अब चाहिँ घर बन्ला कि ?
गंगामाया तामाङ । २०७७ साल असार २५ गते। यस दिनलाई जीवनमै कहिल्यै भुल्न सक्दिनँ। अघिल्लो दिन छिमेकीको रोपाइँ सकेर बसेका थियौं। राति ठूलै आवाजले आकाश चर्कियो। एकैछिनमा झन्डै दुई घण्टा मुसलधारे पानी पर्यो। भोटेकोशी नदी बढ्न थालेपछि हामी अँध्यारैमा घरबाट बाहिर निस्कियौं।
हामी घरबाट माथि डाँडामा उक्लियौं। निस्पष्ट अँध्यारो थियो। तल घर भएको ठाउँतिरबाट ठूल्ठूला आवाज आइरहेको थियो। हामी रूखको फेदमा बसेर तल के भयो होला भन्दै बस्यौं।
बिहान ३ बजेतिर रिमरिम उज्यालो हुन थाल्यो। पानी पनि रह्यो। हामी तल ओर्लिएर हेर्दा, सुकुम्बासी भइसकेका रहेछौं। न घर छ, न भर्खरै रोपेको धानखेत नै। ४ रोपनी खेत र घर त भोटेकोशी नदीमा मिसिइसकेछ। त्यो देखेर मेरो होश नै रहेन। बिहान ७ बजेतिर हेलिकप्टर आयो। अलिअलि चाउचाउ बिस्कुट बाँडेर गयो। १० बजेतिर नेताहरू पनि आए। त्यतिखेरका सभामुख अग्निप्रसाद सापकोटा पनि आएका थिए। उनीहरूले हामी अन्यत्र लगेर घर बनाएर राखिदिन्छौं भने।
सरकारले घर बनाइदिने भन्ने कुरा
त्यही बेलादेखि नै चलेको थियो। तर, चार वर्षसम्म हामीले टहरोमै कष्टपूर्ण जीवन बिताउनुपर्यो। बगाएको खेतबारी खनीखोस्री यो चार वर्ष बितायौं। तर सरकारले हाम्रो पीडा कहिल्यै सुनेन।
अहिले बल्ल सरकारले घर बनाउनको लागि भनेर चार आना जग्गा दिएको छ। अब त घर बनाएर त्यसमै मर्न पाइन्छ भन्ने आस पलाएको छ। घर बनाउन ५ लाख पैसा पनि आएको छ रे। त्यो पैसा घर बनाउन पुगेन भने हामी थपिदिन्छौ भनेर नगरपालिकाको मेयरले भनेका छन्। अब चाहिँ घर बन्ला कि ? यो वर्खामा आनन्दले बस्न पाइएला कि ?ढिलै भए पनि सरकारले हामीलाई हेरिदिएका छन्। सबैलाई धन्यवाद भन्छु।
(बाह्रबिसे नगरपालिका–३ सिन्धुपाल्चोककी ५२ वर्षीया गंगामाया तामाङ बाह्रबिसे पहिरोपीडित हुन्।)