डढेलोले दूषित हावा

डढेलोले दूषित हावा
फाइल तस्बिर।
सुन्नुहोस्

पृथ्वीमा मानिस र अरू प्राणीलाई बाँच्न चाहिने हावा कत्तिको स्वस्थ छ भने जाँच्ने संस्था छ—वल्र्ड एअर क्वालिटी इन्डेक्स प्रोजेक्ट । स्याटेलाइटको माध्यमबाट उसले हावाको गुणस्तर मापन गर्छ । नेपालमै पनि वातावरण विभागले देशका दुई दर्शनभन्दा बेसी ठाउँमा हावा जाँच्ने उपकरण जडान गरेको छ । प्रत्येक पलको हावाको गुणस्तर ती यन्त्रले नाप्छन् । पछिल्ला दुई साताको विवरणले नेपालको अधिकतर ठाउँको हावा मानव स्वास्थ्यको प्रतिकूल देखिन्छ । राजधानी काठमाडौंको त झन् यो साता विश्वकै सबैभन्दा प्रदूषित सहरको कोटीमा दर्ज भयो हावाको गुणस्तर । स्वच्छ र सफा भनिएको पोखरा उपत्यका दुई सातादेखि धुम्म छ । हिमाल त वरिपरिका डाँडाकाँडा देखिएका छैनन् । हवाई उडान नियमित छैन । बेलाबखत शीतल पवन बहिरहने पोखराले गुम्सिएको र निस्सासिएको महसुस गरिएको छ । तराईतिर त हावा प्रदूषितमात्रै छैन, गर्मी झन् उखरमाउलो छ । र त बुटवलमा गर्मीकै कारण विद्यालय दुई दिनलाई बिदा गरिएको छ । 

नेपालमा वायु प्रदूषणको ग्राफ प्रत्येक वर्ष उकालिँदो छ । एयर क्वालिटी इन्डेक्स अर्थात् वायु गुणस्तर सूचकांक ५० देखि १०० हुनुलाई विश्व स्वास्थ्य संगठनले सामान्य मानेको छ । तर काठमाडौंमा गत साता यो सूचकांक २४५ पुग्यो । पोखरामा पनि त्यत्तिकै हाराहारीमा पुगेको थियो । तराईतिर उस्तै प्रदूषण छ । पछिल्लो समय देशका झन्डै हजार ठाउँमा डढेलो लागेको छ । विज्ञहरूका अनुसार प्रदूषणको एउटा कारण त्यो डढेलो पनि हो । हो, यो वर्षको डढेलो दशकयताकै सबैभन्दा ठूलो मात्रामा देखियो मुलुकमा । 

स्थानीय र एउटा कारण त्यो भए पनि नेपालमा वायु प्रदूषण बढ्नुको कारण आन्तरिकभन्दा बाह्य बढी छ । भारतको उत्तरी क्षेत्र, पाकिस्तानमात्रै होइन इरानसम्मबाट पनि नेपालमा वायु प्रदूषण भित्रन्छ । बर्खाको केही महिनाबाहेक नेपालमा हावा चल्ने भनेकै पश्चिमी दिशाबाट हो । बर्खाको पानी र हावाचाहिँ बंगालको खाडीतिरबाट आउँछ । पश्चिमी हावा चल्ने र नेपालको पश्चिम क्षेत्रमा अत्यधिक प्रदूषित सहरहरू रहेको हुँदा त्यसको प्रत्यक्ष मार परिरहेको छ । हावाको कुनै सीमा नहुने हुँदा भारत, पाकिस्तानसम्मको प्रदूषणको दुःख झेल्न नेपाल विवश छ । तर आन्तरिक रूपमा फैलिएको डढेलो नियन्त्रण भने नेपालकै बसको बात हुनुपर्छ । त्यसमा पनि कमजोरी हुनुचाहिँ विडम्बना हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.