मधेस प्रदेशकै रूपान्तरणकारी सिँचाइ सुरुङ छिचोलियो

मधेस प्रदेशकै रूपान्तरणकारी सिँचाइ सुरुङ छिचोलियो

खुर्कोट (सिन्धुली) : तराई मधेसकै मुहार फेर्ने राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ छिचोलिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार एक समारोहबीच ‘ब्रेक थ्रु’ गरे। यससँगै १९ महिनाअघि जमिनभित्र छिराइएको अटोमेटिक टनेल बारेरिङ मेसिन (टीबीएम) १३ दशमलव ३ किलोमिटर लामो सुरुङ छिचोल्दै बाहिरिएको हो। 

मध्यतराईका पाँच जिल्लामा सिँचाइ र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेर निर्माण थालिएको सुनकोशी–मरिण डाइभर्सन सुरुङ १९ महिना २८ दिनमा टुप्पामा पुगेको हो। सुनकोशी गाउँपालिका–७ कानढुंग्रीस्थित सुनकोशी नदी किनारामा प्रधानमन्त्री प्रचण्डले स्विच अन गरेको केही समयमै १३ दशमलव ३ किलोमिटर लामो सुरुङ छिचोलेर टीबीएम मेसिन बाहिर निस्किएको थियो। 

आयोजनाबाट बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने र ३१ दशमलव ७ मेगावाट विद्युत् उत्पादन गरिने लक्ष्य छ।  मधेस प्रदेशकै रूपान्तरणकारी मानिने यस आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट २०७९ असोज २८ गतेबाट तत्कालिन उर्जामन्त्री पम्फा भुसालले टीबीएम मेसिन उद्घाटन गरेपछि सुरुङ खन्न सुरु गरिएको थियो। 

त्यसको १८ महिना २८ दिनमा कुसुमटारबाट १३ दशमलव ३ किलोमिटर छिचोल्दै टीबीएम मेसिन सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीस्थित सुनकोशी नदी किनाराबाट बाहिरिएको हो।  

आयोजनाको सुरुङ निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले पाएको थियो। उक्त कम्पनीले सुनकोशी–मरिणमा सुरुङ खन्न मात्र कोभेकले १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का सकारेको थियो। कोभेकले यसअघि भेरी बबई डाइभर्सनको समेत टीबीएम मेसिन प्रयोग गरेर सुरुङ निर्माण सम्पन्न गरेको थियो। २०७६ मा मन्त्रिपरिषद्ले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेसँगै निर्माण प्रक्रियाले गति लिएको उक्त आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल फागुन २० गते कमलामाई नगरपालिका २ को कुसुमटारमा शिलान्यास गरेको थिए।

गत आव २०७७/०७८ बाट सुरु भएको सुरुङ निर्माण आयोजन २०८२ मा सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि त्यसको झन्डै एक वर्षअघि नै निर्माण सम्पन्न भएको हो। उक्त आयोजनाको चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म भौतिक पूर्वाधारतर्फ १२५ दशमलव ७५ प्रतिशत र वित्तीयतर्फ ९२ दशमलव १५ प्रतिशत प्रगति भएको छ। 

टनेलतर्फ भने ९० प्रतिसत र हेडबोक्र्सको ठेक्कातर्फ ६ दशमलव २९ प्रतिशत प्रगति हासिल भएको सुनकोशी–मरिण बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले बताए। टनेल बोरिङ प्रविधिको देशकै ठूलो तथा दोस्रो सिँचाइ राष्ट्रिय गौरवको आयोजनालाई प्रधानमन्त्री कार्यालयको विशेष निगरानीका कारण पनि समय अगावै सम्पन्न गर्न सफल भइएको बरालको भनाइ छ।
एकै दिनमा ७२ मिटरसम्म खनिएको सुरुङभित्र सुक्खा पहिरो र लेदोसहित पाखै खस्दा यसअघि ६ पटकसम्म अवरोध भएको थियो।

२०७६ मा मन्त्रिपरिषद्ले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेसँगै निर्माण प्रक्रियाले गति लिएको उक्त आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल फागुन २० गते कमलामाई नगरपालिका २ को कुसुमटारमा शिलान्यास गरेको थिए।

डाइभर्सनबाट ३१ दशमलव ७ मेगावाट विद्युत् र खानेपानी 

सुनकोशी मरिण डाइभर्सनबाट तराईका पाँच जिल्लाका १ लाख २२ हजार हेक्टरमा मा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउनुका साथै ३१ दशमलव ७ मेगावाट विद्युत् उत्पादन गरिने सहायक उद्देश्य राखिएको छ। विद्युत् उत्पादन र बागमती प्रदेशको रामेछाप र सिन्धुली जिल्लाका साथै मधेस प्रदेशको पाँचवटा उर्वरभूमि रहेका जिल्लाहरूमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउँदा हुने उपलब्धिलाई सिंगो देशको अर्थतन्त्रमा टेवा दिनुका साथै प्रादेशिक सन्तुलनमासमेत योगदान दिने यस आयोजनालाई राष्ट्रिय गौरवको रूपान्तरणकारी बहुउद्देश्यीय आयोजनाका रूपमा लिइएको छ।

मधेस प्रदेशमा चुरे विनास र बर्सेनि मौसम परिवर्तनका कारण हुने सुक्खा खडेरीले खानेपानीका मुहानहरू सुक्दै गएको अवस्थामा खानेपानीको समेत किल्प हुन सक्ने छ। आयोजनाको पानीले सुक्खा जमिनहरू सिञ्चित हुँदा खानेपानीका मुहानहरूसमेत बढ्ने अपेक्षा गरिएको छ।

सुनकोशी नदीबाट प्रतिसेकेन्ड ६७ क्युसेक पानी मरिणमा

राष्ट्रिय गौरवको रूपान्तरणकारी बहुउद्देश्यीय आयोजनाका रूपमा लिइएको सुनकोशी मरिण डाइभर्सनअन्तर्गत निर्माण सम्पन्न गरिएको सुरुङबाट प्रतिसेकेन्ड ६७ क्युसेक पानी मरिणमा खसालिने छ। सुनकोशी गाउँपालिका ७ कानढुंग्रीस्थित सुनकोशी नदीमा ३० मिटर उचाइ र १ सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्यूमेस पानी कमलामाई नगरपालिका २ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ।null

त्यहाँ उच्च प्रविधिबाट ५/५ डायमिटरको सुरुङमार्फत ६६ मिटर उचाइबाट पानी झारेर ३१ दशमलव ७ मेगावाट विद्युत् उत्पादन गरिने र सोही पानीलाई कुसुमटारदेखि बागमतीसम्मको ४४ किलोमिटर दूरीमा रहेको बागमती नदीमा मिसाइ तराईका पाँच जिल्लामा सिँचाइ पुर्‍याइने आयोजना प्रमुख मित्र बरालको भनाइ छ। उक्त पानीलाई बागमती ब्यारेजबाट तराईका जिल्लाहरूमा पठाइने छ। कुसुमटारदेखि बागमतीसम्मको ४४ किलोमिटर क्षेत्रमा ७ वटा प्याकेज बनाएर नदी नियन्त्रणको कामसमेत सुरु गरिएको छ। जसका कारण मरिण नदीको कटानबाट हुने सयौं हेक्टर खेतीयोग्य जमिनकोसमेत संरक्षण हुने छ।

इकोनोमिक गेम चेन्जरको आयोजना

राष्ट्रिय गौरवको उक्त आयोजनलाई तराई मधेसको लाइफलाइन तथा इकोनोमिक गेम चेन्जरको रूपमा समेत लिइएको छ। आयोजना सम्पन्न हुँदा कृषि उत्पादकत्वमा वार्षिक १० अर्ब र विद्युत्बाट १ अर्ब ५० करोड आर्थिक वृद्धि हुनुका साथै सयौंले रोजगार पाउँदा आयोजना आर्थिक रूपान्तरणमा प्रभावकारी हुनेछ।

आयोजनाको ड्याम निर्माणमा पछि बन्ने जलाशयमा माछापालन, राफ्टिङ तथा डुंगा व्यवसाय सञ्चालन गर्दा आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा मद्दत पुग्ने छ। यसले होटल, यातायात तथा पर्यापर्यटनमा समेत वृद्धि हुँदा नदी आसपासका बासिन्दाका आर्थिक समोनन्तिका लागि बहुआयामिक परिवर्तन ल्याउन सक्ने ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीको भनाइ छ।

ड्याम तथा हेडवक्र्स निर्माणमा ढिलाइ

बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको राष्ट्रिय गौरवको आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भए पनि अन्य पूर्वाधार निर्माणको काममा भने ढिलाइ हुने भएको छ। 

सुरुङको निर्माण कार्य सम्पन्न भए पनि ड्याम तथा हेडवक्र्सलगायतका पूर्वाधारका काम भने निर्माणमा ढिलाइ भएको हो। सुनकोशी नदीमा बाँध बाँध्ने ठेक्का पटेल–रमण जेभीले लिएको पाएको छ। पटेल भारतीय कम्पनी भए पनि काम नेपाली कम्पनी रमण कन्स्ट्रक्सनले गरिरहेको छ।

सुनकोशी र तामाकोशीको संगमस्थलबाट सय मिटर तल सुनकोशी गाउँपालिका ७ कानढुंग्रीमा सुनकोशी नदीमा बाँध निर्माणको काम सुरु भएको छ। बाँध निर्माण थालिएको १६ महिनाअघि हो। ०८४ असोजमा सम्पन्न गर्ने गरी सुनकोशीमा बाँध निर्माणलगायत काम गर्न पटेल–रमण जेभीले १२ अर्ब रुपैयाँमा ठेक्का लिएको हो। आगामी आर्थिक वर्ष २०८५/८६ मा सम्पन्न गरिसक्नुपर्ने आयोजनाको सुनकोशी र तामाकोशी संगमस्थलबाट करिब र्९ सय मिटर तल सुनकोशी नदीमा ड्याम निर्माण गरी ब्यारेज तथा हेडवक्र्स निर्माण गर्नुपर्ने हुन्छ। विद्युत् गृह सर्जसाफ्ट, स्विचयार्ड सिन्धुलीको कमलामाई नगरपालिका २ कसुमटारमा रहनेछ। आयोजनाको इलेक्ट्रोमेकानिकल निर्माण तथा जडान कार्यअन्तर्गत सोको लागत अनुमान तयारी भइरहेको छ। १३२ केभी ट्रान्समिटर लाइन निर्माण कार्य गर्नुपर्ने भएकाले वातावरणीय परिक्षण कार्य सुरु गरिएको छ।

९६५ मिटर बीपीमार्ग स्थान्तरण

आयोजनाको बाँध निर्माण गरी विद्युत् गृह, हाइड्रो–मेकानिकललगायतका संरचनाहरूको निर्माण गर्दा बनेपा–सिन्धुली–बर्दिवास (बीपी) राजमार्गको ९ सय ६५ मिटर सडक नै स्थान्तरण गर्नुपर्ने अवस्था आएको छ। आयोजनाको १ सय ५८ मिटर लामो बाँध निर्माण गर्दा सुनकोशी गाउँपालिका ७ कानढुंग्रीस्थित बाँध निर्माणस्थल नजिकैको बीपी राजमार्ग डुबानमा पर्ने भएपछि राजमार्ग नै अन्यत्र स्थानबाट निर्माण गर्नुपर्ने अवस्था आएको बरालले थपे। 

उक्त सडक स्थानान्तरण र आयोजनाका लागि २ दशमलव ९६ किलोमिटर सर्भिस रोडसमेत निर्माणको प्रक्रिया अघि बढाइएको छ।

सामाजिक दायित्व निर्वाह

यस सुनकोशी मरिन डाइभर्सन आयोजनाले सामाजिक दायित्व तथा वातावरणीय सुधारका कार्यक्रमसमेत अघि सारेको छ। उक्त कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रमहरूलाई समेत सँगसँगै सञ्चालन गरिएको अयोजना प्रमुख बरालको भनाइ छ। ‘डाइभर्सनको डुबान क्षेत्र र मरिण नदीमा निर्माण हुने पावरहाउस क्षेत्रमा नदी नियन्त्रण, सडक, सिँचाइ कुलो, लिफ्ट सिँचाइ, खानेपानीलगायतका कामहरू आवश्यकताअनुसार सञ्चालन गर्दै आएको छ,’ बरालले भने।

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको विकासबाट मधेस प्रदेका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्ला अन्तर्गत कुल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ।

यसका अलवा आयोजनाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित समूदायमा विभिन्न सीप विकास तथा क्षमता अभिवृद्धिका विभिन्न कार्यक्रमहरूसमेत सञ्चालन भइरहेका छन्। जसअन्तर्गत रामेछाप र सिन्धुली जिल्लाका प्रभावित एवं विस्थापितहरूलाई हालसम्म १० वटा तालिम दिइएको छ। बाँध निर्माणपछि राफ्टिङ, डुंगा, सञ्चालनका लागि सीप विकासको तालिम दिइने छ।

वातावरणीय व्यवस्थापनअन्तर्गत डुबान प्रभावित क्षेत्रमा २ वटा लिफ्ट सिँचाइको निर्माण सम्झौता भइ निर्माण कार्य अघि बढेको छ। अन्य माग भएका लिफ्ट सिँचाइको अध्ययन/अनुसन्धान तथा परामर्श लिइरहेको छ। विस्थापितहरूको घरजग्गाको मुआब्जा वितरणको कामसमेत सँगसँगै भइरहेको छ। कुल ४९ अर्ब ४२ करोड कुल लागत रहेको हालसम्म आयोजना निर्माणमा ११ अर्ब ९१ करोड १९ लाख खर्च भएको छ।

आयोजना कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास

राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ गरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने उनको विश्वास छ। ‘यस आयोजनाले सिन्धुलीलगायत मधेस प्रदेशका ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ,’ उनले भने। null

प्रधानमन्त्री प्रचण्डले ‘ब्रेक थ्रु’ भएको यस बहुउद्देशीय आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशनसमेत दिए। सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। 

उनले भने, ‘सुरुङमार्गको ‘ब्रेक थ्रु’ सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ। ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ।’
कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरूदण्ड हुनुका साथै कुल ग्राहस्थ उत्पादनमा झन्डै एकतिहाइ योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका लागि आवश्यक पर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिबी न्यूनीकरण गर्न कृषि उत्पादन र उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताए। 

नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेस तथा भित्री मधेसभित्र नै पर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तराई–मधेस क्षेत्रमा विकास भइ सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेको बताए। हिमनदीहरूको पानी कृषि उत्पादनका लागि प्रयोग गरिनुपर्ने बताउँदै उनले सोही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खानेपानीलगायत अन्य प्रयोजनमा प्रयोग गरी राष्ट्रको समग्र विकास गर्न सकिने उल्लेख गरे।

प्रधानमन्त्री दाहालले विकासका यस्ता ठूला पूर्वाधारहरूको सफल निर्माणबाट नै नेपालमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुने हुँदा देशको रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजनालाई प्रभावकारी रूपमा सम्पन्न गर्ने कार्यमा आआफ्नो ठाउँबाट समन्वय र सहयोग गर्न अपिलसमेत गरे। यस्तै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सुनकोशी मरिण डाइभर्सन निर्माणले नेपालको पूर्वाधार निर्माणमा महत्वपूर्ण आयाम थपेको उल्लेख गरे।

यस आयोजना सिँचाइ र जलविद्युत्को निम्ति महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले देशको आर्थिक समृद्धिका लागि कोसेढुंगा सावित हुने बताए। 

१३ दशमलव तीन किलोमिटर सुरुङ खन्न २२ महिनाको लक्ष्य लिइएकोमा ३ महिना २ दिन अगावै ‘ब्रेक थ्रु’ गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले बताइन्। उनले आयोजना सम्पन्न भएपछि तराईका खेतीयोग्य जमिन सिञ्चित हुँदा कृषि उत्पादनमा वृद्धि हुने र देशको अर्थतन्त्रमा समेत सुधार हुने बताइन्। 

  •     ‘ब्रेक थ्रु’सँगै १९ महिनाअघि जमिनभित्र छिराइएको अटोमेटिक टनेल बारेरिङ मेसिन (टीबीएम) १३ दशमलव ३ किलोमिटर लामो सुरुङ छिचोल्दै बाहिरियो।
  •     आव २०७७/०७८ बाट सुरु भएको सुरुङ निर्माण आयोजना २०८२ मा सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि त्यसको झन्डै एक वर्षअघि नै निर्माण सम्पन्न भयो।
  •     डाइभर्सनबाट तराईका पाँच जिल्लाका १ लाख २२ हजार हेक्टरमा मा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउनुका साथै ३१ दशमलव ७ मेगावाट विद्युत् उत्पादन गरिने सहायक उद्देश्य राखिएको छ।
  •     सुनकोशी मरिण डाइभर्सनअन्तर्गत निर्माण सम्पन्न गरिएको सुरुङबाट प्रतिसेकेन्ड ६७ क्युसेक पानी मरिणमा खसालिने छ।
  •     एकैदिनमा ७२ मिटरसम्म खनिएको सुरुङभित्र सुक्खा पहिरो र लेदोसहित पाखै खस्दा यसअघि ६ पटकसम्म अवरोध भएको थियो।
  •     आयोजना सम्पन्न हुँदा कृषि उत्पादकत्वमा वार्षिक १० अर्ब र विद्युत्बाट १ अर्ब ५० करोड आर्थिक वृद्धि हुनुका साथै सयौंले रोजगार पाउँदा आयोजना आर्थिक रूपान्तरणमा प्रभावकारी हुनेछ।

आयोजनाबाट मधेसका पाँच जिल्लामा वर्षैभरि सिँचाइ

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको विकासबाट मधेस प्रदेका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्ला अन्तर्गत कुल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ। देशकै अन्न भण्डारका रूपमा लिइने हाल बागमती सिँचाइबाट ४५ हजार हेक्टर क्षेत्रफल मात्र सिँचाइ हुँदै आएको छ।

बागमती सिँचाइ आयोजनाबाट हाल रौतहट र सर्लाही जिल्लाको ४५ हजार ६ सय हेक्टर जमिनमा मात्र पानीको पहुँच पुगेको थियो। आयोजनाबाट थप सिँचाइ सुविधा पुग्दा त्यस क्षेत्रमा धान, मकै, तोरीलगायत अन्य बाली, तरकारी र फलफूलको उत्पादन र उत्पादकत्व वृद्धि भई अर्थतन्त्रमा सघाउ पुग्ने छ। 

‘कृषि उत्पादनका दृष्टिले नेपालकै उर्वर भूमि मानिएको तराईका यी पाँच जिल्लामा आयोजनाबाट सिँचाइ सुविधा पुर्‍याउँदा सतह र भूमिगत जलस्रोतको संयोजनात्मक रूपमा उपयोग गरी कृषि तथा माछामासमेत उत्पादन तथा उत्पादकत्व वृद्धि गरी हाल कृषिमा भएको आयातको असन्तुलन कम गर्न समेत मद्दत पुग्ने विश्वास गरिएको छ,’ बरालले भने। नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेस तथा भित्री मधेसभित्र पर्छ। तर पर्याप्त सिँचाइ नहुँदा मधेसमा हरेक वर्ष धान लगायतका अन्नवाली उत्पादन घट्दो अवस्था छ। 

आयोजना सम्पन्न हुँदा भने तराईका १ लाख २२ हजार हेक्टरमा कृषि उत्पादन वृद्धि हुँदा वार्षिक १० अर्ब आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ। त्यस क्षेत्रमा कृषि उत्पादन वृद्धि हुँदा कृषि उद्योग स्थापना गर्न सकिने र त्यसबाट हजारौंले रोजगारीसमेत हासिल गर्न सक्ने छन् भने किसानहरूको जिविकोपार्जनमा उल्लेख्य सुधार आउने छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.