सुन्तला कृषक बगैंचा व्यवस्थापनमा व्यस्त
तानसेन : पाल्पाका कृषकहरू आगामी वर्षमा सुन्तला उत्पादन बढाउन लागिपरेका छन्। उनीहरू सुन्तलाका बोट तथा बगैंचाको काँटछाँट, गोडमेल हेरचाह तथा मलखाद व्यवस्थापनमा कृषकहरू जुटेका छन्।
कृषकहरूले सुन्तला बगैंचाका हरेक बोटको समयमा हेरचाह गर्ने, गोडमेल गर्ने, मलखाद पानीको राम्रो व्यवस्था गर्ने, बोटबिरुवाहरूको कटानी गरेर बगैंचा चिटिक्क पारेका छन्। नियमित रूपमा सुन्तलाको रेखदेख गरेमा उत्पादन राम्रो दिने र सुन्तलाको बोट पनि लामो समय टिकाउ हुने र उत्पादन बढी दिने भएकाले पाल्पाका कृषक काममा खटिएका हुन्। सुन्तला कृषकहरू बगैंचा गोडमेल गर्ने, मलखाद मिलाएर सुन्तलाको बोटमा औंठी आकारबाट राख्ने, सुन्तलाको बोट वरिपरि गोलो घेरा बनाएर खन्ने, सबै किसिमका मलखादहरू मिलाएर राख्ने सुन्तलाको बोटभरि नीलोतुथोले भिजाउने तथा बोटहरूमा लेपन गर्ने काम भएको रैनादेवी छहरा गाउँपालिका– ४ का कृषक टीकाराम पोखरेलले बताए।
कम मिहिनेतमा पनि राम्रो आम्दानी गर्न सकिने भएपछि पछिल्लो समय पाल्पाका अधिकांश कृषक सुन्तला खेतीप्रति आकर्षित भएका छन्। पाल्पामा १ हजार १ सय ७५ हेक्टरमा सुन्तला खेती हुँदै आएको छ। सुन्तला कृषकले आफैँ सुन्तलाको बोट काँटछाँट गर्ने, बाक्लो हाँगाबिंगा मिलाउने, बोटमा सुकेका तथा रोगी हाँगा काँटछाँट गर्ने काममा जुटेका छन्। सुन्तला टिपिसकेपछि सुन्तला हाँगा काँटछाँट गर्ने विषादी लगाउने, गोबर तथा रासायनिक मलको मात्रा मिलाएर राख्ने र सिँचाइ गर्ने, बोडोभाइजर छर्ने, चुन र नीलोतुथो छर्किने काममा किसान व्यस्त रहेको रैनादेवी छहरा अमलावासका कृषक दुर्गा कँडेलले बताए। रैनादेवी छहरा गाउँपालिका– ४ अमलावासका ३२ घर सुन्तला कृषकले यस वर्ष १ करोड ५० लाख रुपैयाँको सुन्तला बिक्री गरेको कृषक कँडेलले बताए।
आगामी वर्ष सुन्तलाको उत्पादन बढाउने लक्ष्यका साथ कृषक बगैंचा व्यवस्थापनमा जुटिरहेको अवस्थामा पाल्पाका स्थानीय सरकारले पनि सुन्तला खेतीमा सहयोग बढाएका छन्। कृषकलाई आवश्यकताअनुसार सुन्तलाको बिरुवा अनुदानमा उपलब्ध गराउने, आवश्यक स्थानमा सिँचाइको व्यवस्थासँगै यान्त्रीकरण, कृषि औजारजस्ता उपकरणमा सहयोग प्रदान गर्नेजस्ता काममा नगरपालिकाले सहयोग गर्दै आएको छ। त्यसैगरी सुन्तलाका लागि आवश्यक पर्ने नीलोतुथो तथा कृषि चुन उपलब्ध गराउनेजस्ता काममा पालिकाले सहयोग गर्दै आएको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले बताए। सुन्तलाको व्यावसायिक उत्पादन वृद्धि गरी आत्मनिर्भर गराउनेतर्फ गाउँपालिकाले नयाँ किसिमका कार्यक्रम ल्याउने अध्यक्ष भट्टराईले सुनाए। रैनादेवी छहरा गाउँपालिकाबाट करिब १२ करोड रुपैयाँको सुन्तला बिक्री भएको अध्यक्ष भट्टराईले जनाए।
पाल्पाको रैनादेवी छहरा रिब्दीकोट, तानसेन नगरपालिका, बगनासकाली, पूर्वखोला गाउँपालिकाका व्यावसायिक सुन्तला खेती हँुदै आएको छ। सुन्तलाको उत्पादन बढाउने गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन भएको छ। पाल्पामा बर्सेनि सुन्तला उत्पादन वृद्धि हुँदै गएको छ। पाल्पामा यस वर्ष ४६ करोड रुपैयाँको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ।