एमालेले नै विकास र समृद्धि ल्याउँछ : ओली

स्याङ्जा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सफल नभएको बताएका छन्। स्याङ्जा आँधीखोला गाउँपालिकाको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै उनले सीमालगायतका मुख्य विषय नै नउठाएकाले त्यो भ्रमणलाई सफल मान्न नसकिने दाबी गरे। ‘वर्तमान सरकारको कुनै गन्तव्य नै छैन। सरकार कामभन्दा पनि हल्लाको पछाडि लागेको छ,’ उनले भने।
वर्तमान सरकारको काम गर्ने ल्याकत नभएको जनाउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो कार्यकालको तीन वर्षमा विकासले ठूलो फड्को मारेको दाबी गरे। ‘विभिन्न १० पार्टी मिलेर बनेको सरकार कामभन्दा पनि हल्लाको पछाडि लागेको छ’, उनले भने, ‘सरकारले जनताको ढाड सेकाउने काम गरेको छ। निराश नहुनुस् अब, एमालेले नै विकास र समृद्धि ल्याउनेछ।’
एमाले सधैं प्रतिपक्षमा बस्ने पार्टी नभएको बताउँदै उनले सत्ताको लागि पनि मरिहत्ते नगर्ने बताए। २०४२ सालमा आफू स्याङ्जा जेल बस्दाको स्मरण गर्दै ओलीले स्याङ्जाले विकासमा फड्को मारेकोमा खुसी व्यक्त गरे। शुक्रबारै अध्यक्ष ओलीले कालीगण्डकी गाउँपालिका भवनको समेत उद्घाटन गरेका छन्। पालिकाले ७ करोड ७० लाखमा २२ कोठाको अपांगमैत्री भवन निर्माण गरेको हो।
प्रतिक्रिया दिनुहोस !
