हिउँ पर्दा किसान खुसी छन्
शैलुङमा हिउँ परेको छ। यसले हामी किसानलाई धेरै खुसी दिएको छ। आलुु रोपेपछि पानी नपर्दा धेरै चिन्तामा थियौं। आलु उम्रने बेलामा हिमपातले जमिन चिसो बनाइदिएको छ। अब भने आलुका बोट राम्रा हुने छन्।
आलु रोपेको निक्कै समय बितिसकेको छ। अहिलेसम्म हिमपात पनि भएको थिएन। अनि पानी पनि नपरेपछि शैलुङको झोर, मनगाउँ, कालापानी, खोलाखर्क, भित्ते, ढाँडे, ढुंगे, चैचाप र मेलुङ गाउँपालिकाको घ्याङ र डाँडाखर्कका आलु खेती गर्दै आएका किसान निकै चिन्तित भएका थियौं। माघमा थोरै हिमपात भए पनि आलु रोपेपछि हिमपात र पानी नआएकाले आलु उत्पादन घट्छ कि भन्ने डर थियो। तर, अहिले राम्रैसँग हिमपात भएकाले अब उत्पादन बढ्नेमा आशावादी छौं।
दोलखाको शैलुङ गाउँपालिका–८ को झोर, मनगाउँ, भित्ते, ढाँडे, कालापानी, वडा नम्बर ६ को ढुंगे, चैचाप र मेलुङ गाउँपालिका–३ को घ्याङ र वडा नम्बर ५ को डाँडाखर्कका किसानले वर्षमा ४० करोडभन्दा बढीको आलु बिक्री गर्दै आएका छन्। योपटक अझ बढी बिक्री गर्न पाइने भयो भनेर पनि हिउँ पर्दा किसान बढी खुसी भएका छन्।
(श्रेष्ठ, शैलुङ गाउँपालिका–८ का किसान हुन्।)