कम्युनिष्टहरू नै पार्टी फुटाउन उद्दत : अध्यक्ष ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट भन्नेले नै पार्टी विभाजन गर्दा विश्वास नै नलागेको बताएका छन्। नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१औँ स्मृति दिवसका अवसरमा बल्खुस्थित मदननगरमा आयोजित माल्र्यापण कार्यक्रमका बोल्दै ओलीले झण्डै दुईतिहाई नजिक पुराएको कम्युनिष्ट पार्टीलाई दक्षिणपन्थीको इशारामा फुटाउन कम्युनिष्ट भन्नेले भूमिका खेलेको देख्दा विश्वास नै नलागेको बताएका हुन्।
अध्यक्ष ओलीले सबै कुरालाई पराजित गर्दै अलमलमा परेका नेताहरूलाई एकतावद्ध बनाउँदै कम्युनिष्ट पार्टी सुदृढ शक्तिको रुपमा आएको बताए। सबै एकतातिर हुँदा एमालेले एक्लै चुनाव लड्दा पनि आफ्नो हैसियता देखाउन सफल भएको उनको भनाइ छ।
अध्यक्ष ओलीले पार्टीलाई सिद्धाउने चक्रव्युहबाट बाहिर निस्केको अवस्थामा अब दिगो विजय हाँसिल गर्न मिसन ८४ मा ध्यान केन्द्रीत रहेको धारणा व्यक्त गरे । ओलीले अग्रज नेताहरूले देखाएको बाटो पछ्याउँदै मुलुकलाई समृद्ध बनाउन एमाले ध्यान केन्द्रीत हुने जिकिर गरे।
कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी,एमालेका अध्यक्ष ओली,वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्षत्रय युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल लगायतले मदन आश्रितप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी पार्टीका तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो ।