णित अनेक सन्दर्भ तथा दृष्टिकोण पनि पुरानो हुँदै जाने सम्भावना भएकाले नयाँ सन्दर्भबाट साहित्यलाई समयसापेक्ष बनाउने क्रममा साहित्यमा बेलाबेला अनेक प्रयोग भइरहन्छन्। यस्ता प्रयोगहरूमा सिक्वेल लेखन, पुनर्लेखन तथा प्रतिलेखनजस्ता अनेक विधि पर्छन्।

नेपालीमा प्रयुक्त ‘पुनर्लेखन’ शब्द अंग्रेजी शब्द ‘रिराइटिङ’को निकटतम अर्थका रूपमा प्रयोग गरिन्छ। कुनै लेखकले अग्रज लेखकका रचनाकृतिहरूलाई आफ्नो उद्देश्यअनुरूप सुनियोजित ढंगले आफ्नै शैलीमा सिर्जना गर्नुनै पुनर्लेखन हो। यसमा पूर्वकृतिका पात्र र घटनाहरूलाई वर्तमान सन्दर्भसँग जोडेर मौलिक स्वरूप प्रदान गरिन्छ। त्यसैले साहित्यका क्षेत्रमा पुनर्लेखन प्रक्रिया निरन्तर रूपमा भइरहने निश्चित छ। पुनर्लेखन गर्दा कस्ता पाठकका लागि रचना गर्ने भनी रचनाकारले आन्तरिक योजना बनाउने हुनाले यसका पाठक पनि लक्षित हुन्छन्। यसले गर्दा लक्षित पाठकवर्ग र पुनर्लेखनको सम्बन्ध प्रत्यक्ष रहेको हुन्छ।

साहित्यका क्षेत्रमा पुनर्लेखनको व्यापक प्रयोग पूर्वमा भएको देखिन्छ। पूर्वमा यसलाई ‘पुनर्लेखन’ नै नभनिए पनि ‘भाष्य’ एवं ‘टीका’ जस्ता नामबाट प्रशस्त मात्रामा पुनर्लेखन गरिएको परम्परा लामो छ। पूर्वीय साहित्यका विशाल एवं विराट काव्य रामायण र महाभारतलाई उपजीव्य बनाएर अनगिन्ती कृतिको सिर्जना भएका छन्। अझ कतिपय सन्दर्भमा त अनुवादलाई समेत पुनर्लेखन मानेर चर्चा गरिएको पाइन्छ। यस दृष्टिले हेर्दा पूर्वीय साहित्यमा पुनर्लेखनको प्रचलन धेरै पुरानो देखिन्छ।

वर्तमानमा प्रचलित पुनर्लेखनको पश्चिमी अवधारणाचाहिँ प्लेटोको कला प्रकृतिको अनुकरण हो तथा एरिस्टोटलको ‘कला साहित्य सत्यको दुई गुणा टाढा हुन्छ’ भन्ने भनाइमा संकेतित छ। पुनर्लेखनका सन्दर्भमा देखापरेको पछिल्लो अवधारणाले विगतका रचनाहरूमा देखिएका अपूर्णतालाई परिवर्तित सामाजिक, राजनीतिक सन्दर्भमा पूर्ण बनाउने प्रयास गर्छ।

पछिल्लो समयमा पश्चिमी साहित्यमा देखापरेको उत्तरआधुनिकतावादी चिन्तनले पुनर्लेखनलाई नवीन दृष्टिले हेर्ने र व्याख्या गर्ने प्रयास गरेको छ। यसले स्थापित परम्परित मूल्यमान्यतालाई भत्काउने सन्दर्भमा र बदलिँदो सामाजिक तथा राजनीतिक परिवेशमा नवीन अर्थको खोजीका लागि पुनर्लेखनलाई एउटा उपयोगी साधन मानेको छ। यसका साथै स्थापित मूल्यमान्यताको परीक्षण एवं पुनर्परीक्षण गर्न पनि पुनर्लेखनको प्रयोग गर्न सकिने दृष्टिकोण उत्तरआधुनिकतावादले अगाडि सारेको छ। परम्परित एवं स्थापित मूल्यमान्यताहरू तत्कालीन सत्ताको शक्तिका आधारमा निर्मित हुने हुनाले समसामयिक परिवेशमा तिनको पुनर्मूल्यांकनका लागि पनि पुनर्लेखन आवश्यक हुन्छ भन्ने दृष्टिकोण उत्तरआधुनिकतावादको छ।

वर्तमानमा पुनर्लेखन इन्टेन्सिभ र एक्स्टेनसिभ गरी दुई प्रकारको मानिन्छ। आद्योपान्त उही प्रकारले पूर्वस्रोत उल्लेख गरी स्पष्ट रूपमा सरल ढंगले गरिएको पुनर्लेखनलाई ‘इन्टेन्सिभ’ पुनर्लेखन भनिन्छ भने कुनै विचारको खण्डन गर्दै त्यसको मूल्यलाई प्रभाव पार्ने गरी आलोचनात्मक ढंगले गरिएको पुनर्लेखनलाई ‘एक्स्टेनसिभ’ भनी उल्लेख गरिएको पाइन्छ। यस दृष्टिले हेर्दा उत्तरआधुनिकतावादी पुनर्लेखनको प्रवृत्ति पनि आलोचनात्मक ढंगको हुने भएकाले यो इक्स्टेनसिवका निकट रहेको देखिन्छ।

वर्तमानमा प्रचलित पुनर्लेखनको अर्काे प्रकार ‘प्रतिलेखन’ पनि हो। नेपाली भाषामा ‘प्रतिलेखन’ शब्दलाई अंग्रेजी पदावली ‘काउन्टर न्यारेटिभ’को निकटतम अर्थका रूपमा लिन सकिन्छ। यसले कुनै पनि रचनाको मूललेखनमा अभिव्यक्त विचारको खण्डन गर्दै अर्काे कृतिको सिर्जना गर्नुलाई बुझाउँछ। यस दृष्टिले हेर्दा मूल लेखनको जरा खोतल्दै त्यसको प्रतिकारमा गरिने लेखन नै प्रतिलेखन हो। पहिले नै प्रकाशन भइसकेको अग्रज लेखकका कृतिमा अभिव्यक्त मूल भाव वा विचारको सूत्र पक्रेर त्यसको प्रतिकार गर्दै लेखिने लेखन नै प्रतिलेखन हो।

प्रतिलेखनमा अग्रज लेखकका कृतिमा अभिव्यक्त भाव वा विचारको खण्डन अपरिहार्य मानिए पनि प्रत्यक्ष रूपमा पूर्वजका कृति खण्डन नगरी त्यसमा अभिव्यक्त विचारका विपरीत नितान्त पार्थक्य एवं नवीन दृष्टिकोणका साथ नवीन एवं स्वतन्त्र कृतिको सिर्जनालाई पनि प्रतिलेखनका रूपमा लिन सकिन्छ। अझ स्पष्ट रूपमा भन्नुपर्दा एक वा एकभन्दा बढी अग्रज लेखकले अति आवश्यक देखेर एउटै भावमा पटक–पटक लेखिएका कृतिको विचारभन्दा भिन्न उनीहरूले आवश्यक नै नदेखेको, अनैतिक ठह¥याएको अनेक दृष्टिकोणको प्रस्तुतिका साथ नवीन कृतिको लेखन गर्नु पनि प्रतिलेखनको प्रवृत्ति र अभीष्ट हो।

प्रतिलेखन उत्तरआधुनिक प्रवृत्तिअन्तर्गत पर्ने विनिर्माणवादको एउटा प्रवृत्ति पनि हो। विनिर्माणवादको सैद्धान्तिक आधारमध्ये प्रमुख मानिएको एउटा आधार भिन्नता हो। भिन्नता अन्तर्गत दृष्टिभिन्नता, पठनभिन्नता, बोधभिन्नता, सही पठन, विपठन आदि विभिन्न सन्दर्भ पर्छन्। विनिर्माणवादीका अनुसार एउटै वस्तु पनि मान्छेको दृष्टि, हेराइ तथा बुझाइअनुसार पृथक् हुन सक्छन्। विनिर्माणवादले परम्परित संरचना, केन्द्र तथा दृष्टिकोणहरूलाई भत्काएर साहित्य तथा समालोचनाको क्षेत्रमा विकेन्द्रणको स्थितिको स्थापनामा जोड दिएको छ। अझ स्पष्ट रूपमा भन्नुपर्दा अग्रज लेखनले सीमान्तीकृत बनाएका कथा एवं पात्रहरूलाई महत्व दिएर पुनः लेखन गर्नु पनि प्रतिलेखनको उद्देश्य हो।

साहित्यमा देखापरेको पुनर्लेखनलाई कतिपयले प्रतिलेखन मानेको पाइए पनि यी दुवैमा सूक्ष्म अन्तर रहेको भेटिन्छ। पुनर्लेखनमा अग्रज लेखकका कृतिमा अभिव्यक्त भाव वा विचारको खण्डन अनिवार्य हुँदैन, तिनको समर्थनमा पनि पुनर्लेखन गर्न सकिन्छ। अझ स्पष्ट रूपमा भन्नुपर्दा अग्रज लेखकका कृतिको भाव वा विचारको समर्थन गर्न मात्र नभएर पुष्टि वा व्याख्या गर्न पनि पुनर्लेखन गर्न सकिन्छ। प्रतिलेखनमा चाहिँ एकातिर अग्रज लेखकका कृतिमा अभिव्यक्त भाव वा विचारको खण्डन अपरिहार्य हुन्छ। यस दृष्टिले हेर्दा अग्रज लेखकका कृतिको समाप्ति बिन्दुलाई समातेर उही भाव, दृष्टिकोण, विषयलाई प्रस्तुति दिइने सिक्वेल लेखनलाई पुनर्लेखन मान्न सकिन्छ तर यसरी लेखिएको सिक्वेललाई प्रतिलेखन मानिहाल्नचाहिँ सकिँदैन।  

वर्तमान समयमा पुनर्लेखनलाई उत्तरआधुनिक प्रवृत्तिअन्तर्गत पर्ने विनिर्माणवादको एउटा प्रवृत्ति मानिए पनि यसको स्वरूप उद्देश्यचाहिँ प्रतिलेखन नै हो। यसरी हेर्दा पश्चिममा पुनर्लेखनलाई प्रतिलेखनकै स्वरूपमा चर्चा गरिएको पाइन्छ भने पूर्वमा पुनर्लेखनलाई प्रतिलेखनका विपरीत अर्थमा प्रयोग गरिएको स्थिति रहेको छ। 

भारतीय नेपाली साहित्यमा केही समयअगिदेखि केही युवा स्रष्टा मिलेर चलाएको हस्तक्षेप लेखन अभियान पनि प्रतिलेखनकै स्वरूपमा देखापरेको छ। हस्तक्षेपी लेखनका लागि निर्मित अनेक सिद्धान्तमध्ये प्रतिलेखनलाई पनि एउटा बुँदाका रूपमा समेटिएको छ। यस लेखनको अभियानकर्ताहरूका दृष्टिमा ‘आजसम्म लेखिएका वा भोलिपर्सि लेखिने साहित्यको प्रतिध्रुवमा उभिने लेखन नै प्रतिलेखन हो।’ उनीहरूका अनुसार ‘हस्तक्षेप लेखन भनेको कालबोधविहीन कोरा भावुकता, इतिहासचेतविहीन शब्द उक्ति चातुर्य, समाज अस्पृश्य विम्बजालले आजसम्म लेखिएका वा भोलिपर्सि लेखिने साहित्यको प्रतिध्रुवमा उभिने प्रतिलेखन हो’। यसलाई प्रतिरोधी लेखन पनि भन्न सकिन्छ। 

हस्तक्षेप लेखनले इतिहास र वर्तमानको समयप्रवाहमा सामन्ती संकीर्णता, औपनिवेशिक दबदबा र सांस्कृतिक साम्राज्यवादको मातहतमा थोपिएको ‘हेजिमोनी’ चिन्तनको प्रतिचिन्तन गर्दछ। यस अर्थमा हस्तक्षेप लेखन भनेको प्रतिरोध लेखन पनि हो। यसले मानक लेखनका नाममा युगौंदेखि थोपरिँदै आएको परम्पराका विरुद्ध नवीन प्रकारको लेखनलाई मानकका पक्षमा आवाज उठाउने छ। नेपाली साहित्यमा महाभारत एवं रामायणलाई उपजीव्य बनाएर अनेक विधाका कृतिहरू सिर्जना गरिएका छन्। यसरी लेखिएका कतिपय कृतिहरू इन्टेन्सिभ पुनर्लेखन तथा एक्स्टेनसिभ पुनर्लेखन वा प्रतिलेखन दुवैथरीका ढाँचामा लेखिएको पाइन्छ।

नेपाली साहित्यमा अनुवाद, सिक्वेल लेखन, पुनर्लेखन, प्रतिलेखन, जवाफी लेखनजस्ता पुनर्लेखनका अनेक प्रकार देखिएका छन्। नेपालीमा अग्रज लेखकको विचार एवं दृष्टिकोणको पुनरावृत्ति मात्र नभएर तिनका कृतिमा अभिव्यक्त विचार एवं दृष्टिकोण खण्डन गरी अर्काे कृतिको सिर्जना गरिएका उदाहरण पनि प्रशस्त मात्रामा पाइन्छन्। नेपाली साहित्यमा गोपालप्रसाद रिमालको मसान नाटकलगायत अनेक औपन्यासिक कृतिका सिक्वेल लेखिएका छन् भने लेखनाथ पौड्यालको ‘बुद्धिविनोद’ शीर्षक कृतिमा अभिव्यक्त प्रश्नहरूको जबाफ अनेक कविहरूले आफ्नै ढङ्गले दिएका छन्। लेखनाथको ‘सत्यकलिसंवाद’ शीर्षक कृतिको प्रतिलेखन देवकोटाले ‘नयाँ सत्यकलिसंवाद’ मार्फत गरेको पाइन्छ।

यसैगरी, ‘भानुभक्त आचार्यले वधूशिक्षा लेखेर नारीजातिलाई स्थायी उपहार दिनुभयो, म वरशिक्षा लेखेर पुरुषजातिलाई समपर्ण गर्नेछु’ भन्ने उद्घोषका साथ भीमनिधि तिवारीले ‘वरशिक्षा’ शीर्षकमा प्रतिलेखन गरेका छन्।  अनुज लेखकले अग्रज लेखकको विचारप्रति समर्थन नजनाउनु उनीहरूप्रति गरिने विरोध एवं अनादर होइन। यसलाई आदर एवं सम्मानका रूपमा लिनुपर्छ र नवीन दृष्टिकोणको स्थापनाका लागि गरिएको विचारविमर्श रूपमा बुझ्नुपर्छ। 

नेपाली साहित्यका सन्दर्भमा हेर्दा खास सिद्धान्त र प्रक्रिया नभएका सिक्वेल लेखन, प्रतिलेखन प्रयोगधर्मिताका लागि अपनाइएका प्रविधि मात्र हुनपुगेका छन्। कतिपयले आवश्यकता बोध यस्ता प्रविधिको प्रयोग गरेका छन् भने कसैले लहडबाजीका लागि पनि प्रयोग गरेको देखिएको छ। यति हुँदाहुँदै पनि केही लेखकले अत्यन्त सचेततापूर्वक यस विधिको प्रयोग गरेका छन्। जसले जुन अभीष्टले प्रयोग गरेको पाइए पनि नेपालीमा यस्ता लेखनका माध्यमबाट उल्लेखनीय र सशक्त कतिपय कृति सिर्जना भएका उदाहरण पनि भेटिन्छन्।

नेपाली साहित्यका सन्दर्भमा हेर्दा खास सिद्धान्त र प्रक्रिया नभएका सिक्वेल लेखन, प्रतिलेखन प्रयोगधर्मिताका लागि अपनाइएका प्रविधि मात्र हुनपुगेका छन्। कतिपयले आवश्यकता बोध यस्ता प्रविधिको प्रयोग गरेका छन् भने कसैले लहडबाजीका लागि पनि प्रयोग गरेको देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.