मनास्लु प्रवेश गर्ने पहिलो पर्यटकलाई सम्मान

मनास्लु प्रवेश गर्ने पहिलो पर्यटकलाई सम्मान
विदेशी पर्यटकलाई स्वागत सम्मान गर्दै चुमनुब्री गाउँपालिका ।तस्बिर : अन्नपूर्ण

गोरखा :  मनास्लु क्षेत्र प्रवेश गर्ने पर्यटकलाई चुमनुब्री गाउँपालिकाले स्वागत र सम्मान गरेको छ । ६८ औँ मनास्लु आरोहण दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा सो क्षेत्रमा प्रवेश गर्ने पहिलो पर्यटकलाई गाउँपालिकाले खादा र  माला लगाएर स्वागत तथा सम्मान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष निमा लामा, प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछाने, मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख सन्तोष शेरचन तथा धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले पर्यटकलाई स्वागत र सम्मान गरेका हुन् ।

विश्वको आठौँ, नेपालको सातौँ अग्लो मनास्लु हिमाल सन् १९५६ मे ९ मा प्रथम पटक जापानी नागरिक तोसी इमानुसी र नेपाली नागरिक ग्याल्जेन नोर्बु शेर्पाले आरोहण गरेका थिए । सोही अवसरमा पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, मनास्लु संरक्षण क्षेत्र आयोजना र धार्चे मनास्लु पर्यटन विकास समितिको सहयोगमा चुमनुब्री गाउँपालिकाले मनास्लु आरोहण दिवस मनाएको हो ।

सो अवसरमा चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिममा सांस्कृतिक झाँकीसहितको प्रभातफेरी आयोजना गरिएको थियो । साथै दिउँसो मनास्लु हिमालको पुजाआजा र औपचारिक कार्यक्रम गरी मनास्लु आरोहण दिवस मनाइएको हो।  कार्यक्रमको अवसरमा त्यहाँको गुरुङ तथा भोटे लामा समुदायमा प्रचलित विविध संस्कृतिक प्रदर्शनी गरेर मनास्लु दिवस मनाइएको हो।

विगतका वर्षमा दिवसको अवसरमा काठमाडौंमा विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्थ्यो । यो वर्ष भने पहिलो पटक  गाउँपालिकामै मनाएको गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए।  गाउँपालिकाले यसलाई हरेक वर्ष निरन्तर रुपमा मनाउने प्रतिबद्धता व्यक्त गरेको छ । 

६९ औँ दिवस मनास्लु हिमाल रहेको चुमनुब्री १ सामागाउँमा दिवस मनाउने र ७० वर्ष पूरा गरेपछि विशेष कार्यक्रमका साथ हिरक महोत्सव मनाउने गाउँपालिकाका अध्यक्ष लामाले बताए । प्रसिद्ध मनास्लु पदमार्गमा यो आर्थिक वर्षको ९ महिनामा आठ हजार चारसय ५४ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेको एमक्याप कार्यालयका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । 

सगरमाथापछि सबैभन्दा धेरै विदेशी पर्यटकले मनास्लु हिमाल आरोहण गर्ने गरेको उनको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.