तरकारी बेच्दै, पढ्दै

तरकारी बेच्दै, पढ्दै
सुन्नुहोस्

विराटनगर : विराटनगर–११ स्थित जनपथ माविको कक्षा १० मा अध्ययनरत शिवशंकर साह पढाइमा अब्बल छन्। पढ्नमा मेहेनती, जेहेन्दार र लगनशील रहेका उनी आफ्नो पढाइ खर्च तरकारी बेचेरै जुटाउँछन्। दैनिक बिहान सडक पेटीमा तरकारी बेचेर आफूसँगै दुई भाइलाई समेत उनले पढाउने गरेका छन्। 

आफू पढ्ने विद्यालयमा नै भाइहरूलाई पढाउने गरेका उनले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई समेत सहयोग गर्ने गरेका छन्। उनी भन्छन्, ‘५ वर्षको उमेरमा बुवा गुमाउँदाको पीडाले सानैदेखि काम गर्न प्रेरित गरेको छ।’ दैनिक खाजा खर्च कटाएर र अन्य साथीहरूसँग मिलेर चन्दा उठाएर आर्थिक अवस्था कमजोर भएका साथीहरूलाई स्कुल ड्रेस, कापी र किताब किन्ने काम आफूले गर्दै आएको उनले बताए। विराटनगर ६ निवासी साहले बिहान ५ बजेदेखि नै तरकारी बेच्ने गर्छन््। ठेलामा तरकारीको बजार लगाएर उनी ९ बजेसम्म व्यापार गर्छन्।

आमा मिलु साह दीर्घरोगी भएकाले खाना पकाउने र भाइलाई पढ्न लगाएर आफू व्यापार गर्न जाने गरेको उनले सुनाए। बिहान तरकारी र स्कुलमा छुट्टी भएपछि बेलुका ४ बजेदेखि उनी वर्तनको थोक पसलमा काम गर्ने गरेका छन्। बुवा सञ्जित साहले गर्दै आएको काम बेलुका स्कुलबाट छुट्टी भएपछि गरेर घरव्यवहार चलाउने गरेको उनले बताए। पढाइमा अब्बल मानिने उनले तरकारीको व्यापारले पढाइ खर्च र भाडावर्तनको व्यापारले घर चल्ने बताए। स्कुल गएपछि आमाले थोक तरकारी बजारमा तरकारी किनेर घरमा राख्ने गरेको बताउँदै उनले भने, ‘बेलुका ठेलामा लोड गरेर बिहानैदेखि बेच्ने गरेको छु।’ 

आर्थिक अभावले गर्दा उनले कहिले पनि ट्युसन पढेका छैनन्। दैनिक स्कुलमा भएको पढाइको गृहकार्य तरकारी बेच्दै उनी गरिसक्छन्। भविष्यमा व्यापार र समाजसेवा गर्ने सोच रहेको उनले बताए। तरकारी बेचेर दैनिक २ देखि ४ सयसम्म कमाइ हुने गरेको उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.