नेपाली कांग्रेस अत्यन्त रन्थनियो : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सत्ताबाट बाहिरिनुपर्दा अत्यन्त रन्थनिएको बताएका छन्। शुक्रबार दिउँसो संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अघिल्लो संसद अधिवेशन अवरोध गरेको कांग्रेसले आज के गर्छ हेर्न बाँकी रहेको बताएका हुन्।
उनले भने,‘नेपाली कांग्रेसले अत्यन्त रन्थनियो, के गर्ने के नगर्ने, प्रधानमन्त्री बनिदेउ भनेर यहाँ पनि पुगेको छ,उता पनि पुगेको छ।’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग प्रतिशोध र स्वार्थ केन्द्रित रहेको बताए। उनले कांग्रेसले छानबिन समितिको माग गरेर छुद्र राजनीतिक टिप्पणी गरे।
उनले कांग्रेसले भनेअनुसारै संसदीय समिति बनाए तत्काल गृहमन्त्रीको राजीनामा माग्ने दावी गरे। प्रश्न उठाउने तर जवाफ दिन नदिने अराजनीतिक व्यवहार भएको उनको भनाइ छ।ओलीले सामाजिक विद्वेष र घृणा राष्ट्रिय हित विपरित रहेको बताए। ‘नेपाललाई नचाहिएको तर अरु कसैलाई चाहिएको हुन सक्छ तर हामी मान्दैनौं।’ उनले भने,‘लोकतन्त्र र राष्ट्रहित हाम्रो आदर्श हो। हाम्रो आदर्शमा हामी चल्छौं।’
उनले एमाले राष्ट्रियता,सुशासनको पक्षमा रहेको बताए। ओलीले हिंसा र अशान्ति हुने क्रियालाप हुन दिन नचाहने धारणा राखे। उनले सांसदहरुलाई संसद्मा प्रभावकारी भूमिका खेल्न निर्देशनसमेत दिए।