स्वकीय सचिवको विवादले गोरखा नगर कार्यपालिकाको बैठक स्थगित

स्वकीय सचिवको विवादले  गोरखा नगर कार्यपालिकाको बैठक स्थगित

गोरखा : मेयरका स्वकीय सचिवसम्बन्धी विवादका कारण लामो समयदेखि हुन नसकेको गोरखा नगर कार्यपालिकाको बैठक बिहीबार पनि एजेण्डामै प्रवेश नगरी स्थगित भएको छ । मेयर कृष्ण रानाका स्वकीय सचिव अनिस अर्याल(ज्याक) को करार अवधि थप गर्न नहुने प्रस्ताव उपमेयरसहित बहुमत कार्यपालिका सदस्यले बैठकको सुरुमै राखेपछि त्यहाँबाट अघि बढ्नै नसकी बैठक स्थगित भएको हो ।

स्वकीय सचिव अर्यालले कार्यालयभित्र र बाहिर पनि बारम्बार ‘दादागिरी’ गरेकाले काम गर्न नसक्ने कर्मचारीहरुले गुनासो गरेपछि उनीहरुले करार भंग गर्न माग गरेका थिए  । बिहीबार बोलाइएको बैठकमा छलफलका लागि आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम र १२ औँ नगरसभा,नीति तथा कार्यक्रम तयारमा बिज्ञहरुको परामर्श, पृथ्वी जयन्तीको खर्च भुक्तानी, बजेट रकमान्तरणलगायतका आठ एजेण्डा तय गरिएको थियो । 

समकालिन घटनालाई पहिले छलफल गर्नुपर्ने माग राख्दै कार्यपालिका बहुमत सदस्यले स्वकीय सचिवको काम,कर्तव्य र अधिकारबारे जानकारी गराउन भनेपछि मेयरले बैठक स्थगित गरेको उपमेयर मसलीमाया थोकरले बताइन् ।

‘स्वकीय सचिवको करार सम्झौतामा उहाँको क्षेत्राधिकार र काम कर्तव्य के छ,त्यो ल्याएर सुनाउनुहोस् भन्यौं’,उनले भनिन्, ‘तर उहाँले स्वकीय सचिवको क्षेत्राधिकारबारे तपाईंहरूलाई जान्न आवश्यक छैन, यो कुरा सामान्य भइसक्यो, यसलाई ठूलो नबनाम् भन्नुभयो ।’ 

छलफलको माध्यमबाट सो विषयको निकास ननिकालेसम्म अर्को एजेण्डामा नजाने अडान लिएपछि मेयरले बैठक स्थगित गरेको उनले जानकारी दिइन् । एक नम्बरको एजेण्डाको विषय समीक्षा रहेपनि मेयर सो विषयमा प्रवेश गर्न नखोजेको वडा नम्बर २ का अध्यक्ष एवं कार्यपालिका सदस्य रहमतुल्ला मियाले बताए । 

‘यसअघिको बैठकमा सधै समीक्षा भन्ने विषयमा छलफल हुन्थ्यो तर आज मेयरले समीक्षा राख्न उपयुक्त लागेन यसलाई नराख्ने भन्दै अघि बढ्न खोज्नुभयो’,उनले भने,‘हामीले स्वकीय सचिवको अधिकार र कामबारे जानकारी गराउनुपर्छ भन्दा बैठक स्थगित भयो भन्दै उठेर हिड्नुभयो ।’

मेयर कृष्ण रानाले उहाँहरू अरु एजेण्डामा प्रवेश गर्न नचाहेपछि बैठक स्थगित गरेको बताए । ‘स्वकीय सचिव र कर्मचारी बीचको टसमसको विषयलाई छिनोफानो गरेर जानुपर्छ भनेर उहाँहरुले भन्नुभयो, मैले त्यो क्लिअर भइसक्यो,कर्मचारीहरू काममा फर्किसक्नुभयो, अब त्यो कुरा नगरौं अरु एजेण्डामा जाउँभन्दा उहाँहरू मान्नुभएन, अनि बैठक स्थगित गरेँ,'उनले भने । छिट्टै अर्को बैठक बोलाउने उनले आश्वासन समेत दिएका छन् ।

मेयर रानाका स्वकीय सचिव अनिष अर्यालले केही दिनअघि शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्कालाई दुव्र्यवहार गरेको, अरु शाखाका कर्मचारीहरुलाई पनि बारम्बार काममा दबाब सिर्जना गर्ने गरेको, द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि नगरपालिकाकै मोटरसाइकल चढेर गई हातपात गरेको हुँदा त्यस्ता स्वकीय सचिव राख्न नहुने उपमेयरसहित,बहुमत कार्यपालिका सदस्यहरुले माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.