मनाङको लगातार सातौं बराबरी

काठमाडौं : चर्च ब्वाइज युनाइटेडसँग बिहीबार गोलविहीन खेलेसँगै मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगका सातौं खेलमा बराबरीमा अल्झिएको छ।
च्यासल रंगशालामा भएको खेलमा दुवै टिमले गोलका लागि अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा खेल बराबरीमा सकिएको हो।
पछिल्लो पटक विभागीय टिम एपीएफसँग मनाङ २–२ गोलको बराबरी खेलेको थियो।
मनाङले १४औं चरणमा त्रिभुवन आर्मी क्लबविरुद्ध ०–१ गोलको जित निकालेको थियो। त्यसयता यो सातौं बराबरी हो।
त्यो जितअघि मनाङ लगातार ६ खेलमा पराजित भएको थियो। खराब लयबाट गुज्रिरहेको मनाङ २१ खेलबाट २५ अंक जोडेर लिग तालिकाको ११औं स्थानमा झरेको छ। समान खेलबाट ३८ अंक जोडेको चर्च ब्वाइज शीर्ष स्थानमा छ।
दोस्रो स्थानको मछिन्द्र क्लबको पनि समान २१ खेलबाट ३५ अंक छ।
प्रतिक्रिया दिनुहोस !
४
