अघिल्लो सरकारका अर्थमन्त्रीजी मसँगै हिँड्न मान्नु भएन : प्रधानमन्त्री दाहाल
हेटौंडा : प्रधानमन्त्री पुष्पकमल दाहालले अघिल्लो सरकारमा अर्थमन्त्री प्रकाशशरण महत आफू सँगसँगै हिंड्न नचाहेको आरोप लगाएका छन्। प्रधानमन्त्री र अर्थमन्त्री बेग्ला बेग्लै हिंडेकाले कामको गति नमिलेको उनको भनाइ छ।
शुक्रबारबाट हेटौंडामा सुरु भएको नेपाल निर्माण व्यवसायी महासंघको २५औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अघिल्लो सरकारले देशको अर्थतन्त्र सुधारका लागि काम गर्न खोज्दा अर्थमन्त्री र आफ्नो कामको गति नमिलेकाले बताए।
उनले भने, 'अझै राष्ट्रिय आवश्यकता अनुरुप काम गर्न सकेको छैन। निर्माण व्यवसायीको समस्याप्रति जानकार भएकाले नयाँ ऐन संसोधन गरेर भए पनि केही काम गर्छौं। अहिले नयाँ सरकार छ। अघिल्लो वर्षजस्तो अर्थतन्त्र छैन। अर्थतन्त्र सुधारोन्मुख छ।'
निर्माण व्यवसायीहरू काम सम्पन्न भएपछि रकम नपाउने समस्याप्रति अब आत्तिनु नपर्ने उनले बताए। निर्माण व्यवसायीहरूले पनि आफूले योजना बनाएका कामहरू समयमा नसकाउने र गुणस्तरीय काम नगर्दा राज्यलाई समस्या परेको बताए।