राजनीतिक दलहरूको खस्किँदो नैतिकता
सुदूरपश्चिम प्रदेशको घटनाक्रमले नेपालका राजनीतिक दलहरू स्वार्थका लागि जुनसुकै तह र हदसम्म झर्न सक्छन् भन्ने देखाएको छ । यसले राजनीतिक दलहरूमाथि नैतिकताको प्रश्नमात्र खडा भएको छैन कि बरु अस्थिरता समेत बढाएको छ । यस्ता घटनाक्रमले राजनीतिक दलहरूमा सत्ता प्राप्तिको जोड–घटाउ त चलिरहला तर आमनागरिकले निराशा, अस्थिरता, नयाँ सरकार र नयाँ मन्त्रीको संख्यामात्र प्राप्त गर्नेछन् । संघीय सरकारमा नेकपा माओवादी केन्द्रले सुरु गरेको अस्थिरताको खेल सुदुरपश्चिममा पुग्दा नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी मुख्य भूमिकामा देखिएका छन् ।
एकीकृत समाजवादीले प्रतिपक्षीसँगै मिलेर सत्ता पक्षलाई आफ्नो अडानमा सहमत हुन बाध्य बनाएको देखिन्छ । सत्ता गठबन्धनबाट बाहिरिने र प्रतिपक्षीसँग मिल्ने तहको भूमिकामा उत्रिन ऊ किन बाध्य भयो ? सत्ता गठबन्धनका प्रमुख दल र शीर्ष नेताहरूले सत्ता समीकरण मिलाउन उपयोगमात्र गरेको अनुभूति एकीकृत समाजवादीका प्रमुख नेताहरूलाई परेको छ । नागरिक उन्मुक्ति पार्टीमा समेत अनुशासन र आन्तरिक लोकतन्त्रको अवस्था कमजोर देखिएको छ । उक्त पार्टीभित्र बढेको विवादको बिउ अन्य दलमा पनि देखिएमा राजनीतिक अस्थिरता कुन तहसम्म अघि बढ्ला ?
संशय पैदा भएको छ । जुन घटनाक्रमले दलहरूको सत्ता लोलुपतालाई समेत उदांगो पारेको छ । यसले संघीय र प्रादेशिक सरकारको भविष्यसमेत अनिश्चित बनाएको छ । मुलुककै संघीय शासन प्रणालीमाथि थप निराशा बढाउने काम कोशी प्रदेशबाट सुरु भएको थियो । सुदुरपश्चिम पुगेको यो रोग क्रमशः अन्य प्रदेशमा पनि सर्ने जोखिम छ ।
देशको अर्थतन्त्रको आँकडा सरकारले सुधारोन्मुख देखाए पनि बजारको अवस्था जर्जर छ । बैंकमा भएको रकम बजारमा आउन सकेको छैन । बजार चलायमान छैन । कर्मचारीको तलबसम्म खुवाउन समेत ऋण उठाउनु परेको सरकारी ढुकुटीलाई मजबुत बनाउनु र अर्थतन्त्रको सुधार गर्दै विकासको गति अघि बढाउनु अहिलेको चुनौती हो । जसप्रति दल गम्भीर देखिँदैनन्, केवल स्वार्थमा होमिएका छन् । यसबीच खर्चको भारीको रूपमा आलोचित प्रदेश सरकारहरूलाई स्थिरता र विकासको बाहक बनाउनुपर्नेमा दलहरूले राजनीतिक स्वार्थकेन्द्रको भुमरी बनाउनु चाहिँ झनै बिडम्बनाको विषय हो । राजनीतिक दलहरूभित्र ऐक्ताबद्धता, नैतिकता र दलीय अनुशासन जस्ता विषय प्रश्नको घेरामा छन् । जनमतप्रति जवाफदेहीपूर्वक काम गर्ने र स्थिर सरकारमार्फत जनपक्षीय काम गर्न नागरिक तहबाट पनि खबरदारी जरुरी छ । ढिलै भए पनि दल स्वयं सचेत भैदिए त सुनमा सुगन्ध नै हुनेथियो ।