सक्कली भुटानी शरणार्थीसँगै छैन परिचयपत्र

सक्कली भुटानी शरणार्थीसँगै छैन परिचयपत्र
बेलडाँगीका मधुलाल चापागाईंले परिचयपत्रका आवेदन भरेको दर्ता पत्र देखाउँदै।
सुन्नुहोस्

झापा : दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगी २ सेक्टर सी ४ घर नम्बर ८५ का ५५ वर्षीय मधुलाल चापागाईं शरणार्थी शिविरमा आएको ३० वर्ष भयो। चापागाईंले शरणार्थीको परिचयपत्र प्राप्तिका लागि सन् २००७ मा १२ जनाको परिवारसँगै फोटो खिचाए। ११ जनाले परिचयपत्र प्राप्त गरे र तेस्रो मुलुक पुगे। तर, छानबिनमा रहेको भन्दै चापागाईंले अझै पनि शरणार्थीको परिचय पाउन सकेको छैन। 

मधुलालजस्तै शिविरमा कतिपय शरणार्थीहरूको परिचयपत्र अझै बनेको छैन। परिचयपत्रविहीन भएर उनीहरू शिविरभित्रै कष्टकर जीवन बिताउन बाध्य छन्। परिचयपत्र प्राप्तिका लागि हामीले बराबर सरकारसँग हारगुहार गर्‍र्यौं। ‘तर, आजसम्म हाम्रो मागको सुनुवाइ कहीँ कतैबाट भएन, शिविरमै बस्न बाध्य भयौं,’ चापागाईंले भने, ‘व्यक्तिले एक्लै निवेदन लिएर जाँदा सम्बन्धित निकायले एक्लैको हुँदैन भनी फर्काई पठाउँछ,’ उनले भने, ‘समूह बनाएर जाँदा पनि परिचयपत्र पाएनौं।’ परिचयपत्र प्राप्तिका लागि गरिएको दर्ता नम्बरसहितको पत्र अझै पनि उनीसँग सुरक्षित छ। 

यस्तो अवस्थामा सरकारको नेतृत्व गर्ने उच्च तहका व्यक्ति नै सक्कली भुटानी शरणार्थीको नाम बेचेर नक्कलीलाई तेस्रो मुलुक पठाउने घटनामा लागेकोले त्यस्ता व्यक्तिहरूलाई कानुनबमोजिम कारबाही गरी समस्यामा परेकालाई सहयोग गर्न उनीहरूले सरकारसमक्ष मागसमेत राखेका छन्। भुटानले नेपालमा अब भुटानी छैनन् भनेर गरिरहेको दाबीलाई हालै बाहिरिएको नक्कली शरणार्थी भ्रष्टाचारको प्रकरणले सक्कली शरणार्थी थप समस्या परेको देखिन्छ। 

खडानन्द भण्डारी २००८ सालदेखि शिविरमा बस्दै आएका छन्। उनका बुबा र आमाको शिविरमै निधन भयो। तर, उनी अझै पनि तेस्रो मुलुक जान पाएनन्। परिचयपत्र नबन्दा उनी निराशा छन्। ‘काम गर्न बाहिर जान पाइँदैन। काँकडभिट्टा बोर्डर कटेर भारत छिर्ने आदेश पनि छैन,’ उनले भने, ‘अब शिविर नै एक मात्र सहारा बन्यो। यही मर्नुबाहेक अन्य विकल्प रहेन।’ परिवारका सदस्य विदेश पुगिसके। ढिलो चाँडो विदेश गइन्छ कि भनेर मन थामेर बसेको उनी सुनाउँछन्। नक्कली शरणार्थी प्रकरणको घटना सुन्दा त्यहाँ बसेकाहरूको अब के होला भनेर चिन्तित बनेको उनको भनाइ छ। 

शिविर सेक्टर सी ३ घर नम्बर ३६९ ए का विजय सुनारको परिवार पनि विदेशी पुगिसकेका छन्। २००७ सालमा परिचयपत्रका आवेदन भरेका उनले अझै परिचयपत्र पाउन नसकेको गुनासो पोखे। परिचयपत्र नपाउँदा वर्षौंदेखि पीडित रहेको बताउँदै उनले भने, ‘भोलि कही कतै भइहाल्यो भने हाम्रो परिचयको कुनै आधार प्रमाण नै छैन कि शरणार्थी हुँ भनेर र।’ 

दोषीलाई कारबाही गर्न माग

भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै तत्काल नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कडा कारबाही गर्दै सक्कली भुटानीहरूको समस्या समाधानमा सहयोग गर्न सरकार समक्ष चारबुँदे माग अघि सारेका छन्।

सोमबार समितिका कार्यवाहक अध्यक्ष तिलक राईले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालै नक्कली भुटानी बनाएर तेस्रो मुलुक लैजान ठूलो धनराशिको भ्रष्टाचार मुद्दामा नेपाली नागरिकदेखि उच्च तहका कर्मचारी र पूर्वमन्त्रीहरूसमेत गिरफ्तार भइसकेको घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ। नेपालस्थित भुटानी शरणार्थी शिविरमा भुटानीहरू नभएको भुटान सरकाको आरोपलाई पुष्टि हुने गरी सतहमा आएको नक्कली भुटानी शरणार्थी प्रकरणले हामी खाँटी भुटानीहरूलाई गम्भीर असर पुर्‍याएको छ। यस कार्यप्रति हाम्रो संगठन घोर भत्र्सना गर्छ।’

स्वदेश फिर्ती र परिवारको मिलनको आशामा जीवन बिताइरहेका साढे ६ हजार भुटानी शरणार्थीहरू र सक्कली तर पञ्जीकृत हुन बाँकी भुटानीहरूको हितलाई ध्यानमा राख्दै शरणार्थी परिचयपत्र नवीकरण गरेको आठ महिनाभन्दा बढी भइसक्दा पनि सबैले नयाँ परिचयपत्र पाएका छैनन्। नवीकरण भएको परिचयपत्र वितरणमा चरम ढिलासुस्ती गरिएकोले खाटी भुटानीहरू परिचयपत्रविहीन हुने अवस्था सिर्जना भएको छ। सम्बन्धित निकायको यस्तो कार्यले गैरभुटानीलाई भुटानी र खाँटीलाई भुटानीलाई गैरभुटानी बनाउन सक्ने गम्भीर आशंका पैदा गरेको छ। तसर्थ नवीकरण भएर पनि रोक्का गरिएको शरणार्थी परिचयपत्र अविलम्ब वितरण गर्न विज्ञप्तिमा माग गरिएको छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.