लकडाउनमा अर्ग्यानिक फिल्म

लकडाउनमा अर्ग्यानिक फिल्म

काठमाडौं : विश्वभर फैलिएको कोभिड- १९ को त्रासले नेपालमा लकडाउन गरिएको दुई महिना पुग्न लाग्यो। साहित्य कला र मनोरञ्जन क्षेत्र पनि ठप्प प्रायः छन्। घरभित्रै बसेर केही गायक, गायिका, कलाकार, संगीतकार, चित्रकार तथा मूर्तिकारहरूले सामाजिक सञ्जालमार्फत आफ्ना सिर्जना दर्शक श्रोतामा पुर्‍याइरहेका छन्।

प्रायजसो सुटिङ भन्नासाथ क्यामरा, सिन, स्क्रिप्ट, कलाकारको टोली, निर्देशकलगायतको तामझाम मस्तिष्कमा आउने गर्छ। घरबाहिरको रमणीय वातावरण अनि नायकनायिकाको चमकधमक स्मरण गरिन्छ। तर लकडाउनको समयको उपयोग गर्दै केही सर्जकहरूले फरक तरिकाले सर्ट फिल्म निर्माण गरेर आफ्ना दर्शकलाई मनोरञ्जन दिइरहेका छन्।

कलाकार तथा निर्देशक जो जहाँ छन् त्यहीँबाट भिडियो खिचेर सर्ट मुभी निर्माण गरी सामाजिक सञ्जालमार्फत दर्शकमाझ पुर्‍याउन केही सर्जक लागिपरेका छन् भने केही चाहिँ आफ्नो नजिक भेटिएका कलाकार जम्मा भएर भिडियो निर्माण गरिरहेका छन्।

कलाकार सन्दीप क्षेत्रीले लकडाउन शीर्षकको लघुचलचित्र निर्माण गरेका छन्। अहिलेको समयमा सामाजिक दूरी कायम गरांै तर भावनात्मक होइन भन्दै आठजना कलाकार मिलेर यो भिडियो तयार पारेका हुन्। चकचके स्वभावका सन्दीप लकडाउनले लामो समय घरभित्रै बस्नु परेपछि खुब छट्पटिए। बाहिर हिँडिराख्नुपर्ने, साथी सर्कलमा रमाइलो गरिराख्नुपर्ने सन्दीपलाई घरमा निस्सासिए जस्तै भयो। भन्छन्, ‘व्यस्तताले घरमा दुई छाक खाना नखाएको निकै भइसकेको थियो। घरमै बसे पनि सबै परिवारका सदस्यलाई भेट्न भ्याइरहेको हुन्नथे। तर अहिले बिहान उठेदेखि साँझसम्म घरमा बस्न मलाई खुब गाह्रो भइराथ्यो। मेरो जस्तै पीडा अरूको पनि हुँदो हो भन्ने सोचेर भिडियो बनाउने योजना बनाए।

कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर्मल शर्मा, सञ्जय श्रेष्ठ, दीपा श्री निरौला, दीपकराज गिरी, किरण केसीलगायतसँग सन्दीपले टेलिफोन वार्ता गरे र आफ्नो योजना सुनाए। सबैजना उत्साहित भए। कसरी राम्रो बनाउने भन्ने विषयमा सल्लाह गरे। हरेकले आफूसँग भएको मोबाइलबाटै भिडियो बनाउने सहमति गरे। हरेक कलाकार घरमा भएको र देख्दा अर्ग्यानिक पनि देखिनुपर्ने दबाब थियो। सन्दीपले स्क्रिप्ट लेखे र कलाकारलाई उनीहरूको भागको स्क्रिप्ट पठाइदिए। फिल्म हेर्दा सबै कलाकार एउटै परिवारका जस्ता देखिन्छन्। हरेक कलाकारले आआफ्नो घरबाट खिचेर पठाएको भिडियो क्लिप जोडेर यो सर्ट फिल्म तयार पारिएको हो। फिल्म हेर्दा सबै एउटै घरमा बसेर खिचिएको जस्तो महसुुस हुन्छ। काका, दाइ, दिदीलगायतका घरेलु नाता सम्बोधन गरिएको मिठो फिल्म बनेको छ।

लकडाउनमा घरभित्रै थुनिएका सन्दीपले केही हप्ताअघि आएको अभिताभ बच्चनको लकडाउन भिडियो हेरेका थिए। त्यसपछि आफूहरूले पनि केही गर्नुपर्छ भन्ने सोच आयो। फरक ठाउँमा बसेर पनि भिडियो बनाउन सकिने रहेछ भन्ने लाग्यो। त्यसपछि यसको तयारीमा लागेका थिए उनी। सबैलाई घरभित्र बस्न सल्लाह दिने उद्देश्यले सन्देशमूलक भिडियो आवश्यक रहेको ठान्दै उनले त्यसमा आफ्नै छट्पटी मिसाएका हुन्। केही दिनअघि युट्युबमा अपलोड भएको यो भिडियो दर्शकले मन पराए। घरमै बसेर पनि केही न केही गर्न सकिन्छ भनेर आफूले यस्तो फिल्मको परिकल्पना गरेको उनले बताए। यस्तै श्रमिकको पीडा बोकेको सर्ट फिल्म ‘मे वान’ पनि यसैगरी निर्माण गरिएको हो। मे दिवसमा यो फिल्म युट्युबमा सार्वजनिक भएको हो। कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले लागू गरेको लकडाउनले सबैभन्दा मारमा परेका  श्रमिकको कथा यो फिल्ममा उठाइएको छ।

मे वानमा दीपज्योति थापा, अनितजंग पाण्डे, विराज दुलाल र भोला सुवेदीको अभिनय छ। हरेक क्षेत्रमा श्रमशोषण हुने गरेको भन्दै सांकेतिक रूपमा एउटा पात्रलाई र कथा लिएर मे वान निर्माण गरिएको निर्देशक पुरुषोत्तम बस्नेतले बताए।

यस्तै बल्छी ध्रुवे नामक युट्युत्र च्यानलबाट लकडाउन शीर्षककै २० मिनेटको लघुचलचित्र निर्माण भएको छ। यसलाई विभिन्न १० भागमा समावेश गरिएको छ। चलचित्रमा लामो समय घरबस्दा अनलाइन पढाउनुपर्ने बाध्यता, घरभेटीको किचकिच र बल्छी ध्रुवेको तनाव समेटिएको छ। समय धेरै भएर छट्पटिएको ऊ समय कटाउन अनेक नौटंकी गरिरहन्छ। यसमा मरिचमान श्रेष्ठ ‘बल्छी धुवे’, उज्ज्वल खड्का, शान्ता खनालको र करुणा खड्काको अभिनय छ। यसलाई बल्छी धु्रवेले नै निर्देशन गरेका छन्।

यस्तै कमेडी सिरियल गोलमाल म्याकुरी पनि निर्माण भइरहेको छ। लकडाउन शीर्षकमै यस पटकको शृंखला बनेको हो। यो कमेडी सिरियलमा युवायुवतीको माया पिरतीलाई व्यंग्यात्मक तरिकाले प्रस्तुत गरिएको छ। नेत्र राउतको निर्देशनमा शिवहरि आचार्य, शम्भु थापा, पवन खतिवडा, सरोज घिमिरेलगायतको अभिनय छ।

युवायुवतीमा निकै मन पराइएको ‘आजकलको लभ’ शीर्षकको कमेडी सिरियल पनि सीमित कलाकार मिलेर निर्माण गरिएको हो। लकडाउन जिन्दगी शीर्षकको कमेडी शृंखलामा जिवेश सिंह गुरुङ, सुनिशा बजगाईं, जीवी किरण, सुशीला बस्नेतको अभिनय छ। जिवेशसिंह गुरुङको परिकल्पना, निर्देशनमा निर्माण गरिएको यो शृंखला सिर्जन शाह र शैलेन्द्र बस्नेतले निर्माण गरेका हुन्। आफूले मन पराएको मान्छेसँग भागेर बिहे गरेकी सुनिशा आमा बिरामी भएको खबर पाएपछि गाउँबाट हिँडेर माइत आएकी छ। पहिलोपटक माइत आउँदा उसले भोग्नुपरेका समस्या र माइतीको षड्यन्त्रमा कसरी ऊ फस्छे यो शृंखलामा देखाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.