पर्यटक लोभ्याउँदै मुन्दुम पदमार्ग

पर्यटक लोभ्याउँदै मुन्दुम पदमार्ग
सुन्नुहोस्

भोजपुर : प्राकृतिक सौन्दर्य र किरात मुन्दुमी संस्कृतिले भरिपूर्ण मुन्दुम पदमार्ग पूर्वकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। विशुद्ध लेकाली हावापानीसँगै हिमाललाई नजिकबाट नियाल्न सकिने यो पदमार्गमा पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकहरूको आवागमनमा बृद्धि भएको छ। 

आनन्ददायी पैदलयात्रा गर्न सकिने यो पदमार्ग एक अलौकिक सुन्दर प्राकृतिक सिर्जनाको रुपमा स्थापित हुन थालेको हो। विशेषगरी यहाँको पर्यटनलाई समेट्ने यो पदमार्गले घुम्न आउने पर्यटकलाई प्राकृतिक मनोरमतासँगै किरात संस्कार र संस्कृतिको भरपुर आनन्द दिलाएको छ। पछिल्ला केही वर्षहरूमा बाह्य तथा आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको यो पदमार्गले जोकोही उत्साहित भएर जाने गरेका छन्। 

पदमार्गमा भदौ, असोज, कात्तिक र मंसिर महिनामा सबैभन्दा बढी पर्यटकको ओइरो लाग्छ । पर्यटकका लागि स्थानीय मिठो खानासहितका होमस्टे, गोठबासहरूको सुविधा पनि रहेको छ। पदमार्ग घुम्न आउने पर्यटकहरूलाई आफूले सक्ने मिठो गाँस, बासको सेवा प्रदान गरिरहेको सावा घरबास (होमस्टे) हाँसपोखरीका सञ्चालक याङमियाङ राईले बताए। उनका अनुसार गोठबासको  अर्गानिक खाना र गोठबासले पर्यटकहरू अझ उत्साहित र प्रफुल्लित बन्ने गरेको उनले सुनाए। 

मुन्दुम पदमार्गमा रहेको ‘साल्पापोखरी’ लाई मुन्दुमी किरात प्रकृतिपूजकहरूले गोप्य धार्मिक, सांस्कृतिक र प्राकृतिक थलोको रुपमा लिन्छन् । किरात राईहरूको ‘सुप्तुलुङ’ अर्थात तिनचुलाको स्वरुप जस्तै गरी सुरु हुने यो पदमार्ग खोटाङ जिल्ला साकेला गाउँपालिकाको तावाभञ्ज्याङ, भोजपुर जिल्ला टेम्केमैयुङ गाउँपालिका लेखर्कको ऐतिहासिक पान्धारेबजार, साहुबास, टेम्केडाँडा, चखेवाभञ्ज्याङ, मलुवापोखरी दलसिंगे, जलजले, तिम्माको मैयुङ, ओखलीढुंगा, चप्लेटीढुंगा हुँदै भोजपुर नगरपालिकाको बाघखोरसम्म करिब चार दिनको सहज पैदलयात्रा रहने गरेको छ। समुद्री सतहदेखि करिव ४१ सय ५३ मिटरको उचाइसम्म फैलिएको किरात मुन्दुमी मौलिकता बोक्ने यस पदमार्गले किरात संस्कार र संस्कृति जोडेको संस्कृतविद् कमलजंग राईले बताए। ‘किरात मुन्दुमी परिवेशको महत्व अथ्र्याउने यो पदमार्ग आफैंमा एक जीवन्त उदाहरण हो’, उनले भने, ‘वास्तविक किरात मुन्दुमको दर्शन भेटिने यो पदमार्ग एउटा महत्वपूर्ण र जिज्ञासात्मक पर्यटकीय गन्तव्य हो।’ 

पदमार्गलाई जोड्दै गाउँपालिकाको सिंगो पर्यटन र कृषि क्षेत्रको विकास र विस्तारमा गाउँपालिकाले प्राथमिकताका साथ काम अघि बढाएको छ। पदमार्गमा आउने पर्यटकलाई लक्षित गर्दै गाउँपालिकाको चखेवा भन्ज्याङमा पर्यटन सूचना केन्द्र निर्माण गरिएको छ। पदमार्ग यात्राका लागि आउने पर्यटकले सूचना केन्द्रबाट पदमार्गसम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सक्ने टेम्केमैयुङ गाउँपालिकाकी उपप्रमुख रमादेवी राईले बताइन्। 

मनमोहक हिमश्रृंखला, पहाडी थुम्का, समथर फाँटका मनोरम दृष्यहरूको आनन्द लिँदै प्रत्येक दिन बिहानीको झुल्के घामसँगै घाम नअस्ताउञ्जेल यात्रा गर्नु मुन्दुम पदमार्गको प्रमुख विशेषता हो। उत्तरी मोहोडा अर्थात नर्थ फेस भएर यो पदमार्गमा पदमार्गीहरूको मन र शरीरलाई आँखै अगाडि देखिने हरिया फाँटहरू र हिमश्रृंखलाको आकर्षणले अघि बढ्न अझ प्रेरित गर्छ। 

सांस्कृतिक र मौलिकतासँग प्राकृतिक सौन्दर्यलाई जोड्ने यो पदमार्गले छोटो समयमै अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो छवि बनाएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए। किरात मुन्दुमी संस्कृतिलाई जगेर्ना गर्दै प्राकृतिक सम्पदाको रुपमा प्रबर्द्धन गर्न सके पदमार्गलाई देशकै प्रमुख पर्यटकीय गन्तव्य र यसको महत्वलाई पुस्तान्तरण गर्न सकिने प्रचुर सम्भावना रहेको उनले बताए। 

विशेषगरी किरात मुन्दुमको प्रमुख विशेषता बोक्ने यस पदमार्गको प्राकृतिक दृष्यावलोकन र पदयात्राका लागि पर्यटकहरू आउने गरेका छन्। यो वर्ष टेम्केमैयुङ गाउँपालिकाको तथ्यांकअनुसार पदमार्गमा लाखौंको संख्यामा पर्यटकहरू भित्रिएका छन्। पदमार्गको व्यवस्थापन र पदयात्रामा आइपर्ने समस्या पहिचानका लागि गाउँपालिकाले स्थलगत अनुगमन गरिरहेको जनाएको छ। ‘हाम्रो गाउँपालिकाले पर्यटकको सहज र सुरक्षित यात्राका लागि ध्यान दिएको छ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिकेन पौडेलले सुनाए। 

प्राकृतिक मनोरमताको भरपुर आनन्द लिँदै हिमालको दृश्यलाई नजिकबाट नियाल्न चाहने पर्यटकका लागि मुन्दुम पदमार्ग एक प्रमुख गन्तव्य हो। सरदर ५१ किलोमिटर दुरीको यो पदमार्गले भोजपुरसँगै खोटाङ, सोलुखुम्बु र संखुवासभा जिल्लाहरू जोडेको छ। नेपाल सरकारको एक सय नयाँ पर्यटकीय गन्तव्यमा सुचिकृत मुन्दुम पदमार्ग विशेषगरी भोजपुरको टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिकाको कुलुपुङ सोलुपास, साल्पापोखरी, सिलिछो क्षेत्रका साथै खोटाङको साकेला गाउँपालिका, केपिलासगढी गाउँपालिका क्षेत्रसम्म फैलिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.