बालिका यौनदुराचार अभियोगमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ
सङ्खुवासभा : जिल्लाको पाँचखपन नगरपालिका–६ मा रहेको वाना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द श्रेष्ठ बाल यौनदुराचार आरोपमा पक्राउ परेका छन्।
व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठले ८ वर्षीया बालिकालाई अश्लील भिडियो देखाई यौनदुराचार गरेको अभियोगमा पक्राउ गरी थप अनुसन्धानका लागि म्याद थपका गर्न सोमबार जिल्ला अदालत लगिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक अशोक जगेबुले जानकारी दिए।
गत असारकै घटना भए पनि आफन्तमार्फत् घटना बाहिरिएको थियो। उक्त घटना आर्थिक लेनदेन पछि मिलापत्र गरेको घटना अन्नपूर्ण पोस्टमा प्रकाशन भएपछि प्रहरीले घटनाको छानविन सुरु गरेको थियो। गत असारको घटना भए पनि स्थानीयस्तरमै मिलापत्र गरेपछि घटना प्रहरीसम्म पुग्न सकेको थिएन।
अभियुक्त श्रेष्ठको घटना बाहिर सार्वजनिक नगर्न आर्थिक प्रलोभन देखाई दवाव दिएपछि गाउँमा नै घटना ढाकछोप गरिएको स्थानीय बताउँछन्। बालिका यौनदुराचारमा पक्राउ परेका श्रेष्ठलाई म्याद पछि थप अनुसन्धान गरिने प्रहरी निरीक्षक जगेबुले जानकारी दिए। पीडित पक्षको उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।