आरोहणको चौथो शिविर

आरोहणको चौथो शिविर

भिन्न सामाजिक भूमिकामा खरो हुँदाहुँदै पनि साहित्यको निरन्तर साधना गरेका छन् कविले।

इलामबाट फोन गरेर एक दिन कवि विमल वैैद्यले उर्दी जारी गरे, ‘फलानो दिन, फलानोे स्थान, ढिस्कानो समयमा मेरो चौथो कविता संग्रह विमोचन हुँदै छ। कविता वाचन गर्नुपर्छ। पुस्तक आजभोलि हात पर्छ, कविता आफैं छान्नू।’ मिठो आदेशले पुलकित बनायो। किनभने उनका कविता पहिल्यै पढेको छु– अत्यन्त हिस्सी परेका हुन्छन्। पुस्तक हात पर्‍यो, कविताहरू पढेँ तर पर्‍यो फसाद। एक छान्नु त फलामको च्युरा चपाएभन्दा गाह्रो पो भयो, हुनेभए हरेक कविता वाचन गरौं जस्ता लागे।

चौथो कविता संग्रह प्रकाशित हुनु स्वयं नै लाखौं शब्द बोल्छ। किनभने त्यसले बताइरहेको हुन्छ, कवि कर्ममा दत्तचित्त छन्, अनुशासित छन् र निरन्तर छन्। हिमालको उचाइबाट न्यानोसँगै पग्लेर कञ्चन पानी जसरी ओरालो झर्दै आफ्नो शीतलताले उष्ण र जर्जर जमिनहरूलाई सिँच्दै, असंख्य खोलानालासँग मिसिँदै, आफूलाई तिनमा समाहित गर्ने क्रममा सिक्दै–सिकाउँदै, बादल जस्तो आवारा बनेर बरालिँदै पुनः कहिले वर्षका थोपा र कहिले हिउँका कणहरू हुँदै फेरि अग्ला पहाडहरूमा तिनलाई छर्दै स्थापित हुने पानीको जस्तो निरन्तर यात्रा गर्न सक्ने थोरै यायावर हुन्छन्। तिनैमध्ये एक यायावर कवि हुन्– कवि विमल वैद्य। सही अर्थमा भन्ने हो भने कविताका साधक, कविताका प्रेमी। कविताप्रति असाध्य धेरै अनुशासन, आशक्ति र अनुराग नभई उनले लेख्नेजस्ता सुन्दर कविता लेख्न सकिँदैन।

दायित्व र भिन्न सामाजिक भूमिकामा खरो हुँदाहुँदै पनि साहित्यको निरन्तर साधना गर्न सकिन्छ भन्ने कुराको उदाहरणचाहिँ विमल हुन्। उनी आफ्नो कर्मक्षेत्रमा भिन्नभिन्न भूमिकामा उत्तिकै सफल व्यक्तित्व हुन्। त्यति हुँदाहुँदै पनि कवितालाई प्रेम गर्न नछोडी कविता आरोहणको क्रममा उनले चौथो शिविरमा क्याम्प गाडेका छन्। र, ‘युगको तटमा उभिएर’ त्यो क्याम्प हो। यो आलेख विमलको कविता संग्रहको समीक्षा होइन। कवितालाई प्रेम गर्ने एउटा साहित्य अनुरागीको मनमा यसले ल्याएको छालहरूको आवाजलाई लिपिबद्ध गर्ने सानो प्रयास मात्रै हो।

कविताकृतिको प्रमुख विशेषता भनेकै एक कविका रूपमा उनको आफ्नै आरोहको स्पष्टता हो– उनको विकासक्रम हो। अघिल्ला तीन कविता संग्रहमा उनले पाठकलाई प्रभावित पारेका थिए भने चौथोले पाठकलाई अचम्भित बनाएको छ– मन्त्रमुग्ध बनाएको छ। यसैले उनको अनुशासनलाई स्पष्ट्याएको छ। ‘युगको तटमा उभिएर’ उनले कविताहरूको पुस्तक लेखेका होइनन्– ‘तस्बिहरू’ उनेका हुन्। ‘तस्बिहरू’– अर्थात् प्रार्थना गर्नेबेला प्रयोग गरिने माला। त्यसैले त यसमा समावेश भएका हरेक कविता पढ्नेका लागि प्रार्थनाजस्तै पवित्र र गहिरा लाग्छन्। यसका लागि कविले भावनाको समुद्रको मरियाना ट्रेन्चसम्मै डुबुल्की लगाएका छन् र बटुलेर ल्याएका छन् ३८ अनमोल मोती। अनि तिनैलाई उनेका छन् शैलीको धागोमा। त्यसरी तयार भएको छ, ‘युगको तटमा उभिएर’।

प्रार्थनाको सबैभन्दा ठूलो विशेषता नै के हो भने दोहोर्‍याइ–तेहेर्‍याइ गर्दा पनि त्यो पुरानो लाग्दैन। झनै नयाँ लाग्छ, झनै गहिरो लाग्छ। विमलका कविता पनि त्यस्तै लाग्छन्। खोलाको तटमा उभिँदा भन्दा समुद्रको तटमा उभिँदा देखिने क्षितिज निकै फराकिलो हुन्छ। एउटा थुम्कोमा उभिँदाभन्दा अग्लो पहाड वा हिमालमा उभिँदा देखिने क्षितिज अझै विशाल हुँदो हो। कल्पना गर्नुस्, युगकै तटमा उभिँदा कति विशाल र फराकिलो क्षितिज देखिएला ? युगको तटमा उभिँदा दृष्टिभित्र कति कुरा अटाउँलान् ? कविले युगको तटमा उभिँदा कस्तो अनुभूति गर्छ होला ? अझ हाम्रो पुस्ताको कुरा गर्ने हो भने विश्वविकासको तीव्रता पनि यो पुस्ताले जति अरूले कहाँ देखेको होला ? अनि सिंगो युग नै अग्रगमनको नाममा खेर फ्यालेर देश नै पछि परेको पुस्ता पनि यही होला।

त्यतिमात्र नभै आर्थिक, प्राकृतिक, राजनीतिक र सामाजिक परिवर्तन अनि विचलन, यति बृहत भोगाइ र देखाइ अरू पुस्ताले देखेको थिएन। त्यो देखाइ, त्यो भोगाइका अंशहरूलाई विमलले कवितामा समाहित गरेका छन्। त्यसको ज्वलन्त उदाहरण पहिलो कवितामै पाउन सकिन्छ– ‘आगो बर्सिरहेको समयछेउ’ :

‘चुहिने भाँडोमा बोकेर विचार उनीहरू 
क्षितिजमा सुनौलो घाम देखाइरहेछन्।’

यो सशक्त र प्रतीकात्मक उद्घाटनले पाठकलाई पाना पल्टाउँदै जाँदा पाइने खुराकका लागि तयार पारिदिन्छ। आठ राउन्डसम्म खेल्न पाइने मुक्केबाजीको खेलमा कुनै मुक्केबाजले पहिलो राउन्डमै ‘सकर–पन्च’ प्रहार गरेजसरी कविले अभिव्यक्तिको शक्ति देखाएका छन्। जसै अरू कविता पढ्न थाल्नुहुनेछ, तिनले चर्लुम्मै डुबाइदिन्छन्। मानौं त्यही नै पल प्रणय दिवस हो र कविता तपाईंका प्रेमी वा प्रेमिका हुन्। कुशल कविले पीडासँग पनि प्रेम हुने बनाइदिन सक्छ, मृत्युलाई पनि प्यारो बनाइदिन सक्छ। घाट कविता त्यसैको उदाहरण हो :

पर्खिरहेको हुन्छ घाटले सधैं
मान्छेको अन्त्य
त्यसै दिनदेखि
जुन दिन
ऊ बाबुको पौरुषबाट सिञ्चित भएर
आमाको गर्भमा बास बसेको थियो।

उनको शैली सरल र स्पष्ट छ। उनका कवितामा विम्ब, भाव र लक्षणहरू यति सहज रूपमा आउँछन् कि तिनका प्रभाव कहिलेकाहीँ कविता पढेको धेरै बेर वा धेरै दिनपछि पनि अनुभूत हुन सक्छ। उनले दिमाग हल्लिने कविता कोरिदिएका छन्। ‘शिव ठाकुरः एक पोट्रेट’, ‘म उही विष्णु नवीन हुँ’, ‘दाहिने खल्तीको पर्स’ र ‘खाली शिशि पुराना कागज’ त्यसका उदाहरण हुन्। उनका कवितामा अनुराग अनि समर्पणका कुरा छन्, अनि बिछोडका पीडा पनि :

‘छोडिजानेहरूका रहर बढी हुँदो हो,
छोडिजानेहरूको सहर अर्कै हुँदो हो।’

समग्रमा विमलका कविता अनुशासित छन्। तिनले कविताको मर्म र गरिमालाई आँच आउन दिएका छैनन्। आफ्नै परिवेश र समयको वरिपरि रहेर खोजिएका विषय कविता बनेका छन्। शैलीको त कुरा गर्नै परेन। अलिकति कमी खट्किएको चाहिँ दुइटा कवितामा मात्र हो। एउटा, ‘तिमी नहुँदा’मा जीवनसंगिनीसँगको क्षणिक वियोगमा व्यक्त अभावका पीडामा अलिकति पितृसत्तात्मक सोच हावी भएको हो कि ? उनको अभाव खट्किने जुन–जुन कुरालाई कविले जोड दिए, ती सबै एक पुरुषले आफैं गर्न नसक्ने थिएन। जीवनसंगिनीको महत्व र अभाव तीभन्दा बढी महत्वपूर्ण कारणका लागि बुझिदिएको भए अझ गज्जब हुन्थ्यो कि ? व्यक्तिगत रूपमा उनलाई चिन्ने भएकाले पनि होेला, अर्को कविता ‘स्कुल जाने छोरालाई’ पढ्दा पनि मनमा लागिरहन्छ, एक छोरी र एक छोेराका कवि पिताले स्कुल जाने छोरीका लागि पनि एउटा कविता लेखिदिएको भए क्या खास्सा हुन्थ्यो !

जे होस्, ‘युगको तटमा उभिएर’ नेपाली कविताको एउटा कोसेढुङ्गा हो भन्नचाहिँ कञ्जूस्याइँ गर्नुपर्दैन। स्वैरकल्पनाको नाममा अलमलिएर सम्राटको नयाँ लुगा खोज्नुपर्ने साहित्यको गुन्टा उनले बाँधेका छैनन्। अनि सिर्जनात्मक छुटका नाममा खाँदिएका बोझिला शब्दका ठेलीहरू पनि उनले कसेका छैनन्। तै पनि तिनले थोरै र स्पष्ट अभिव्यक्तिमार्फत बोल्नपर्ने जति प्रशस्तै बोलेका हुन्छन्,

‘गोप्य कोेठामा
मुसाले बिरालो ब्याउँछ
आलुको बिउमा अम्रिसो फल्छ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.