घर बिग्य्रो घरबार बिग्य्रो राजनीति मायाले

घर बिग्य्रो घरबार बिग्य्रो राजनीति मायाले
फाइल तस्बिर।

२०४६ सालको जनआन्दोलनपछि गीत–संगीतलाई चुनावी सभाहरूमा प्रवेश गराएको पाइन्छ। नेपाली कांग्रेस र नेकपा एमाले त्यसबेला प्रमुख राजनीतिक दल थिए। दलका नेताहरूले चुनावी प्रचारका लागि सबैथरी कलाकारलाई निम्त्याउने कामको थालनी गरे। आधुनिक गीतका गायकगायिकाभन्दा लोककलाकारलाई बढी प्रयोग गरे। आर्थिक प्रलोभनका कारण हरेक पार्टीमा आआफ्नो आस्थाबमोजिम ती कलाकार राजनीतिक पार्टी र अन्य स्वतन्त्र उम्मेदवारका लागि पनि चुनावी गीत गाउन लागिपरे। कलाजस्तो शुद्ध पेसालाई कसैले पनि धमिल्याउनु उचित होइन।

कलाकारहरू सफा र शुद्ध हुन्छन्। लोकसंस्कृति, लोकगीत र विभिन्न जिल्ला र प्रान्तमा बोलिने भाषाको गीतमार्फत सेवा गरिरहन्छन् कलाकारहरू।
यसो त रानुुदेवीले २००६ सालमा देशमा राणाविरोधी प्रजातन्त्रका गीतहरू गाएको स्मरण आउँछ। त्यसबेला उनले कुनै दलको नभई प्रजातन्त्रका पक्षमा गीत गाएकी थिइन्। ‘नेपाली अघि बढ हातमा क्रान्ति झन्डा लिई’ बोलको उनको गीतले सांगीतिक क्षेत्रबाट पनि प्रजातन्त्र स्थापना गर्न बल पुगेको मान्न सकिन्छ। २०१७ साल तत्कालीन राजा महेन्द्रको राजनीतिक कदमपछि मुलुकमा ३० वर्षसम्म एकछत्र पंञ्चायती एकदलीय शासन प्रणाली लागू भयो। कलाकारहरूले पनि सो व्यवस्थाको गीत–संगीत र अमूल्य स्वरमार्फत विरोध गरे।

यसरी विरोधका गीतहरू गाएर समाजलाई प्रजातन्त्रका पक्षमा जागरुक गराउने पंक्तिमा रामेश, रायन, मञ्जुल, जेबी टुहुरे, नन्दकृष्ण जोशी, जीवन शर्मा, माधव प्रधान, रामकृष्ण दुवाल, अरिम, मधु गुरुङको नाम अग्रपंक्तिमा आउँछ। यी कलाकारले आस्था, संकल्प समूहको नामबाट पूर्वका हिमाली र पहाडी जिल्लाका गाउँबस्तीहरूमा परिवर्तनका स्वरहरू सुनाएर नागरिकलाई प्रजातन्त्रका पक्षमा जनलहर ल्याएको देखिन्छ। यसैगरी, देउडा संगीतमार्फत जोशीले सुदूरपश्चिम र त्यसबेलाको मध्यपश्चिम क्षेत्रलाई प्रजातन्त्रका पक्षमा निरन्तर आवाज दिइरहेको सम्झना ताजै छ।

प्रजातन्त्र प्राप्तिपछि र २०६२/६३ सालको जनआन्दोलन सफल पार्न माथि उल्लेखित विशिष्ठ साधकहरूले निरन्तर रूपमा लोकतन्त्रका पक्षमा गीत–संगीतमार्फत योगदान दिइरहेको यथार्थ भुल्न सकिँदैन। साथै ६२/६३ को जनआन्दोलन सफल पार्न कलाकार बद्री पंगेनी, रुविन गन्धर्व, हरिदेवी कोइराला, नरेन्द्रराज रेग्मी, गोपाल ठाकुर, धीरेन्द्र प्रेमर्षिलगायतको योगदान उत्तिकै छ। अब शीर्षकअनुसार देउडागीतमा राजनीतिको प्रभाव र राजनीतिमा देउडा गीतको महत्वबारे केही चर्चा गरौं।

देउडा गीत–संगीत यस्तो अस्त्र हो जसले सुदूर र कर्णाली प्रदेशका सम्पूर्ण नरनारीको मनमुटु छुन्छ। देउडा गीत र संस्कृति एकमात्र वर्ग र निश्चित समुदायको नभै समग्र भूगोलमा अटाउने नागरिकको साझा सांस्कृतिक सम्पत्ति भएकाले अगाध माया बढेको मान्न सकिन्छ। पर्वहरूमा र रानीतिक क्रियाकलापका बेला देउडाको प्रयोग बढी हुने गर्छ। नेता कार्यकर्तादेखि समाजका लब्ध–प्रतिष्ठित व्यक्तिहरू आपसमा देउडा खेल्न पाएपछि सुखमा रमाउने र दुःखहरू भुल्ने गर्छन्।

तर, देउडा कलाकारलाई राजनीतिमा किन प्रयोग गरिन्छ ? सबैको चिन्ताको विषय छ। देउडाका मौलिक भाकाहरू चुनावताका सुनाइदिँदा कतै संस्कृतिको अवमूल्यन त भएन ? भन्ने प्रश्न पनि अर्कोतिर छ। चुनावताका पार्टीले कलाकारलाई सक्दो प्रयोग गर्ने, दर्शकहरू बढाउने प्रचलन देउडा भूमिमा मात्र नभएर देशभरि नै रहेको पाइन्छ। अझ २०५६, ६४, ७०, ७४ र ७९ को राष्ट्रिय चुनावमा लोककलाकारलाई धेरै नै प्रयोग गरेको देखियो। राजनीतिमा स्थायी शत्रु र मित्र कहिल्यै हँुदैनन् भन्ने कुराको बोध देउडा गीतले पनि गराउँदै आएको देखिन्छ। देउडामा प्रयोग गरिएका केही राजनीतिक गीतहरू यस्ता छन्–

यै रानी वनका दाउरा हात् लायाले भाग्दा
जोइचेला पराया भया राजनीतिका लाग्दा।

२०५१ सालमा देशमा मध्यावधि चुनावताका बझाङमा एउटा राजनीतिक पार्टीको उम्मेदारले रचेको गीत हो माथीको। २०४८, २०५१, २०५६ सालको चुनावमा त्यसबेलाका दुई ठूला राजनीतिक पार्टीका कार्यकर्ता र संस्कृतिकर्मीबीच सुदूरपश्चिमका बझाङ, बाजुरा, बैतडी, दार्चुलालगायतका जिल्लामा देउडा खेलमा कडा प्रतिस्पर्धा भएका राजनीतिक र सांस्कृतिक इतिहास भुल्न नसकिने किसिमका छन्–

माओवादी दरा (गाउँघर) पस्या प्रचण्डले गर्दा
राजनीतिको टुंगो छैन राजाको भर पर्दा।

तत्कालीन राजाले सत्ता हातमा लिएपछि नागरिकलाई राजाको कदमको कुनै भर भएन। यसैगरी, गाउँगाउँमा माओबादीको आगमन भएपछि कतै शान्ति कायम भयो भने कतै अशान्ति भित्रियो भन्ने आशयको गीत हो माथिको।

घरबाट हिँड्याको माइस, छार्‍ेयाट्टीको साइत
 राजनीति नखेल्नु भाइयौ साधारणी भाइस।

घरबाट टाढाको यात्रा गर्नु छ भने छोर्‍याट्टी (बिहे नभएकी केटी) देख्नुलाई साइत मानिन्छ। कन्या कुमारीलाई अगाडि लगाएर यात्रा गर्ने चलन त्यसैले पनि हुनसक्छ। साधारण मानिसले राजनीतिजस्तो छलकपट पेसामा नलाग्दा राम्रो हुनेछ भन्ने उपदेश यो गीतले दिन खोजेको हो। देउडागीतमा जस्तो चोटिलो ब्यंग्य प्रहार पार्टीका नेताले गर्न सक्दैनन्। ब्यंग्यमा एउटा गीताङ्गीले गीत यसरी सुनायो–

बल्ल मर्‍यो तल्लागाउँको गाई मर्‍यो कालुको
शिकार खान्या तलाई (लोभ) लाग्यो को 
खाला भालुको।

यहाँ एमाले र कांग्रेसलाई गीताङ्गीले बल्ल (गोरु) र गाईसँग तुलना गरेका छन्। मासु खाने चाहना भए तापनि भालुको मासु खान हुन्न भन्ने सन्देश यस गीतले दिएको छ। अर्थात्, साम, दाम, दण्ड, भेदका नीति अपनाएर गरिने राजनीति भनेको फोहोरी खेल हो। यसका पछि लाग्नु हुन्न भन्ने नागरिकको आवाज हो यो– 

दार्मजिउलो बाझै रैग्यो चंखेली छायाले
घर बिग्य्रो घरबार बिग्य्रो राजनीति मायाले।

कुनै बेला १ रुपैयाँको नोटमा चंखेली हिमाल छापिएको थियो। मुगु जिल्लामा पर्ने उक्त हिमालको छायाले शीतलहरका कारण दार्मजिउलो (मलिलो खेत)मा लगाएको अन्नबाली नष्ट भएजस्तै राजनीतिक कारणले घरबार बिग्रियो भनेर माथिको गीतले प्रट्याएको छ।

समग्रमा भन्नुपर्दा, राजनीतिक देउडा गीतले सबैलाई आकर्षित त गर्छ नै। समाजका परिवर्तनकामी वर्गहरू राजनीतिबाटै जन्मिएका भए पनि राजनीतिमा भर हँुदैन। घर न घाटको बनाउने हुँदा कलाकारहरूले राजनीति क्षेत्रमा नलाग्दा राम्रो हुन्छ भन्ने सन्देश दिन खोजेका छन्, यी गीतले कयौं देउडा कलाकारलाई।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.