अनन्त ब्रह्माण्ड, अनन्त सम्भावना

अनन्त ब्रह्माण्ड, अनन्त सम्भावना

उनी’ छन्। यसमा कुनै सन्देह छैन। माथि–तल, भित्र–बाहिर उनको सत्ता सर्वत्र व्याप्त छ। मानव बुद्धिको यथासम्भव उपयोग गर्ने वैज्ञानिक, दार्शनिक, वेदान्त ज्ञाताहरू, ऋषि–मुनिहरू कसैले पनि उनको अस्तित्व र सत्तालाई अस्वीकार गरेका छैनन्।

प्रसिद्ध पुस्तक ‘जातिहरूको उत्पत्ति’का लेखक, जीव तथा वनस्पतिविद् ‘चाल्र्स डार्बिन’ले सन् १८७९ मा भनेका छन्– ‘म जातिहरूको उत्पत्तिका विषयमा खोज तथा अनुसन्धानमा जुटिरहँदा मेरो जीवनको उत्तराद्र्धतिर इसाई धर्मभित्रका खराब पक्षसँग निकै संघर्ष गर्नु परे तापनि म भगवान्को अस्तित्वलाई इन्कार गर्ने अर्थमा कहिल्यै नास्तिक भएको छैन।’

यसैगरी, भौतिक विज्ञानका प्रसिद्ध वैज्ञानिक सर आइज्याक न्युटनले ब्रह्माण्डमा ईश्वरको उपस्थिति र भूमिकालाई गति र गुरुत्वाकर्षणका नियमद्वारा सिद्ध गरेका छन्। उनले ब्रह्माण्डमा ईश्वरको भूमिकालाई एउटा घडी निर्मातासँग तुलना गर्दै यसरी व्याख्या गरे। जसरी एक घडी निर्माताले समयलाई व्यवस्थित ढंगले सेकेन्ड, मिनेट, घण्टा र दिनमा विभाजन गर्छ, त्यस्तै ईश्वरले एक व्यवस्थित ब्रह्माण्डको सृष्टि गरे र आफूलाई मानवताका समस्याहरूमा निरन्तर संलग्न गरिरहे।

न्युटनले पनि ईश्वरका सम्बन्धमा अद्वैत सिद्धान्तलाई स्वीकारेका छन्। उनले भनेका छन्– ‘जगत्भर भगवान् एउटै छन्, सधैं छन्। अविनाशी छन् र सबै ठाउँमा व्याप्त छन्। उनी पर्याप्त रूपमा सर्वव्यापी छन् किनभने ‘सद्गुण’, पदार्थबिना अस्तित्वमा रहन सक्दैन। पेसामा नास्तिकता र व्यवहारमा मूर्तिपूजा ईश्वरभक्तिको विपरीत हो।’

अल्बर्ट आइन्स्टाइनलाई एक्काइसौं शताब्दीका महान् वैज्ञानिकका रूपमा विश्वले चिन्दछ। आफ्नो ‘अनिश्चितताको सिद्धान्त’मा उनले भनेका छन्– ‘भगवान्ले पासा खेल्दैनन्।’ यस्तै उनले आफूले विश्वास गर्ने ईश्वरलाई विश्वलाई बुझाउन ‘धर्मबिनाको विज्ञान अधुरो हुन्छ र विज्ञान बिनाको धर्म पनि अधुरो हुन्छ’ भनेका छन्। उनले ‘जहिले पनि ईश्वरको अस्तित्वलाई प्राकृतिक र अध्यात्मिक शक्तिहरूको एकत्व जसले आधुनिक वैज्ञानिक आवश्यकता पूरा गर्न सकोस्’को रूपमा बुझेको पाइन्छ। विश्वयुद्धलाई भोगेका उनलाई सबैभन्दा मनपर्ने धर्म बुद्ध धर्म थियो।

कविहरूले त ईश्वरको सौन्दर्यलाई लोकैले गाउने गरी अति सुन्दर छन्द, गद्य र पद्यहरूमा वर्णन गरेका छन् र गरिरहेका छन्। अनि योगी, तपस्वीहरूले त्यसलाई अन्तज्र्याेतिका रूपमा अनुभव गरिसकेका प्रमाण शास्त्रमा सर्वत्र वर्णन गरेको पाइन्छ। त्यसो त बेला–बेलामा हाम्रो मनले ईश्वरलाई पुकार्छ। ईश्वरको अस्तित्वका लागि योभन्दा प्रष्ट र बलियो प्रमाण अरू कसैबाट हामीलाई किन नै चाहियो र ? योभन्दा अर्को प्रमाण अरू के नै हुनसक्छ र ?

यो जगत्लाई नियमित र नियमबद्ध रूपमा सुचारु राख्नलाई यहाँ कोही न कोहीको महान् अस्तित्व त पक्कै हुनुपर्छ नै। यही यथार्थलाई जानकारी दिएको हो– हामीभित्रको त्यो पुकारले। हाम्रा यी अन्तरपुकारलाई न तर्कले, न विज्ञानले, न गणितले, न कला–भाषा–संस्कृतिले, न प्रकृतिका कुनै प्रकारका बलले, न बुद्धि, विवेक र कुनै संकल्प–विकल्पहरूले नै ढाँट्न सक्छन् अथवा होइन नै भन्न सक्छन्। यो त कोही अप्रकट एक्कासि प्रकट भएर हाम्रो अन्तरमनलाई बोलाइरहेको छ अर्थात् हाम्रो अन्तरमनसँग बोलिरहेको छ भन्ने सत्यको बोध हो।

हामी मन्दबुद्धि र शंकालु विवेकका पछाडि कसैले नभेटोस् भने झैं दौडमा छौं। हाम्रो बुद्धि र विवेकलाई यदि हामीले सत्यको निर्देशनमा निर्देशित गर्न सक्यौं भने गणितका विकट समस्याहरू हामीलाई सरल लाग्नेछन्। हाम्रा हृदय र मस्तिष्कमा बुद्धि, युक्ति र सुक्तिका उपायहरू फस्टाएर निकै हराभरा, ढकमक्क र लटरम्म हुनेछन्। यसमा हुने कुनै सन्देहलाई तर्क बनाउनुले बुद्धिलाई शोभा दिँदैन। बरु उनको भएको उज्यालो अस्तित्वलाई धमिलो पारिदिन्छ।

ल भयो रे (हाम्रो बुद्धि मन्द‌ै छ, विवेक बहुलाएकै छ, शंकाले हामीलाई अल्मलाइरहेकै छ। अनि यस्तो विषम अवस्थामा पनि हामीलाई भित्र कसैले प्रेमले बोलाइरहेको त छ नि ! हामीभित्र कसैले प्रेमको प्रकाश जगाइरहेको त छ नि ! हामीहरूको त्यो अवस्थामा हामीभित्र यो प्रेमको भाव जगाइदिने दोस्रो प्रभावलाई हामी कसैले पनि नकार्न सक्दै सक्दैनौं।

यसै प्रसंगमा उनको अस्तित्व अझ प्रस्ट होस् भनेर श्रद्धेय ‘खप्तड बाबा’ले विदेशी कवि ‘टेनिसन’को ‘दुइटा आवाजहरू’ शीर्षकको कविताको ‘यो दोस्रो आवाज कसले उत्पन्न ग¥यो ? अन्तःसाक्षीको यो ताप कहाँबाट आयो ? जसको कारणले इन्द्रियहरूको साक्षीमाथि पनि विश्वास बाँकी रहेन’लाई टिपोट गरेका छन्।

अवश्य पनि आफूभित्र यस्ता अनौठो र अपत्यारिला प्रेमिल घटना निरन्तर प्रकट भैरहँदा पनि यदि कुनै व्यक्तिमा ‘उनको अस्तित्वमाथि अझै शंका थुप्रिन्छ भने संसारमा जन्मेकाहरूमध्ये त्योभन्दा अभागी दोस्रो अर्को कोही हुन सक्दैन।

आधुनिक भौतिक विज्ञानको उमेर धेरै भएको छैन। यो बालखै छ। यसलाई खासगरी बीसौं शताब्दीको प्रारम्भतिर न्वारान गरिएको हो। यो विज्ञान जन्मिनुभन्दा युगौं अघि यस्ता अनगिन्ति भौतिक विज्ञानहरू अरू अनेकौं विज्ञानहरूका साथमा जन्मिएर यो जगत्लाई सन्तुलित ढंगमा अध्ययन गरिसकेका छन् र दुनियाँलाई अध्यापन गराइसकेका छन्। यससँग सम्बन्धित निकै संख्यामा शास्त्रहरू लेखेर जगत्लाई सुम्पिसकेका छन्। हाम्रा महान् वैदिक शास्त्रहरू यसका उदाहरणहरू हुन्।

अहिलेका ग्यालिलियो, न्युटन, आइन्स्टाइन, स्टेफन हकिङहरू भनेजस्तै त्यतिबेलाका ब्रह्माण्ड विज्ञ वैज्ञानिकहरू भनेका वैदिक शास्त्रहरूमा उल्लेखित तिनै देवी–देवता, ऋषि–महर्षिलगायत खोज–अनुसन्धानका लागि नित्य–निरन्तर साधनारत सबै तपस्वीहरू नै हुन्। यिनीहरूको साधना वा तपस्याद्वारा सारा जगत्को प्रायोगिक अध्ययन हाम्रा यी प्राचीन विज्ञानले जति गरे त्यति यो आधुनिक विज्ञानले आफ्नो आयुभर गर्ला वा नगर्ला त्यो भोलिका दिनहरूले नै बताउने छ।

उसो त आधुनिक भनिएको २०औं शताब्दीको प्रारम्भिक भौतिक विज्ञानबाट मानवजाति धेरै प्रभावित भएका छन्। विशेषगरी क्वान्टम मेकानिक्स, विशेष सापेक्षता र सामान्य सापेक्षतालाई आधुनिक भौतिक शास्त्रका उल्लेखनीय शाखाहरूका रूपमा लिइन्छ।

श्रीमद्भागवत महापुराणको द्वादशः स्कन्धको तेह्रौं अध्यायको पहिलो श्लोकबाट लिइएको श्री स्वस्थानी कथाको आरम्भमा कथा भन्ने र सुन्ने सबैले आआफ्ना हातमा फूल, अक्षता र चन्दन लिएर दुवै हात जोडेर कथावाचकद्वारा हामीले सुन्दै आएको मंगलाचरण नै हो–

यं ब्रह्मा वरुणेन्द्र रुद्र मरुतः स्तुन्वन्ति दिव्यैस्स्तवै
वेर्दैः साङ्ग पदक्रमोपनिषदैर्गायन्ति यं सामगाः।
ध्यानावस्थित तत्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः।।

हरेक वर्षको पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म एक महिनाभर सुनिने उक्त मंगलाचरण सुन्दासुन्दै सुन्नेहरू सबैलाई कण्ठस्थ हुने गथ्र्याे। त्यसैगरी, मलाई पनि यसको भावार्थबिना नै यो मंगलाचरण कण्ठस्थ भयो। उसो त स्वस्थानी कथा र व्रतको धार्मिक, ऐतिहासिक र पौराणिक महत्व त निकै सघन छ नै। त्योभन्दा पनि यसको अन्तर्विज्ञानको महत्व अझ महत्वपूर्ण छ। यो श्लोक कण्ठस्थ सुनाउँदै गर्दा यसको भावार्थको त्रिआयाम कति व्यापक रहेछ भन्ने त सोचेकै थिइनँ।

​​​​​​​सबैलाई लाग्ने गथ्र्याे– यो मंगलाचरण कण्ठस्थ पारेर गाउने मात्रै हो। त्योभन्दा बढी यसलाई बुझ्नुपर्छ भन्ने कुरा न सुन्नेले बुझेका थिए न त भन्नेले नै। यसको परमार्थ जब मैले बुझेँ तब यसभित्र मैले पढेको सम्पूर्ण खगोलशास्त्र भेट्टाएँ। तब मैले पढेर जानेको खगोलशास्त्र त यो अनन्त ब्रह्माण्डको तुलनामा एउटा सूक्ष्म परमाणु बराबर रहेछ भन्ने मलाई बोध भयो। यो त अनन्त ब्रह्माण्डका निर्माता उनै ‘उनी’को दिव्य परिभाषा पो रहेछ। खगोल शास्त्रमा उल्लेखित ब्रह्माण्डमा अस्तित्वमा रहेका समय, शून्य– स्थान, पदार्थ र शक्तिका कारणको स्मरणमा गाइने मंगलाचरण पो रहेछ। यहाँ सम्बोधित ‘उनी’ भनेका ‘ब्रह्म’ रहेछन्।

सुत गोस्वामीद्वारा भनिएको यस स्तुतिको अर्थ– ‘जसको नामलाई ब्रह्मा, वरुण, इन्द्र, रुद्र र मरुत अर्थात् वायुहरूले दिव्य स्तोत्रहरू र वेदहरूका अंग, पद, कर्म र उपनिषद्हरूसहित भजनबाट प्रशंसा गर्छन्। जसका लागि सामवेदका जपकर्ताहरूले सधैं गाउँछन्। सिद्ध योगीहरूले आफ्नो मनमा आफूलाई समाधिमा राखेर उहाँभित्र समाहित भएर देख्छन् र जसको सीमा अर्थात् आदि र अन्त्य कुनै पनि देवता वा दानवहरूले भेट्टाउन सक्दैनन्, त्यो परमात्मा भगवान्लाई म मेरो विनम्र प्रणाम अर्पण गर्दछु’ भन्ने पो रहेछ। यसपछि यो परमार्थको ढोकाबाट मैले यसभित्रको ‘उनको’ विराट स्वरूपलाई सकेजति चियाउने कोसिस गरें। त्यहाँको दृश्यार्थले मलाई पुनः अल्बर्ट आइन्स्टाइनको भनाइ– ‘हिजो जे सम्भव थिएन, त्यसलाई विज्ञानले आज सम्भव बनाउने छ। आज जे सम्भव छैन, त्यसलाई भोलि सम्भव बनाउने छ। तर, एउटा त्यस्तो क्षेत्र हुनेछ, जहाँ विज्ञानले केही पार लाउन सक्नेछैन’लाई सम्झाइदियो।

पक्कै पनि विज्ञानले पार लाउन नसक्ने त्यो विराट क्षेत्र ‘उनै’ को क्षेत्र हो। विज्ञानको सफर ‘उनै’का लागि भए पनि ‘उनी’ समक्ष पुग्न मानव सिर्जित विज्ञानको सामथ्र्य पुग्दैन। यसैलाई प्रष्ट्याउन गीतामा कृष्णले अर्जुनलाई अध्याय–३ को श्लोक १ मा भनेका छन्– ‘हे अर्जुन ! तिमी मलाई नै निखिल क्षेत्रमा क्षेत्रज्ञ जान, क्षेत्र र क्षेत्रज्ञको ज्ञान नै मेरो ज्ञानलाई जान।’ यस्तै गीताको अध्याय–१०, श्लोक–२० मा ‘हे आलस्यहीन अर्जुन ! सकल प्राणीको हृदयमा अन्तर्यामी रूपमा रहेको चैतन्य चेतना मैं हुँ। भूतवर्गको आदि, मध्य र अन्त्य पनि मै हुँ’ भनेर कृष्णले अर्जुनलाई आफ्नो पूर्ण स्वरूपको दिव्य ज्ञान दिएका छन्।

वास्तवमा अल्बर्ट आइन्स्टाइनले यो जगत्का जगत्निर्माता जगदिश्वरलाई विज्ञानका विभिन्न प्रयोगहरूमार्फत राम्ररी सिद्ध गरिदिएका छन्। माथि उल्लेखित मंगलाचरणमा जसको सीमा अर्थात् आदि र अन्त्य कुनै पनि देवता वा दानवहरूले भेट्टाउन सक्दैनन् भन्ने सन्दर्भलाई आइन्स्टाइनको ‘जहाँ विज्ञानले पनि केही पार लाउन सक्दैन’ भन्ने विचारले पूर्णतः समर्थन गरेको छ। अतः आइन्स्टाइनको उक्त भनाइले विज्ञानको सीमिततालाई मात्रै संकेत गर्दैन, संसारको अनिश्चिततालाई पनि संकेत गर्छ। जो हाम्रा वैदिक शास्त्रले जहीँतहीँ ‘प्रलय र उत्पत्ति’का विषयमा बताउँदै आएका छन्। मानवनिर्मित विज्ञानका उपकरणहरूले वस्तुको अन्तसम्म अध्ययन गर्न जरुर सक्छ परन्तु अन्त नै नभएको ‘ब्रह्म’को अनन्त स्वरूपलाई भने किमार्थ अध्ययन गर्न सक्ने छैन।

ब्रह्माण्डव्यापी ‘ब्रह्म’को विषयमा ब्रह्माण्ड– शास्त्र र ब्रह्म– शास्त्रद्वारा अझ गहिराइ र व्यापक ढंगबाट ‘उनलाई’ बुझ्न सकिन्छ। उनी अर्थात् ‘ब्रह्म’ भनेका यी हुन्:

– जसबाट यो जगत्को उत्पत्ति, स्थिति र प्रलय हुन्छ।
– जसबाट हाम्रा नांगो आँखाले देखिने प्राणीहरू उत्पन्न हुन्छन्, जन्मिएपछि जसको सहारामा बाँच्छन् र अन्तमा शरीर त्यागेर उसैमा प्रवेश गर्छन्।
– जसलाई वेदले सत्य ज्ञान र अनन्त आदि विशेषताहरूले व्याख्या गरेको छ।
– जसमा समस्त जगत् व्याप्त हुन्छ र यी समस्त प्रपञ्च लीन हुन्छन्, परन्तु उसको यस दृश्यसित कुनै पनि सम्बन्ध रहँदैन।
– जसको न आदि छ, न अन्त र न त मध्य नै छ।
– जो देश, काल अथवा वस्तुबाट परिच्छेद हुँदैन, सबै पदार्थ जसको सम्बन्धले सिद्ध हुन्छ, किन्तु आफू भने कुनै प्रमाणले सिद्ध हुँदैन। उनी आफैं स्वयंसिद्ध छन्।
– जसको कुनै नाम छैन, तैपनि जुन नामले बोलाए पनि उनी त्यही नामबाट बोल्द छन्। उनको कुनै धाम छैन, तापनि सबै धामहरूमा विराजमान उनै छन्।
– यो जगत् जसको आँखामा छ, जो जगत्‌का आँखाहरूमा छन्। आँखाबिना नै जो सबैलाई देख्छन्, कानबिना नै जो सबै शब्दहरूलाई सुन्छन्, र जसलाई कसैले समात्न सक्दैन, न कसैले छाड्न नै सक्छन्।
– जसको कुनै शरीर छैन, सबैको शरीर उसैको शरीर हो। सबै शरीरहरूको जुन आत्मा हो, सबै शरीरहरूलाई जो नियममा राख्छन् र सबै शरीरहरूमा जो अभिमान गर्छन्। फेरि पनि जसमा नियम्य–नियामकभाव छैन, व्याप्य– व्यापकभाव पनि जसमा छैन र जीव– ईश्वरभाव पनि जसमा छैन।
– ‘तँ’ र ‘ऊ’ भन्ने नाम जसमा छैन, देश, काल र वस्तुको जसमा काम छैन, ज्ञाता, ज्ञान र ज्ञेयदेखि जो टाढा छ, सब ज्योतिहरूको ज्योति जो हो– सत्व, रज र तमको जसमा लेश छैन, न अशेष छ, न विशेष छ, तैपनि जसको नाम निर्विशेष छ, कुनै पद, वाक्य जसले उनको नाम बताउन सक्दैन।
– जो छ र छैन पनि, तैपनि छ र छैन दुवैलाई उसैले सिद्ध गर्छ। त्यसलाई जान्न गाह्रो छ तर जब त्यसलाई जानिन्छ, अब हामीसँग जान्न र बुझ्न केही बाँकी नै रहँदैन।
– जो समान कुनै अर्को देवता धनी र निस्पृह छैनन्, जुन देवता हामी उहाँलाई मानौं या नमानौं, यसको स्पृहा गर्दैनन्, किन्तु जो हामीहरूले नमान्नाले 
नै सिद्ध हुन्छ।
– जो सबै धर्मवालालाई मान्य छन्, जसको कुनै धर्म छैन। तैपनि जसका सबै धर्म छन्, जसलाई नजान्नाले सबै धर्ममा भेद देखिन्छ, जसलाई जान्नाले धर्महरूको, देशको, कालको, मेरो, तेरो इत्यादिको सबै भेद मेटिन्छ।
– जसको कुनै वारपार छैन, जुन अनन्त ब्रह्माण्डहरूका एक आधार छन्, आफैं निराधार छन्, जसको माया अपरम्पार छ। जसरी समुद्रहरूमा अनेक तरंग उठेर लीन भइरहन्छन्, त्यसरी नै अनन्त ब्रह्माण्ड उत्पन्न भएर लीन हुन्छन्, जो सानोभन्दा सानो र ठूलोभन्दा ठूलोमा पनि पूर्ण छन्, तैपनि आफ्नो मायाले मोहित पुरुषहरूलाई अपूर्ण झैं देखाइदिन्छन्।
– जो अनेक भएर पनि आफ्नो स्वरूपबाट अच्युत हुनाले एकको एकै नै रहन्छन्।
यसरी हाम्रो वैदिक विज्ञानहरूमा बताइएका ती ‘उनी’ अर्थात् ‘ब्रह्म’मा आधुनिक भौतिक विज्ञानले खोजेका तमाम अवयवहरूलाई हामी जो कोहीले पनि कुनै तर्कबितर्क नगरी खुरुक्क लीन भएको पाउँछौं अर्थात् जीव तथा वनस्पतिविज्ञ– ‘चाल्र्स डार्बिन’, गुरुत्वाकर्षणका जानकार वैज्ञानिक ‘सर आइज्याक न्युटन’ र अल्बर्ट आइनस्टाइन लगायतका अन्य कयौं वैज्ञानिक, गणितिज्ञ, दार्शनिक आदिहरूले विश्वास गरे जस्तै उनलाई आआफ्नो पूर्ण विश्वासमा ल्याउन सक्छौं।
‘ब्रह्म–विज्ञान’ र ‘ब्रह्माण्ड–विज्ञान’ दुवैले के स्वीकारेका छन् भने हाम्रो शरीर उनै सूक्ष्म ब्रह्म र दृष्यमान ब्रह्माण्डको नमूना स्वरूप हो। अतः आइन्स्टाइनले भन्न खोजेको विज्ञानले पत्ता लगाउन नसक्ने कुनै एक ठाउँ हामीभित्रै पनि हुनसक्छ।
‘ब्रह्म र ब्रह्माण्ड’को अझ स्पष्ट प्रमाण बृहदारण्यकोपनिषद्को पाँचौं अध्यायको शान्ति मन्त्रले दिन्छ–

ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते।

यस शान्ति मन्त्रको भावार्थ– ‘यो वा त्यो सबै पूर्ण छ, पूर्णमा पूर्ण राख्दा पनि पूर्ण नै हुन्छ र पूर्णबाट पूर्ण झिक्दा पनि बाँकी रहने सदैव पूर्ण नै हुन्छ’ भन्ने हो।

अर्थात्, ती सच्चिदानन्दघन परब्रह्म पुरुषोत्तम परमात्मा सदा सर्वदा सिद्ध हुनुहुन्छ। त्यो पूर्ण परब्रह्मसँग यो दृश्य जगत् पनि पूर्ण छ किनभने यो सम्पूर्ण उनैको पूर्णताबाट उत्पत्ति भएको हो। यसरी पूर्ण उनीमा जे थपे पनि उनी उत्ति नै पूर्ण रहन्छन् र उनलाई उनैबाट पूरै घटाइदिँदा पनि उनी पूर्णै रहन्छन्।

ज्ञान–विज्ञानसिद्ध गीतामा कृष्णले गीताको अध्याय– ९-४ र १०-३९ मा पनि यही तथ्यलाई क्रमशः यसरी सम्बोधन गरेका छन्– ‘म निराकार परमात्माद्वारा यो सम्पूर्ण जगत् परिपूर्ण छ र सम्पूर्ण भूत मेरैअन्तर्गत संकल्पका आधारमा स्थित छन् तर वास्तवमा म तिनमा स्थित छैन (९९-४०)।

– चर र अचर, जड र चेतन, यस्ता भूत समुदाय वा प्राणी मबाहेक अथवा म नभएका कोही छैनन्। सम्पूर्ण जगत्मा मै व्याप्त छु (१०-३९)।

आधुनिक भौतिक विज्ञानको यात्रा ब्रह्माण्डको बाटोमार्फत् ब्रह्ममा पुग्नु भएकाले यस जगत्को रचनाक्रमको व्याख्याका लागि वास्तवमा यही विज्ञानले साथ दिँदै आएको छ। यो विज्ञानले आफ्नो पहुँचले भ्याएसम्म ब्रह्म–विज्ञानले जस्तै यो जगत् परमाणुहरूद्वारा बनेको छ, भनेको छ। जसरी एउटा परमाणु धनात्मक चार्ज भएको ‘प्रोटोन’ र ऋणात्मक चार्ज भएको ‘इलेक्ट्रोन’हरूको विद्युत् शक्तिको मिश्रण हो, त्यसैगरी यो सौर्यमण्डल हो। त्यसैगरी यी असंख्य तारापुञ्ज अर्थात् ग्यालेक्सीहरू हुन्, त्यसैगरी सम्पूर्ण तारापुञ्जहरूद्वारा सिर्जित अनन्त संख्यामा रहेका ब्रह्माण्डहरू हुन् र त्यसैगरी यी सबै अनन्तहरूबाट सिर्जित महाअनन्त ब्रह्म हुन्।

अतः इति ‘ब्रह्म–ब्रह्माण्ड’ वर्णनम् !!!
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.