दलीय हठले संसद् बन्धक !

सहकारी प्रकरणमा कांग्रेस रास्वपा आमने—सामने

दलीय हठले संसद् बन्धक !
सुन्नुहोस्

काठमाडौं : सहकारी ठगी प्रकरणमा प्रमुख विपक्षी कांग्रेस र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिक हठले प्रतिनिधिसभा (संसद्) बन्धक बनेको छ। 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै आएको कांग्रेसको विरोधका कारण मंगलबारको बैठक पनि अवरुद्ध भएको छ। सत्ता समीकरण फेरिएसँगै कांग्रेसले रास्वपाका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ।

पूर्वसभामुख दमननाथ ढुंगानाले गृहमन्त्रीबारे छानबिनको माग गर्नुपर्ने परिस्थिति उत्पन्न हुनु र प्रतिपक्षी कांग्रेसले सदनको कामकारबाही नै अवरोध उत्पन्न गर्नु दुःखद् अध्याय भएको बताए। ‘यी दुवै दुःखद् अध्याय हुन्,’ पूर्वसभामुख ढुंगानाले अन्नपूर्णसँग भने, ‘उपप्रधान एवं गृहमन्त्री भनेको उच्च र जिम्मेवार पद हो। प्रमुख प्रतिपक्षी कांग्रेसले विरोध गर्न सक्छ। तर, संसद्को कामकारबाही नै बन्द हुने गरी विरोध गर्न कांग्रेसलाई सुहाउँदैन।’

संसद् बैठक बस्नुअघि सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तासीन एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेले कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रियसभामा कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद सिटौलासँग बालुवाटारमा छलफल गरेका थिए। कांग्रेसले संसदीय समिति गठन गरिनुपर्ने अडान राखेपछि छलफल निष्कर्षविहीन बनेको थियो। 

सभामुख घिमिरेले सोमबार पनि सिंहदरबारस्थित कार्यकक्षमा सत्तारूढ र प्रतिपक्षीका नेताहरूसँग छलफल गरेका थिए। सभामुख घिमिरे आफ्नी दिदीको निधनका कारण झापा जाने कार्यक्रम स्थगित गरेर सदन अवरोध खुलाउन प्रयास गरे पनि असफल भएका छन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम राखिएको थियो। तर, कांग्रेसले अवरुद्ध गरेका कारण बैठक चल्न सकेन। यसअघि चैत २ गते पनि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची राखिएको थियो। त्यो दिन पनि कांग्रेसले विधेयक पेस गर्न नदिने अडान लिएपछि लामिछानेले  विधेयक प्रस्तुत गर्न पाएनन्। 

मंगलबार  बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक दुई घण्टा ढिलो १ बजे बसेको थियो। बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरूले सिटबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिएका थिए। उनले कांग्रेसको संसदीय समितिको बैठकले गरेको निर्णय पनि पढेर सुनाएकी थिइन्। मंगलबार बिहान बसेको कांग्रेसको संसदीय दलको बैठकले सहकारीको रकम अपचलन गर्ने काममा गृहमन्त्री लामिछाने  संलग्न भएको निष्कर्ष निकालेको थियो। null

सचेतक थिङले सहकारीको रकम हिनामिनामा लामिछानेको संलग्नता भएको दाबी गर्दै संसदीय छानबिनको माग दोहो¥याइन्। ‘लामिछाने भएको ठाउँमा अरू जो कोही भएको भए पनि अनुसन्धान हुन्थ्यो होला, कानुन लाग्थ्यो होला,’ उनले प्रश्न गरिन्, ‘रवि लामिछाने भएको कारणले अनुसन्धान रोकिने ? यो कस्तो सरकार हो ? सरकार जवाफदेही हुनुपर्छ कि पर्दैन ?’

कांग्रेसले संसद् अवरुद्ध गरिरहँदा सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झालाई बोल्न समय दिए। तर कांग्रेस सांसदहरूले उठेर विरोध जनाइरहेपछि झाले बोल्न पाएनन्। सदनको अवरोध हटाउन सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। 

बैठक स्थगित गरेर सभामुख घिमिरेले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका नेताहरूसँग छलफल गरेका थिए। संसदीय छानबिन समिति बनाउने मागमा कांग्रेसले अडान राखेपछि बैठक स्थगित भएको सूचना टाँस गरिएको थियो। प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले ललिता निवासदेखि वाइडबडी काण्डलगायतका विभिन्न काण्डमा संलग्न सबैको छानबिनको लागि उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्न माग गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.