शोकमा डुब्यो हतुवागढी

एकै परिवारका ३ को  मृत्यु

शोकमा डुब्यो हतुवागढी
सुन्नुहोस्

भोजपुर : बिहीबार उदयपुरको बेलका नगरपालिका ७, मैनामैनीमा भएको बोलेरो जिप दुर्घटनाले सिंगो हतुवागढीवासी शोकमा डुबेका छन्। दुर्घटना ज्यान गुमाएका ८ जनामध्ये ७ जना हतुवागढी गाउँपालिकाका रहेका छन्। मृत्यु हुनेमा हतुवागढी गाउँपालिका–२ दितेनीका चन्द्रप्रकाश राई, पर्वतमाया राई, डिसाङ राई, हतुवागढी गाउँपालिका–५ का रामकुमारी राई, किसन राई र सवारीचालक हतुवागढी गाउँपालिका–२ कै मानबहादुर बस्नेत, हतुवागढी गाउँपालिका–९ का पदमबहादुर थापा र इटहरी घर भएकी कमला अधिकारी छन्।

मृतकमध्ये दितेनीका ७० वर्षीया पर्वतमाया राई उनका छोरा २३ वर्षीय चन्द्रप्रकाश राई र गम्भीर घाइते छोरी शान्तिकलाका ६ महिने छोरा डिसाङ राई छन्। त्यस्तै दुर्घटनामा दितेनीनिवासी नै सवारीचालक ४२ वर्षीय मानबहादुर बस्नेतको पनि मृत्यु भएको थियो। सोहि गाडीमा गम्भीर घाइते भएकी पर्वतमायाकी छोरी ३२ वर्षीया शान्तिकला राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। 

परिवारको दुःखद खबरले दितेनीका ७४ वर्षीय रामप्रसाद राई विक्षिप्त छन्। केही दिनअघिदेखि आफ्नत भेटघाट र पारिवारिक कामले धरान रहेका श्रीमती पर्वतमाया, छोरा चन्द्रप्रकाश, नाति डिसाङको मृत्युले सिंगो परिवार शोकमा डुबेको छ। ‘धरानबाट बिहानै हिँड्यौं भनेर फोन गरेकी श्रीमती र छोरा र नातिको हविगतले छाँगाबाट खसेझैँ बनायो, छोरीको हालत के हुने हो, भगवान्ले यो के गरिदियो’, राईले सुनाए। 

एउटै परिवारको दुर्दशाले सिँगो दितेनी गाउँ शोकमा डुबेको छ। परिवारभित्र पुगेको बज्रपातले गाउँले आफन्तजनलाई पनि मर्माहत बनाएको स्थानीय बालकुमार राईले बताए। उनले भने, ‘यो घटनाले सिंगो गाउँलाई नै भावविह्वल बनाएको छ, एकदमै मर्माहत बनाएको छ।’ दुर्घटनामा हतुवागढी गाउँपालिका–५ का रामकुमारी राई र किसन राई, हतुवागढी गाउँपालिका–९ का पदमबहादुर थापाको पनि मृत्यु भएको थियो। बाबुको अकल्पनीय मृत्युको खबरले पदम बहादुर थापाका कान्छा छोरा छत्र थापालगायत सिंगो परिवार स्तब्ध बनेको छ। ‘नसोचेकै भयो, परिवारमा बज्रपात भयो, अब आमालाई कसरी सम्हाल्ने’, उनले भने।

बोलेरो दुर्घटनाले सिंगो गाउँपालिकालाई भावविह्वल बनाएको हतुवागढी गाउँपालिका–९ का वडाध्यक्ष सञ्जल राईले बताए। ‘घटना एकदम दर्दनाक छ, दिवंगत भएकाहरू एउटा गाउँका छन्, गाउँ नै शून्य भएको छ’, राईले सुनाए। मृतकको खबर सिँगो गाउँपालिकालाई नै अपुरणीय क्षति पुगेको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए। ‘अवैज्ञानिक ग्रामीण सडककै कारण आज गाउँपालिकाले आफ्ना नागरिक अकालमै गुमाउनुपर्‍यो’, अध्यक्ष राईले भने, ‘मृतक परिवारजन, आफ्नतजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं।’

ईटहरी हुँदै धरानबाट १६ जना यात्रु बोकेर भोजपुरको घोरेटारतर्फ हिँडेको बोलेरो जिप अनियन्त्रित भई उदयपुरको बेलका नगरपालिका ७, मैनामैनीस्थित २ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो। गाडीमा सवार १७ जनामध्ये ९ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। गम्भीर घाइते भएका हतुवागढी गाउँपालिका–२ का किसन राईको उपचारका अस्पताल पु¥याउने क्रममा मृत्यु भएको थियो। क्षमताभन्दा बढी यात्रु भएकाले बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनमान रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी सुदीपराज पाठकले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.