राजनीति झन् असमझदारीतर्फ
काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी अभियोगमा छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडानका कारण सिर्जित समस्यालाई लिएर बुधबार दिनभर राजनीतिक गतिविधि भएका छन्। यसले आरोप–प्रत्यारोपको शृंखलासमेत सुरु भएको छ।
ओलीले भने, ‘कांग्रेसको दादागिरी चल्दैन’
एमाले अध्यक्ष केपी ओलीले यसलाई लिएर कांग्रेसको दादागिरीमा संसद् बैठक नचल्ने बताएका छन्। ‘कांग्रेसका साथीहरूले एमालेका नेतामाथि मर्यादाहीन ढंगले आरोप लगाएका छन्,’ एमाले संसदीय दलको बुधबारको बैठकमा ओलीले भने, ‘केसम्म सुनिएको छ भने संसद् चल्न नदिएको एमालेले गर्दा हो रे !’
कांग्रेसप्रति आक्रोश पोख्दै ओलीले भने, ‘कांग्रेसको दादागिरी चल्ने ठाउँ होइन संसद्। संसद् विधि र प्रक्रियाले चल्छ, लोकतान्त्रिक तरिकाले चल्नुपर्छ।’ फलानो व्यक्ति अपराधी हो भनेर तोक्न कांग्रेस कुनै न्यायाधीश नभएको ओलीको भनाइ थियो। ओलीले भने, ‘सांसद्हरूले बोल्नै नपाउने, लोकतन्त्र भन्न अप्ठेरो लाग्दैन कांग्रेसलाई ? कसैमाथि आरोप लगाइएपछि त्यो सांसद् र माननीयले बोल्न पाउनुपर्छ, व्यक्ति तोकेर यस्तो संसदीय अभ्यास होइन। राजनीतिक अभिष्ट पूरा भएन, स्वार्थ पूरा भएन भने अर्को अपराधी भइहाल्ने ? आफूतर्फ फर्किएन भने अपराधी भइहाल्ने ?’
मुद्दा खेपेका, भ्रष्टाचारी, अपराधी हो भनेर अदालतले फैसला गरेका सांसद्हरूलाई अघि सारेर कांग्रेसले संसद्मा नाराबाजी गरेको भन्दै ओलीले अगाडि भने, ‘कांग्रेसका भ्रष्टाचारमा आरोपी ठहरिएका मान्छेलाई नाराबाजी गर्ने, अर्को जसमाथि कुनै मुद्दा छैन उचाहिँ भ्रष्टाचारी हो छानबिन आयोग गठन गर रे !’
उनले गिरीबन्धु टी–स्टेटका विषयमा आएको फैसला अपरिपक्क भएको भन्दै आफूहरूले यसमा कानुन बनाउने काम मात्र गरेको प्रष्ट पार्दै भने, ‘५१ र १९ गरेर ७० बिघा जमिन कमिसन खाएर बेच्न दिएको कुरा यसमा समावेश हुनुपर्ने भएको छैन।’
बोल्न पाउनुपर्ने अडानमा रवि
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध सदनमा कुरा उठेपछि बोल्न पाउनुपर्ने बताएका छन्। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि लामिछानेले सञ्चारकर्मीसँग यस्तो बताएका हुन्।
उनले लोकतन्त्रमा बोल्न पाउने अधिकार सबैको भएको भन्दै संसदमा आफूमाथि लागेको आरोपको विषयमा सदनबाटै स्पष्ट पार्न पाउनुपर्ने धारणा राखे। आफ्नो जवाफ चित्त नबुझेमा कांग्रेसले विरोध गर्न पाउने अधिकारको सम्मान गर्ने उनको भनाइ छ।
कांग्रेस नेताले भेटे प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालसँग कांग्रसका महामन्त्री गगनकुमार थापा र कांग्रेसको राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण सिटौलाले भेटेका छन्। संसदीय छानबिन समिति र संसदको गतिरोध हटाउने विषयमा उनीहरूबीच सघन छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
थापा र सिटौलाले सहकारीको रकम हिनामिनामा संलग्न रहेका गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय समिति नबनाएसम्म संसद बैठक चल्न नदिने अडान दोहो¥याएका थिए। महामन्त्री थापाले संसदीय समिति नबनाएसम्म कार्यसूचीमा प्रवेश गर्न नदिने र सत्तापक्षको धम्कीबाट कांग्रेस पछि नहट्ने सन्देश प्रधानमन्त्रीलाई सुनाएका थिए।
सत्तापक्ष रुष्ट
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्न नपाएपछि सत्तपक्ष चिढिएको छ। बुधबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाललाई भेटेर सदन सञ्चालनमा सहयोग पुर्याउन आग्रह गरेका थिए।
सभामुखको आग्रहपछि प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनको बैठक पनि बोलाएका थिए। बैठकमा एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछाने सहभागी थिए।