नेपालसँग सहयोगका क्षेत्र बढाउन कतार प्रतिबद्ध

नेपालसँग सहयोगका क्षेत्र बढाउन कतार प्रतिबद्ध

काठमाडौं  : अति विशिष्ट पाहुना बनेर आएका कतारका राजा तमिम बिन हमाद अल थानीसँग राष्ट्रपति रामचन्द्र पौडेलले इजरायल–हमास युद्धका क्रममा अपहरणमा परेका विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्। 

इजरायलको गाजा क्षेत्रमा गत अक्टोबर ७ मा भएको आक्रमणका क्रममा जोशीलाई हमासले नियन्त्रणमा लिएको थियो। उनको स्थिति अज्ञात छ। कतारको मध्यस्थतामा उनको खोजी र रिहाइ हुन सक्ने ठानिएको छ। त्यसका लागि राष्ट्रपतिले राजासँग आग्रह गरेका हुन्।   

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरबीच मंगलबार भएको औपचारिक भेटवार्तामा यो र द्विपक्षीय सम्बन्धमा विविध विषयमा छलफल भएको हो। राष्ट्रपति पौडेलको निमन्त्रणामा दुईदिने भ्रमणमा आएका कतारका अमिर थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भेटवार्ताका लागि सिधै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए। 

त्यसअघि अमिर थानीलाई राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय विमानस्थल नै पुगेर स्वागत गरेका थिए। थानीको सम्मानमा सरकारले मंगलबार सार्वजनिक बिदा नै दिएको थियो।

 null

थानीसँगको भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने विषयमा छलफल गरेका थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमालमा परेको भन्दै त्यसबाट हिमाल कसरी जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई प्रस्ताव गरेका थिए। 

राष्ट्रपति कार्यालयका अनुसार भेटमा राष्ट्रपति पौडेलले विश्वको साझा समस्या नै जलवायु परिवर्तन भएको भन्दै त्यसबाट पृथ्वीलाई कसरी सुरक्षित राख्ने र हिमाललाई कसरी जोगाउने ? भन्ने विषय महत्त्वपूर्ण भएको धारणा राखेका थिए। यसका लागि कतार जस्ता विकसित मुलुकहरू बढी गम्भीर भएर नेपालजस्ता मुलुकलाई सहयोग गर्न प्रस्ताव गरेका थिए। राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले नेपाललाई पनि चिन्तित बनाएको 

बताउँदै युद्धको अन्त्य र शान्तिको पुनस्र्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाको लागि खेलेको भूमिकाको प्रशंसा गरेका थिए। 
त्यस क्रममा कतारका अमिर थानीले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौताहरूको सबै मिलेर पालना गरे राम्रो परिणाम आउन सक्ने बताएका थिए। थानीले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका क्षेत्रहरू फराकिलो बनाउँदै लैजाने आफ्नो उद्देश्य रहेको बताएका थिए। 

भेटमा थानीले कतारको विकासमा नेपालीहरूको ठूलो योगदान रहेको भन्दै नेपाली श्रमिकहरूको उच्च प्रशंसा गरेका थिए। उनले दुई देशबीच बुधबार हुने समझदारी तथा सम्झौता नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रहरूमा लगानीको नयाँ सम्भावनाहरू बढाउन सकिने पनि बताएका थिए। राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध सुमधर मित्रता, आपसी सम्मान, विश्वास र सद्भावमा आधारित रहेको स्पष्ट गरेका थिए।

दुई मुलुकबीच नियमित रूपमा उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान हुने परम्परा रहिआएको र यसबाट द्विपक्षीय सम्बन्धको विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक भ्रमणले नेपाल र कतारको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको बताएका थिए।

राष्ट्रपति पौडेलले दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको राम्रो सम्भावना रहेकोकोले त्यसमा सहकार्य गर्दै अघि बढ्न सकिने प्रस्ताव राखेका थिए। पौडेलले सँगसँगै कतार नेपाली कामदारहरूको लागि वैदेशिक रोजगारीको एक प्रमुख एवं आकर्षक गन्तव्य मुलुक रहँदै आएकोले र आधुनिक कतारको विकासमा नेपाली कामदारहरूले पनि उल्लेखनीय योगदान गरेको समेत स्मरण गराएका थिए। 

null२१ तोपको सलामी 

कतारका अमिर थानी कतार एयरलायन्समार्फत मध्याह्न ३ः४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। दुईदिने राजकीय भ्रमणमा नेपाल आएका कतारका अमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए। सो अवसरमा नेपाली सेनाको टोलीले विशेष सम्मान (गार्ड अफ अनर) दिएको थियो।

अल थानीले सन् २०१३ देखि कतारको शासनसत्ता सम्हाल्दै आएका छन्। उनी यसअघिका अमिर हमाद बिन खलिफा अल थानीका चौंथो छोरा हुन्। आइतबार एसियाली देशहरू फिलिपिन्स र बंगलादेशको भ्रमण गर्दै थानी मंगलबार बंगलादेशबाट सिधै नेपाल आइपुगेका हुन्।

अमिरलाई स्वागत गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, परराष्ट्र मन्त्रालयसहितका उच्च पदस्थ सरकारी अधिकारीहरू विमानस्थलम पुगेका थिए। 

थानी विमानस्थलबाट सिधै राष्ट्रपति निवास शीतल निवास पुगेका थिए। त्यहाँ राष्ट्रपति र अल थानीबीच साढे ५ बजेदेखि शीतल निवासमा आधा घण्टाको द्विपक्षीय भेटवार्ता भएको थियो। त्यसपछि साँझ ७ बजे होटेल सोल्टीमा राष्ट्रपति पौडेलले थानीको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए। प्रधानमन्त्री प्रचण्ड र अल थानीबीच भने बुधबार बिहान साढे १० बजे होटेल सोल्टीमा औपचारिक भेटवार्ता हुने कार्यक्रम छ। उक्त औपचारिक वार्ताका लागि ४५ मिनेट समय छुट्ट्याइएको छ। उक्त वार्तापछि विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।

परराष्ट्र मन्त्रालयका अनुसार अल थानीको भ्रमणका क्रममा नेपालले कतारसँग नयाँ श्रम सम्झौता गर्ने तयारी गरेको छ। १९ वर्षअघि २००५ मा नेपाल र कतारबीच श्रम सम्झौता भएको थियो। 

त्यसयताको परिवेश धेरै फेरिइसकेकाले श्रम मन्त्रालयले नयाँ श्रम सम्झौता गर्नका लागि तयारी गरेको हो। कतार नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक पनि हो। श्रम मन्त्रालयको तथ्यांकअनुसार कतारमा हाल ३ लाख ६७ हजार ३ सय ८९ नेपाली श्रमिक छन्। थानीको भ्रमणमा नेपाल सरकारले कान्ति बाल अस्पतालको स्तरोन्नतिका लागि झन्डै ९ अर्बबराबरको सहयोगको सम्झौताका लागि प्रस्ताव गर्ने भएको छ।

मन्त्रालयका उच्च अधिकारीका अनुसार थानीको भ्रमणका क्रममा विभिन्न ११ वटा सम्झौता गर्ने तयारी भएको छ। बुधबार नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले बैठकको नेतृत्व गर्नेछन् भने कतारको तर्फबाट अमिर थानीले नेतृत्व गर्नेछन्।

उक्त कार्यक्रम सम्पन्न भएपछि मध्याह्न १२ बजे प्रधानमन्त्री प्रचण्डले उनको सम्मानमा होटेल द्वारिकाजमा दिवा भोज आयोजना गर्ने भएका छन्। दिवा भोजमा सहभागी भएपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ। निजी विमानमा आएका उनी दिउँसो २ बजे कतारको दोहाका लागि प्रस्थान गर्ने कार्यक्रम छ।

भ्रमणमा मन्त्रीहरू र उच्च पदस्थ 

परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार कतारी राजाको भ्रमण टोलीमा क्याबिनेट मन्त्रीदेखि उच्चपदस्थ व्यक्तिहरू छन्। मन्त्रालय स्रोतका अनुसार थानी डेढ सयभन्दा बढीको भ्रमण दलसहित नेपाल आएका हुन्। त्यसबाहेक औपचारिक वार्तामा बस्ने ११ जनाको विशेष प्रतिनिधि मण्डल छुट्टै रहेको छ। 

राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तामा सोही विशेष प्रतिनिधि मण्डल साथमा रहनेछ। थानीको भ्रमण टोलीमा अमिरी दिवानका प्रमुख शेख साउद बिन अब्दुल रहमान अल्थानी, यातायात मन्त्री जसिम बिन सिफ अल सुलैती, उद्योग तथा वाणिज्य मन्त्री शेख मोहम्मद बिन हमाद बिन क्वासिम अल्थानी, सहायक विदेशमन्त्री सुल्तान बिन साद अल मुराखी र अमिरी दिवानका निर्देशक साद बिन नासिर अल कबी रहेका छन्।

त्यस्तै, एसिया तथा अफ्रिका लगानी मामिला हेर्ने शेख फैसल बिन थानी अल्थानी, परराष्ट्र मन्त्रालयका एसिया मामिला हेर्ने निर्देशक युसुफ सुल्तान लारम, सुल्तान बिन घानिम अलोदिफी, अमिरी विभागका सहायक निर्देशक तलाल बिन अलाम्स अल सुलैती र राजाका प्रमुख स्वकीय सचिव मन्सुर फेलाह अल हाजिरी भ्रमण टोलीमा सहभागी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.