कांग्रेसको संसदीय दलको बैठक जारी
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी रहेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक बसेको हो।
आज दिँउसोबाट बजेट अधिवेशन सुरु हुने भएकाले कांग्रेसले संसदमा खेल्ने भूमिका र सहकारी ठगी प्रकरणको विषयमा छलफल भइरहेको छ।
बिहीबार नै दलको बैठक राखेको कांग्रेसले दलका नेता सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको थियो।
सरकारले जेठ १५ गते बजेट र त्यस अगाडि नीति तथा कार्यक्रम ल्याउँदैछ। यस अगाडि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै निरन्तर संसद अवरोध गरेको थियो। कांग्रेसले लामिछानेसमेत हिस्सेदार रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट लगानी गरी आर्थिक अपचलन भएको बताउँदै संसदीय छानबिनको माग गर्दै आएको छ।
सहकारी ठगी प्रकरणको विषयलाई लिएर हिउँदे अधिवेशनको अन्त्यतिर निरन्तर संसद अवरोध गरेको कांग्रेसले बजेट अधिवेशन पनि अवरोध गर्ने संकेत पाएपछि सभामुखले छलफल तीब्र पारेका छन्। मंगलबार शीर्ष नेतासँग छलफल गरेका सभामुखले बिहीबार प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए। आजको प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमति भएको छ।
सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग राखेर यस अगाडि कांग्रेसले रोष्टममा जान दिएको थिएन। आज शीर्ष नेताले सम्बोधन गर्ने भएपछि उनलाई रोष्टममा बोल्न दिने कि नदिने भन्ने पनि संसदीय दलको बैठकमा छलफल हुने बताइएको छ। छानबीन समिति गठन नभएसम्म संसद चल्न नदिने कांग्रेसको अडान छ।