बैतडीमा व्यवसायीक कफी खेती, उद्योगमन्त्रीले गरे शुभारम्भ
बैतडी : नेपालमा व्यवसायीक कफी खेतीको शुभारम्भ गरिएको छ । बैतडी पुगेर उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले व्यवसायीक कफी खेतीको शुभारम्भ गरेका हुन् । युरोपियन युनियनको प्राविधिक तथा आर्थिक सहयोगमा नेपालमा यस वर्षदेखि कफी खेती शुभारम्भ गर्ने कार्यक्रमअन्तरगत बैतडीबाट यस कार्यक्रमको शुभारम्भ गरिएको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले जानकारी दिए ।
कफी समुद्री सतहको ८ सयदेखि १६ सय मिटरको उचाईमा फल्ने भएकाले नेपालमा यसको राम्रो सम्भावना रहेको सहसचिव अधिकारीले बताए । बैतडीबाट यस कार्यक्रमको सुरुवात गरिएको र देशका अन्य जिल्लाहरूमा पनि यो कार्यक्रमको थालनी गरिने सहसचिव अधिकारीले बताए ।
बैतडीको पाटनमा कफी खेती रोपण कार्यक्रमको शुभारम्भ गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कफी खेतीको विकास प्रशोधन र प्रवद्र्धन गरी आयआर्जन र गरिबी न्युनिकरणमा ठोस उपलब्धी हासिल गर्न यस कार्यक्रमबाट टेवा पुग्ने विश्वास व्यक्त गरे ।
‘नेपालमा कफीको माग विस्तार भइरहेको छ,नेपालमा घरेलु उत्पादनबाट अपूर्ति हुन सकेको छैन,’मन्त्री भण्डारीले भने,‘कफीको बजारीकरणमा कुनै समस्या हुँदैन,उत्पदानलाई व्यवासायिक र परिणामयुक्त बनाउन आवश्यक देखिएको छ। '
पहिलो चरणमा बैतडीको पाटन नगरपालिका र डिलासैनी गाउँपालिकामा नमुनाको रुपमा यो कार्यक्रम कार्यान्वयन हुने बताइएको छ ।