सुप्रिम सहकारी ठगी प्रकरण : अदालतमा मुद्दा, सडकमा पीडित

सुप्रिम सहकारी ठगी प्रकरण : अदालतमा मुद्दा, सडकमा पीडित
बुटवलमा आन्दोलनमा उत्रिएका सहकारीपीडित।
सुन्नुहोस्

बुटवल : बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएपछि पीडित आन्दोलन गर्दै सडकमा उत्रिएका छन्। सहकारीबाट आफूहरू ठगिएको भन्दै १ हजार ८ सय ३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए। तीनै पीडित न्यायको माग गर्दै सडक प्रदर्शनमा उत्रिएका हुन्।

सहकारीबाट पीडितले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान सम्पन्न गरेको छ। ठगीमा संलग्न भएको आरोपमा सहकारीका पूर्वकोषाध्यक्ष दिपेश पुन प्रहरी नियन्त्रणमा छन्। प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ। ८६ करोड १८ लाख ठगी भएको पीडितले बताए पनि प्रहरी अनुसन्धानबाट १ अर्ब २ करोड रकम हिनामिना भएको देखिएको छ।

सहकारीका संस्थापक जीबी भन्ने गितेन्द्रबाबु राई, अध्यक्ष ओमप्रकाश गुरुङ, सचिव दीपेश कुमार पुन, कुमार रम्तेल, दुर्गा चापागाई पाण्डे, भविश्वर अर्याललाई प्रतिवादी बनाएको छ। त्यस्तै नीता थापा, दीपक न्यौपाने, रोशनी गुरुङ, सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, धिरजकुमार दास, असव अलि सिद्धिकी, बुद्धि गुरुङ, आशिस अनन्त, मोजहर मोहम्मद, लिगल ढुंगाना, औबहादुर गुरुङ, स्याजिक राजभण्डारीलाई पनि प्रतिवादी बनाएको छ।

त्यस्तै भुपेन्द्र राई, हेमन्त अधिकारी, कविता तामाङ, नवीन अछामी पनि प्रतिवादी रहेका छन्। प्रतिवादीमध्ये अध्यक्ष गुरुङ, सचिव पुन, दुर्गा चापागाईं पाण्डेय, कुमार रम्तेल पक्राउ परेका छन्। रम्तेल पोखराको सुदर्शन सहकारी गठी प्रकरणबाट पुर्पक्षका लागि थुनामा गएका छन्। पक्राउ परेका प्रतिवादीहरूको मंगलबार थुनछेक बहस सुरु भएको छ।

सरकारी पीडित भन्छन् ‘हामी घरबारविहीन भयौं’

सहकारीमा रकम लगानी गरेका पीडितहरू घरबारविहीन भएको भन्दै आन्दोलमा उत्रिएका हुन्। उनीहरूले जम्मा गरेको रकम फिर्ता गरिदिन सरकारसँग हारगुहार गरेका छन्। सहकारीमा एकै जना व्यक्तिले तीन करोडसम्म बचत गरेको भेटिएको छ।

पीडितहरूको संघर्ष समितिका अध्यक्ष विजयकुमार नेपालले सरकारसम्म आवाज पुर्‍याउनका लागि आन्दोलनमा उत्रिएको बताए। ‘हामीले धेरै निकायमा हाम्रा आवाज पुर्‍याएका छौं, तर सरकारले सुनेको देखिएन’, उनले भने, ‘बचत रकम डुबेपछि घरबारबिहिन हुनुपरेको छ। अव सडकदेखि संसद भवनसम्म हाम्रा आवाज पुर्‍याउन लाग्छौं।’ उनले ऐन कानुन परिवर्तन गरेरै भए पनि पीडितलाई न्याय दिनुपर्ने बताए।

सडक आन्दोलनमा रहेकी तिलोत्तमा निवासी दुर्गा रिमालको सहकारीमा ६० लाख डुबेको बताइन्। ठूलो रकम डुबेपछि घरबाटसमेत अपेलित हुनु परेको उनले गुनासो गरिन्। उनले भनिन्, ‘पैसा डुबेपछि घरमा झगडा हुने गरेको छ। कति साथीहरूको सम्बन्ध बिच्छेदसमेत भएको छ। हामीलाई कसले न्याय दिन्छ।’

सहकारी पीडितले मंगलबार बुटवलमा प्रदर्शन गरी आफ्नो रकम फिर्ता दे भन्ने नाराबाजी गरेका थिए। बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शनमा करिव २ सय पीडित सहभागी थिए। सहकारीमा रहेको मुद्दती बचतकर्ताको बढी रकम डुबेको हो। राम्रो ब्याजदर दिए पछि उनीहरूले सहकारीमा मुद्दती खाता खोली लाखौं रकम जम्मा गरेका थिए। सो सहकारीबाट विभिन्न व्यक्तिहरूको नाममा करोडौैं रकम ऋण लगानी भएको छ। त्यो रकम नउठेपछि सहकारी डुबेको हो। बिनाधितोको ऋण लैजानेमा संस्थापक अध्यक्ष जीबी राईदेखि मिडिया हाउसहरूसमेत  छन्। प्रहरीको प्रतिवेदनमा गृहमन्त्री रवि लामिछानेको नाममा पनि रकम ऋण लगानी भएको देखिएको छ। प्रहरीले लामिछानेलाई भने प्रतिवादी बनाएको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.