मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु
खाँदबारी : सङ्खुवासभाको खाँदबारीमा मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ। मंगलबारबाट सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल भएका छन्।
पहिलो दिनको खेलमा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र नेपाल पुलिस विजयी भएका छन्। कोशी प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगितामा लिगकम नकआउटका नियममा खेल हुने छ। पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा हराएको हो।
आर्मीले २५–११, २५–१० र २५–११ को सेट अंकमा जीत हासिल गरेको छ। गण्डकी र लुम्बिनी बीचको दोस्रो खेलमा ३–१ को सेटमा गण्डकी विजयी भएको हो। गण्डकीले २५–१७, २५–२२, ३१–३३ र २५–१८ को सेट अंकमा लुम्बिनीलाई हराएको छ। त्यसैगरी तेस्रो खेलमा नेपाल पुलिस क्लबले ३–१ को सेटमा कोशी प्रदेशलाई हराएको हो। पुलिसले कोशीलाई २५–२२, २५–२७, २५–१५ र २५–२१ को सेट अंकमा पराजित गर्यो।
मंगलबार हुन नसकेको एपिएफ–सुदुरपश्चिम बीचको खेल लिगकम नकआउट चरणको अन्तिम दिन हुने आयोजकले जनाएको छ। बुधबार पहिलो खेल एपिएफ र लुम्बिनी प्रदेशबीच खेल हुने छ। दोस्रो खेल त्रिभुवन आर्मी–कोशी प्रदेश, तेस्रो खेल नेपाल पुलिस–कर्णाली प्रदेश र चौथो खेल गण्डकी प्रदेश–सुदुरपश्चिम प्रदेशबीच खेल हुने आयोजकले जनाएको छ। बिहीबार कोशी–कर्णाली, लुम्बिनी–सुदुरपश्चिम, नेपाल पुलिस–त्रिभुवन आर्मी र एपिएफ–गण्डकीबीच खेल हुनेछ।
प्रथम पुरस्कार नगद ३ लाख, द्वितीय पुरस्कार १ लाख ५० हजार, तृतीय पुरस्कार ५० हजार र चौथो पुरस्कार ३० हजार रुपैयाँका साथमा ट्रफी, मेडल, प्रमाणपत्र रहेको छ। त्यसैगरी सर्वोत्कृष्ट पुरस्कार नगद २५ हजार र उत्कृष्ट ५ विधाले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्। जिल्ला भलिबल संघ सङ्खुवासभाले प्रतियोगिताको संयोजन गरेको हो। सदरमुकाम खाँदबारीमा खाँदबारी रंगशालामा सञ्चालन भइरहेका प्रतियोगिता शनिबार सम्पन्न हुने छ।