धान बजारीकरण गर्न ‘खाद्य कम्पनी डिपो’

धान बजारीकरण गर्न ‘खाद्य कम्पनी डिपो’
बर्दियाको बारबर्दियाको पदनाहामा धान थन्क्याउँदै किसान। तस्बिर : यादव आचार्य
सुन्नुहोस्

गुलरिया : बर्दियाको बारबर्दिया नगरपालिकाले किसानले उत्पादन गरेका धान बजारीकरण गर्न थालेको छ। नगरले बजारीकरण गर्न खाद्य कम्पनीको डिपो सञ्चालनमा ल्याएको छ। खाद्य कम्पनीसँग सहकार्य गर्दै नगरले बिक्री डिपोमार्फत किसानको धान बजारीकरण सुरु गरेको हो। 

मुक्तकमैया, भूमिहीन, दलित समुदायको बाक्लो उपस्थिति रहेको बारबर्दिया नगरपालिका कृषिमा आधारित नगर हो। किसानको पेसालाई उन्नति गर्न नसके किसानसँगै नगरको समेत समृद्धि नआउने ठहर गर्दै बजारीकरणलाई प्राथमिकतामा राखेको नगरपालिकाका नगरप्रमुख छविलाल थारूले बताए। धान उत्पादनको दृष्टिले राम्रो मानिने बारबर्दियाका किसानहरू उचित मूल्य नपाएर हैरान थिए। उनले भने, ‘आपूर्ति मन्त्रालय, खाद्य कम्पनीलगायत सरोकारवाला निकायहरूसँगको समन्वय र सहकार्यमा नगरले सरकारी डिपो सञ्चालन गरेको छ। 

नगरपालिकाले किसानहरूको उत्पादन वृद्धि र बजारीकरणलाई प्राथमिकतामा राखेर डिपो सञ्चालन गरेको जनाएको छ। नगरपालिका क्षेत्रमा डिपो सञ्चालनमा आएसँगै किसानलाई धान बिक्रीमा सहजता आएको महसुस गरिएको छ। नगरपालिका धान उत्पादनको दृष्टिले अब्बल मानिन्छ। डिपो सञ्चालनमा आएपछि किसानले धानको उचित मूल्य पाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए। डिपोले धानको समर्थन मूल्य विगतका वर्षहरूमा भन्दा बढी निर्धारण गरेपछि स्थानीय व्यापारी पनि प्रतिस्पर्धामा आएका छन्।

उनले भने, ‘डिपो र बजारमा धानको मूल्यमा खासै अन्तर हुन पाएन।’ नगरको सदरमुकाम जयनगर बजारमै डिपो सञ्चालन गरिएको छ। नगरपालिका बबई सिँचाइ आयोजनाको पश्चिमी नहरसँग जोडिएको छ। सिँचाइको सुविधाका कारण पनि यहाँको उत्पादन लोभलाग्दो छ। नगरपालिकाले धान बजारीकरणका लागि डिपो सञ्चालनमा ल्याएपछि उत्पादनले मूल्य पाउने आशा गरेका छौं स्थानीय किसान भिक्खुराम थारूले बताए। बिउ, मलको व्यवस्थापन गर्न सके नगरपालिकाका किसानको समृद्धि खासै कठिन नभएको उनको बुझाइ छ। 

बर्दियाको गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बारबर्दिया, बाँसगढी नगरपालिका र गेरुवा तथा बढैयाताल गाउँपालिकामा धान खेती गरिन्छ। जसमध्ये राजापुर धानको पकेट क्षेत्र मानिन्छ। त्यहाँ हिउँदे र बर्खे दुवै धान खेती हुने गरेको छ। जिल्लाका आठ पालिकामध्ये अधिकांश पालिकाहरूमा धान उत्पादन भए पनि कतिपय पालिकामा किसानले धानको उचित मूल्य नपाएको गुनासो गर्छन्।

राजापुर र बारबर्दियामा खाद्य कम्पनीको डिपो भए पनि अन्य पालिकामा नहुँदा किसानले मेहनत गरी उत्पादन गरे पनि मूल्य पाउनबाट वञ्चित हुने गरेको गुलरिया नगरपालिका–८ निवासी किसान राधेलाल लोधले बताए। कतैकतै सहकारीहरूले धान खरिद गर्ने गरेको उनको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.