दुईडुंगे राजनीति

दुईडुंगे राजनीति

हाम्रा नेताहरू भने हिजोको त्यो दुईजिबे्र राजनीतिको धङधङेबाट अझै बाहिर निस्कन सकेका छैनन्।

कुनै समय थियो जतिबेला आमनेपाली नागरिक इन्टरनेटको पहुँचमा थिएनन्। आजको जस्तो सबैको हातहातमा इन्टरनेट चलाउने स्मार्टफोन पनि थिएन। भूगोलको विकटता र त्यसलाई छिचोल्ने यातायातको अभाव भएकै कारण देशको सबै भूभागमा पत्रपत्रिका, रेडियो, टेलिभिजन जस्ता सूचनाका स्रोत पनि पर्याप्त थिएनन्। देशविदेशमा आज के भइरहेको छ भन्ने थाहा पाउन महिनांै मात्र होइन, कुनै बेला त वर्षौंसम्म पनि कुर्न पथ्र्यो।

सूचनाको कमीकै कारण सही र गलत छुट्ट्याउन सक्ने अवस्था अधिकांश नागरिकको थिएन। त्यसैले चुपचाप अरूको कुरा मान्नु वा पत्याउनुको विकल्प थिएन। राजनीतिक अज्ञानताले पराकाष्टा नाघेको थियो। देश एक प्रकारले ढुंगे युगमा थियोभन्दा फरक नपर्ला। तर, झुटको खेती गर्न बानी परेका हाम्रा राजनीतिकर्मीहरूलाई भने देशको त्यही दुरावस्था नै दुईजिब्रे राजनीति गर्ने मलिलो माटो भइदियो।

देशमा भर्खरै प्रजातन्त्र पुनस्र्थापना भएको थियो। यसले नागरिकमा नयाँ आशा र उमंग भरेको थियो। अब त देश समृद्ध होला र हाम्रा दुःखका दिन पनि जालान भन्ने विश्वास उनीहरूमा पलाएको थियो। यो विश्वास २०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसलाई प्राप्त बहुमतका रूपमा व्यक्त भएको पनि थियो। तर, नेताहरूमा दिन प्रतिदिन बढ्दै गएको सत्ता लिप्सा र व्यक्तिगत स्वार्थले जनविश्वासको कदर हुन सकेन। हिजो पञ्चायतविरुद्ध नारा घन्काउँदै गर्दा नागरिक सामु गरिएका प्रतिबद्धताहरू बहुदलपछि गुमनाम हुँदै गए। व्यक्ति त तिनै थिए तर जिब्रो फेरिएको थियो। हामी साथमा छौं त भन्दै थिए तर प्रतिपल नागरिकको माझबाट टाढा हुँदै थिए। विगतमा सँगै छाक काट्नेहरू वर्तमानमा एउटा राजा त अर्को रैतीमा परिणत हुँदै थिए।

प्रजातन्त्र पुनस्र्थापना भएको झन्डै दुई दशकपछि नेपाली नागरिकले फेरि एकपटक अर्को परिवर्तन देख्न पाए। २०६५ जेठ १५ गतेका दिन देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरियो। फेरि एकपटक नागरिकमा मरिसकेको आशा ब्युँझिएको थियो। सपनाहरू चलायमान भएका थिएँ। आफूले भोग्न नपाइसकेका तर ठूलो चर्चा कमाएर आएका नयाँ नेताहरूप्रति नागरिकको अपेक्षा पनि ठूलै थियो। हाम्रै चुलाचौकादेखि उठेर आएका हुनाले यिनले त पक्कै झुक्याउँदैनन् भन्नेमा उनीहरू विश्वस्त थिए।

दुर्भाग्य, खुला राजनीतिमा आउनुअघि नै नयाँ नेताहरू पनि जिब्रो चपाउन सिपालु भइसकेको नागरिकले पत्तो पाउनै सकेनन्। एउटै विषय र एजेन्डामा स्थानअनुसार फरक–फरक कुरा गर्ने पुराना नेताहरूको तकनीकी उनीहरू पनि पछ्याउँदै थिए। एकैदिन एकै जिल्लाको दुई तीन स्थानसम्म सम्बोधन गर्न भ्याउने उनीहरू ती सबै स्थानमा यो क्षेत्रको सम्पूर्ण अधिकार तपाईंहरूबाहेक अरूमा जानै सक्दैन भनेर घोषणा गरिदिन्थे। उनीहरू जहाँजहाँ जान्थे, त्यहाँत्यहाँ यो देशलाई खानेकुरा झैं भाग लगाउँदै जान्थे। उनीहरू जे बोल्थे, त्यसले नागरिक बीचमा मनमुटाव उत्पन्न गराउने विषको काम गथ्र्यो।

वर्षौंदेखि मिलेर बसेका नेपाली नागरिकलाई कैले के त कैले केको नाममा भिन्न देखाएर यो देशको राष्ट्रियता टुक्राटुक्रा पार्न उनीहरू सधैं लालायित भइरहे। यसरी नै नेताहरूको दोकान चल्दै गयो। तर, नागरिकमा भने यसले विस्तारै मतभिन्नता र विभिन्नताको झिल्को सल्काउँदै थियो। आज देशमा ७६.२ प्रतिशत नागरिक साक्षर छन्। कुल जनसंख्याको करिब ९३ प्रतिशत इन्टरनेटको पहुँचमा छन्। इन्टरनेटमा पनि सूचनाको द्रुत स्रोतका रूपमा चिनिएको फेसबुक प्रयोगकर्ता त्यति नै छ। यो सबैले नागरिकको चेतनास्तर धेरै माथि उठाइदिएको छ। अब नेपाली नागरिक तीन दशकअघि जस्तो कमजोर र निरीह छैनन्। राष्ट्रिय राजनीति भित्रको दाउपेच, चलखेल, झुटजस्ता भित्री कुरा बुझ्न अब नागरिकलाई गाह्रो छैन। कुनै नेता चाहे ती पुराना हुन् या नयाँ, उनीहरूको कृत्रिम मिठो बोलीमा अब उनीहरू लटपटिनेवाला छैनन्।

राष्ट्रिय राजनीतिभित्रको दाउपेच, चलखेल, झुटजस्ता भित्री कुरा बुझ्न अब नागरिकलाई गाह्रो छैन। कुनै नेता चाहे ती पुराना हुन् या नयाँ, उनीहरूको कृत्रिम मिठो बोलीमा अब उनीहरू लट्पटिनेवाला छैनन्।

आजका नागरिक राजनीतिक रूपमा सचेत नागरिक हुन्। तर, हाम्रा नेता भने हिजोको त्यो दुईजिबे्र राजनीतिको धङधङेबाट अझै बाहिर निस्कन सकेका छैनन्। अझै पनि नेताहरू हिजोको जस्तै आफ्नो द्वैध चरित्रबाट नागरिकलाई झुक्याउने कोसिस गरिरहेका छन्। उनीहरू अझै पनि नेपाली नागरिक सीधा छन्, जे भने पनि पत्याउँछन् भन्ने ठान्छन्। त्यही भएर होला स्वदेशमा गेरु वस्त्र र मूर्तिको विरोध गरी नथाक्नेहरू देश बाहिर त्यही गेरु र रुद्राक्षमा सजिएर मूर्ति अगाडि लम्पसारिन्छन्। कुनै समय संसद्मा ठूलो गडगडाहटका साथ चुच्चे नक्सा पारित गर्नेहरू त्यसको अन्तर्राष्ट्रिय मान्यता जुटाउने सवालमा आफैं स्खलित भइदिन्छन्। कुनै देशसँग गरिएको दुईपक्षीय सम्झौतामाथि पुनः गरिएको एकपक्षीय व्याख्यात्मक टिप्पणी नै सर्वमान्य हो भनी नागरिक झुक्याउनेहरू पनि यहाँ कमी छैनन्।

आज पनि नेता नागरिक अघि झुट बोलिरहन्छन्, नागरिक ताली पड्काइरहन्छन्। नेता विज्ञापन फलाकिरहन्छन्, नागरिक भाषण ठानिरहन्छन्। बडो दुःखका साथ भन्नुपर्छ आज एउटा नेपालीलाई आफ्नोभन्दा फरक अनुहार भएको अर्को नेपाली मन पर्दैन। कछाड बेर्नेलाई धोती मनपर्दैन, धोती बेर्नेलाई दौरा सुरुवाल मन पर्दैन। हिजो सँगै खैंजडी नाँच्नेहरूको आज गहिरो छुटानाम भएको छ। मादल बजाउने र च्याब्रुङ बजाउनेको मित्रता टुटेको छ। ढोलक र धिमेको सुर जति कसे पनि मिल्न छाडेको छ। यसैको विस्तारका रूपमा आज देशमा हरेक जात र थरभित्र आआफ्नै हित समूहहरू खोल्ने प्रतिस्पर्धा चलिराखेको छ। यसले नेपाली–नेपाली बीचमा अझ फाटो ल्याउने हो कि भन्ने शंकालाई कुनै हालतमा नकार्न सकिँदैन। राष्ट्रिय एकता र अखण्डताका लागि त झन् यो शुभ संकेत हुँदै होइन।

जनजन बीचको यो तिक्तताको प्रमुख कारण त नेपाली राजनीतिलाई अगुवाइ गर्ने हाम्रै नेताहरूको निजी स्वार्थ र दोहोरो चरित्र नै हैन र ? संसारमा हर एक मानिस दोस्रोभन्दा भिन्न छ। हर एक जात अर्कोभन्दा फरक छ। हर लिंग आफैंमा विशिष्ट छ। फरक वा भिन्नता लौकिक विषय हुँदै होइन। यो त मानिसको हैसियतभन्दा परको प्राकृतिक विशेषता हो। तर, यही प्राकृतिक भिन्नतालाई नै मुद्दा बनाएर नागरिक बीचको भावनात्मक सम्बन्धमा खेल्न खोज्ने दुईजिब्रे प्रवृत्तिचाहिँ अत्यन्त गलत हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.