संखुवासभा कैदी मृत्यु प्रकरण : हत्याको ६ दिनपछि आफन्तले शव बुझे

संखुवासभा कैदी मृत्यु प्रकरण : हत्याको ६ दिनपछि आफन्तले शव बुझे
जिल्ला कारागार संखुवासभा। तस्बिर : अनिष विष्ट।

खाँदबारी : सुरक्षा घेराभित्र कुटपिटबाट मृत्यु भएका कैदीको शव आफन्तले बुझेका छन्। घटनमा संलग्नलाई सार्वजनिक गरेपछि मात्र शव बुझ्ने अडानमा रहेका पीडित परिवार न्याय पाउने झिनो आशा बोकेर घर फकिएका हुन्।

संखुवासभाको मादी नगरपालिका–५ का विनोद तोलाङ्गीको शव मादी नगरपालिकामा लगेर दाहसंस्कार गरिएको छ। नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको शव भने खाँदबारी नगरपालिका–९ मनकामना घाटमा दाहासंस्कार गरेर पीडित परिवार नुवाकोट फर्किका छन्। 

न्यायको आशमा रहेकी मृतककी दिदी भिमा रम्तेल ६ दिनसम्म पनि घटनामा संलग्नलाई सार्वजनिक नगरेको भन्दै दुःखी छन्। रम्तेल भन्छिन्,‘प्रहरी सुरक्षा घेराभित्रै भाइको हत्या भएको ६ दिन बित्यो, हत्यामा संलग्न पक्राउ पर्न सकेन। कसरी न्यायको अपेक्षा गर्नु ? विभिन्न थरीका छानविन समिति के का लागि ? हामीले न्याय र क्षतिपूर्ति कहिले पाउने ?' 

उनले थपिन्, 'अब हामी भाइको काजकिरियाका लागि घर जाँदै छौं। न्यायको आशा भने मरेको छैन। घटना भएको ५ दिनसम्म पनि दोषीलाई सार्वजनिक नगर्नुले छानबिन समिति र प्रहरी प्रशासनको चरम लापरबाही देखिएको छ।' 

मृतक बलामीका दाजु रमेश भन्छन्, ‘भाइ आफ्नै गाउँ लगेर दाहासंस्कार गर्ने इच्छा हुँदाहुँदै पनि भाइलाई गाउँ लैजान सकिएन। आफैँ घर जाने खर्च नभएको बेला भाइको शव लाने कुरै भएन। अब हामीलाई न्यायको चाहिएको छ तर यहाँ बसेर न्यायका लागि लड्ने क्षमता समेत नभएका कारण घर फर्कनु परेको छ।' 

प्रहरीले घटनामा संलग्न रहेको आशंकमा १० जना प्रहरीलाई नियन्त्रणमा लिए पनि प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलाई जिल्ला अदालतबाट म्याद थप गरिएको छ। त्यसै किटानी जाहेरीकै आधारमा कारागार प्रमुख राजेन्द्र घिमिरेको नाममा पक्राउ अनुमती लिइएको छ। पक्राउ परेका प्रहरी चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी विरेन्द्र गोदारले बताए। उनीसँगको बयानका आधारमा अन्य दोषीहरु अनुसन्धानको दायरा आउने उनको भनाइ छ। अनुसन्धानमा रहेकाहरु अदालति प्रकृयामा रहेकाले चाँडै दोषी सार्वजनिक गरिने डिएसपी गोदारले बताए। 

शनिबार किटानी जाहेरीपछि शवको पोस्टमार्टम भएको थियो। घटनामा संलग्लाई सार्वजनिक नगरेको भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन्। किटानी जाहेरीका आधारमा आइतबार प्रहरीले कारागारमा रहेका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी र कारागार प्रमुख राजेन्द्र घिमिरेको नाममा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको हो।

कारागारका निमित्त प्रमुख घिमिरे र असई चौधरीको नाम सार्वजनिक गरेपछि सोमबार शव बुझेका हुन्। घटनामा संलग्न सबैलाई कारवाही गर्ने आश्वासन सुरक्षा निकायबाट प्राप्त गरेपछि ६ दिनपछि आफन्तले शव बुझेका हुन्।  

जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले घटनाको छानबिनका लागि न्यायिक समिति बनाउनुपर्ने माग राखेर बिहीबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई लिखित आग्रह नै गरेका थिए। सरकारबाट न्यायिक समिति गठन गरी घटनालाई निष्पक्ष छानबिन गरी गम्भीरतापूर्वक तार्किक निष्कर्षमा पुर्‍याउन अनुरोध गरिएको शाक्यले बताए। पीडित पक्ष र राजनीतिक दलको आग्रहका आधारमा न्यायिक समितिको माग गरिएको उनको भनाइ छ। ‘विभिन्न छानबिन र अनुसन्धानप्रति पीडित पक्ष विश्वस्त हुन नसकेकाले अलग्गै न्यायिक छानबिनको माग गरिएको हो,’ शाक्य भन्छन्, ‘तर, सरकारले अहिलेसम्म चासो देखाएन।’

नेपाल सरकारका पूर्वसहसचिव एवं अधिवक्ता शेरबहादुर ढुंगाना अहिलेसम्म बनेका कुनै पनि समितिलाई फौजदारी मुद्दा सम्बद्ध कानुनले नचिन्ने बताउँछन्। मन्त्रीपरिषद्ले पूर्वन्यायाधीशको नेतृत्वमा बनाउने समिति मात्रै अधिकारिक हुने उनको भनाइ छ। उनले २४ घण्टा नै सुरक्षा प्रदान हुने कारागार अर्थात नेपाल सरकारको कार्यालयभित्र सरकारकै नियन्त्रणमा भएको घटना मुलुकी अपराध संहिता २०७४ अन्तर्गतको फौजदारी कसुर बन्ने बताए। कर्तव्य ज्यान मुद्दा फैजदारी कसुरका रूपमा अदालत प्रवेश गर्ने भएकाले छानबिनका लागि न्यायिक समितिबाहेक अरु छानबिनको अर्थ नहुने ढुंगानाको भनाइ छ। 

घटना हुँदा निमित्त जेलर काजमा

पीडितका तर्फबाट निमित्त जेलर राजेन्द्र घिमिरेविरुद्ध किटानी जाहेरी परेको छ। तर, घटना भएका समयमा उनी काजमा बसेको खुलेको छ। त्यो समयमा सहायक कम्प्युटर अप्रेटर इन्द्रनारायण यादवले निमित्तको जिम्मेवारी पाएका थिए। प्रजिअसँग स्वीकृति लिएरै साउन १७ देखि २३ गतेसम्मका लागि आफू काजमा काठमाडौं गएको घिमिरेले बताए। 

‘म ६ दिनका लागि काजमा थिएँ। अफिसकै काम लिएर काठमाडौं गएको हुँ,’ उनले भने, ‘कारागार विभाग र गृह मन्त्रालय पुगें। म काजमा बसेकै बेला घटना भएको हो।’ साउन २४ गते बुधबार बिहान १० बजे उनी कार्यालयमा हाजिर हुने तयारीमा थिए। तर, बिहानका राति नै घटना भयो। ‘घटना हुँदा म काठमाडौंबाट आइसकेको थिएँ। खाँदबारीस्थित घरमै सुतिरहेको थिएँ। राति नै कैदी भाग्न खोजेको जानकारी आयो,’ घिमिरे भन्छन्, ‘तत्काल प्रजिअ र प्रहरी प्रमुखलाई जानकारी गराउन निर्देशन दिएँ। भाग्न खोजेकालाई भित्र राखियो भनेपछि राति कारागार गइनँ। बिहान पुग्दा अस्पताल लैजान भनेर दुई जनालाई सिकिस्त अवस्थामा बाहिर निकाल्दै गरेको देखेको हुँ।’ 

कार्यालयमा हाजिर नभए पनि मानवीय हिसाबले कैदीको उपचारमा भने सक्दो सहयोग गरेको उनी बताउँछन्। काजमा बसेका बेला घटना हुँदा पनि आफूलाई ओरोप लगाएको गुनासो उनले पोखे। ‘अफिसकै कामले काजमा बसेको म हाजिर हुन नपाइकन घटना भएको छ। तर, पनि मैले गर्नुपर्ने सबै भूमिका निर्वाह गरें,’ घिमिरेले भने, ‘उल्टै मविरुद्ध जाहेरी परेको छभन्ने सुनें। म निर्दोश छु।’ 

कारागारका कैदीबन्दीले आइतबार घटनामा कारागार प्रशासनको कुनै कमजोरी नरहेको निवेदन प्रजिअलाई दिएका छन्। निवेदनमा ८८ जना कैदीबन्दीको हस्ताक्षर छ। उनीहरुले कर्मचारीमाथिको आरोप फिर्ता लिएर कारागारको बाहिरी प्रशासन सुचारु गराइदिन पनि प्रजिअसँग माग राखेका छन्। 

डीएसपी गोदारले पनि घटनामा निमित्त जेलर घिमिरेको दोष नरहेको भनेर पीडितलाई सम्झाउने प्रयास गरिएको बताए। ‘उहाँ काजमा हुनुहुँदो रहेछ। त्यो कुरा पीडितलाई भनियो,’ गोदार भन्छन्, ‘तर, पीडितले नमानेपछि हाम्रो केही लागेन। जाहेरी परेपछि सुक्ष्म रूपले अनुसन्धान गरिरहेका छौं।’ 

कार्यालयमा अनुपस्थित रहेका निमित्त कारागार प्रशासक राजेन्द्र घिमिरे समेतलाई पीडित पक्षबाट निकानी जाहेरी गरी कानुनी कार्यवाहीका लागि माग गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जिल्लाका चार कर्मचारी संगठनहरुले विज्ञप्ती मार्फत जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.