वेष्ट इण्डिज ‘ए’ को तेस्रो विकेट पतन
काठमाडौं : वेष्ट इण्डिज ‘ए’ विरुद्ध टी-२० श्रृंखलाको चौथो खेलमा नेपालले तेस्रो विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर बलिङ गरेको नेपालका लागि कुशल भुर्तेलले तेस्रो विकेट लिएका हुन्।
१३.२ ओभरमा भुर्तेलको बलमा केसी कार्टीलाई कप्तान रोहितकुमार पौडेलले क्याच आउट गराएका हुन्। उनले १० बलमा ४ रन मात्र बनाए।
त्यसअगाडि ९ ओभरमा भुर्तेलको बलमा जोनसन चार्ल्सलाई दीपेन्द्र सिंह ऐरीले क्याच आउट गराएका थिए। चार्ल्सले ३० बलमा ५८ रनको योगदान गरे। त्यसैगरी प्रतिश जिसीले दोस्रो ओभरको पहिलो बलमा विकेट लिएका थिए। वेष्ट इण्डिज ‘ए’का उपकप्तान एलिक अथान्जे जिसीको बलमा सन्दीप जोराले क्याच आउट गरे। अथान्जे ७ बलमा ५ रन बनाएर बाहिरिए।
वेष्ट इण्डिज ‘ए’ले १३ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा १२८ रन बनाएर खेलिरहेको छ। वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका हुन्।
यसअघि सम्पन्न तीनवटा खेलमा नेपालले एउटा र वेस्ट इन्डिजले दुईवटा खेलमा जित हासिल गरेको छ। पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएपनि त्यसपछिका खेलमा नेपाल १० रन र ७६ रनले पराजित भएको हो।
सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नुपर्ने दबाब छ। नेपालले अर्को महिना हुने आईसीसी टी-२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणासमेत गरिसकेको छ। आगामी जुन २ बाट सुरु हुने आईसीसी टीट्वेन्टी विश्वकपको तयारीका लागि नेपालले वेष्ट इण्डिजसँग शृंखला खेलेको हो।