सुनवलमा आयोजनाका नाउँमा नदीजन्य पदार्थको जथाभावी बिक्री
परासी : नवलपरासीको सुनवल नगरपालिकास्थित भूमही खोलाबाट मापदण्डविपरीत नदीजन्य पदार्थको जथाभावी उत्खनन् र बिक्री गर्ने गरेको पाइएको छ । आयोजनाका नाउँमा निकालिएका नदीजन्य पदार्थ अन्यन्त्र बिक्री हुनुका साथै मापदण्डविपरीत उत्खनन् र संकलन गरेको गुनासो बढेपछि जिल्ला अनुगमन समितिले नदीजन्य पदार्थ निकाल्नमा रोकसमेत लगाएको छ ।
नगरपालिकाले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाका लागि भूमही खोलाको नदीजन्य पदार्थ निकाल्न आशिष–क्षेमादेवी बुद्ध हिमाली जेवीलाई ठेक्का दिएको हो । अनुगमनका क्रममा उत्खनन् र संकलनका लागि स्वीकृत विधि प्रकृया र परिमाण सम्बन्धीको व्यवस्थाको पालना नगरेकाले नगरपालिकालाई पत्र पठाएर दुई दिनका लागि उत्खनन् र ढुवानीमा रोक लगाइएको जिल्ला अनुगमन समितिका संयोजक एंव जिल्ला समन्वय समितिका प्रमुख भगौतीप्रसाद यादवले जानकारी दिए ।
नदीजन्य पदार्थ निकाल्दा कम्पनीले वन क्षेत्रको स्थान र ठूला खाल्डा खनेर खोलालाई नै असर गर्ने गरी निकालेको पाइएको हो । नदीजन्य पदार्थ निकालेपछि त्यसको परिमाणको विवरण कम्पनीले रसिद काटेर राख्दै आएको छ । तर, नगरपालिकाले उपलब्ध गराएको रसिदमा परिमाण थोरै देखाएर अन्यन्त्र नदीजन्य पदार्थ पठाउने गरेको खुलेको हो ।
‘रसिदमा ७ वटा गाडी देखाइएको छ । तर, त्यहाँ रहेका नगर प्रहरीले गन्दा १० वटा गाडी देखियो । अन्यन्त्र ३ वटा गाडीको नदीजन्य पदार्थ कहाँ गयो ?’, जिसस प्रमुख यादवले भने । रसिद नकाटी पठाइएका गाडीका नदीजन्य पदार्थ अन्यन्त्र बिक्री गर्ने गरेको बताइएको छ । कम्पनीले मापदण्डविपरीत वन क्षेत्रको केही स्थानमा पनि उत्खनन् गरेको पाइएको डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत रविन्द्रनाथ चौधरीले बताए । ‘खोलामा धेरै गहिरो हुने गरी नदीजन्य पदार्थ निकालेको देखियो । त्यसमा वन क्षेत्रबाट पनि निकालेको पाइएको छ ,’ अनुगमनमा गएका वन अधिकृत चौधरीले भने ।
मापदण्डविपरीत उत्खनन्, संकलन तथा बिक्री गर्ने गरेको भन्दै नदीजन्य पदार्थको ढुवानीमा अनुगमन समितिले रोक लगाएपछि त्यसको परिमाण नाप जाँच गरिएको नगरपालिकाकी प्रमुख विमला अर्यालले बताइन् । ‘पत्रपछि हामीले परिमाण नाप जाँच गर्यौं । अझ केही घनमिटर कम्पनीले लैजान बाँकी रहेको देखिएको छ । धेरै परिमाण लैजान नदिनका लागि नगर प्रहरीलाई समेत परिचालन गरिएको छ ’, अर्यालले भनिन् ।
कम्पनीले विमानस्थलमा एकै पटक नदीजन्य पदार्थ लैजान समस्या हुने भन्दै रामग्राम नगरपालिका-११ का तीन र सुनवलमा १ गरी चार स्थानमा (घाटगद्दी) डम्पिङ्ग स्थल तोकेको छ । घाटगद्दी स्थलबाट समेत नदीजन्य पदार्थ अन्यन्त्र बिक्री गर्ने गरेको स्थानीयको गुनासो छ । विमानस्थलका लागि नगरपालिकाले कुल २ करोड ४९ लाख ६४ हजारमा ३५ घनमिटर नदीजन्य पदार्थ बिक्री गरेको हो । नगरपालिकाले भूमहीबाहेक तुरिया र विचासय खोलाको नदीजन्य पदार्थ नारायणगढ–बुटवल सडक खण्ड विस्तार गरिरहेको चिनियाँ कम्पनी (चाईना स्टेट कन्स्ट्रक्सन)लाईसमेत दिएको छ ।
पानभार खोला बोलपत्रमार्फत ठेक्का लगाएको छ । नदीजन्य पदार्थ बिक्री गरिएका खोलाहरुबाट मापदण्डविपरीत उत्खनन् गर्दा बाढी र कटानको जोखिम बढ्न सक्ने भन्दै अनुगमन गरेर व्यवस्थित गर्न स्थानीयले नगरपालिकासँग आग्रह गरेका छन् ।