गृहसचिवसहित ३ सुरक्षा प्रमुखले गरे अनुगमन भ्रमण

गृहसचिवसहित ३ सुरक्षा प्रमुखले गरे अनुगमन भ्रमण
दार्चुलाको नवनिर्मित जिल्ला प्रशासन भवनको उद्घाटन गर्दै गृहसचिव एकनारायण अर्याल नेतृत्वको टोली। तस्बिर : सुन्दरसिंह धामी
सुन्नुहोस्

दार्चुला : दार्चुलाको त्रिदेशीय सीमाक्षेत्रमा मंगलबार गृहसचिवसहित तीन सुरक्षा अंगका प्रमुखहरूले अनुगमन भ्रमण गरेका छन्। नेपाली सेनाको हेलिकप्टरमार्फत गृहसचिव एकनारायण अर्याल नेतृत्वको टोली खलंगास्थित सेनाको ब्यारेकमा पुगेको हो।

सोमबार नै गृहसचिवसहितको टोली काठमाडौंबाट सुदूरपश्चिमका हिमाली जिल्लाहरू भ्रमणका लागि धनगढी पुगेको थियो। धनगढीबाट सेनाको हेलिकप्टरमा उच्च सुरक्षा अधिकारीहरूले दार्चुलासँगै बझाङ, बाजुरा र अछामको भ्रमण गरिरहेका छन्।

नीतिकुण्डामा ओर्लिएका गृहसचिव र राष्ट्रिय अनुसन्धान प्रमुखले त्यहाँ गतवर्ष मात्रै निर्माण सम्पन्न गरिएको प्रहरी चौकी भवनको निरीक्षण गरे। नीतिकुण्डामा कार्यरत सुरक्षाकर्मीसँग कुराकानी गरेर करिब १ किलोमिटर दूरीमा रहेको सशस्त्र प्रहरीको ५० नम्बर गुल्मतर्फ उनीहरूले पैदल यात्रा गरे।

सशस्त्र प्रहरीको गुल्ममा निर्माण अन्तिम चरणमा पुगेको भवनको अवलोकनका साथै सुरक्षाकर्मीसँग कुराकानी गरेका गृहसचिव र राष्ट्रिय अनुसन्धान प्रमुखले व्यासका स्थानीयसँग पनि त्यहाँको अवस्था र आवश्यकताबारे कुराकानी गरे। २०–२५ मिनेटसम्मको कुराकानीमा छाङरुका स्थानीयले आफ्नो समस्या, पीडा, आवश्यकता र अपेक्षाहरू खुलेर राखेको व्यासका स्थानीय अशोक बोहराले बताए। 

हेलिकप्टरमार्फत तिंकरको छियालेक पुगेका आईजीपीद्वयले बीओपी भवन र इलाका प्रहरी चौकीको निरीक्षण गरे। दुई दिनअघि मात्रै छाङरुबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तिंकरको छियालेक सरेको थियो। उच्च अधिकारीहरूको भ्रमण तय भएपछि तिंकरको छियालेकमा सुरक्षाकर्मीको टोलीले आवश्यक तयारी गरेको थियो। सीमाक्षेत्रमा उच्च सुरक्षा अधिकारीहरूको भ्रमणले स्थानीयवासीमा हौसला मिलेको व्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोक सिंह बोहराले बताए। 

अनुगमन भ्रमण गर्न पुगेका गृहसचिवसहित सुरक्षा निकायका प्रमुखहरूसँग व्यासका स्थानीयवासीले पैदलबाटो सञ्चालनमा ल्याउन माग गरेका छन्। सुरक्षाकर्मीले समेत भारतीय भूमि र बाटो प्रयोग गर्नुपरिरहेको अवस्थाको अन्त्य गर्न स्थानीयले माग गरेका छन्। ‘हाम्रा सुरक्षाकर्मीले स्वदेशकै पैदलबाटो हिँड्ने व्यवस्था गर्न माग हामीले गरेका छौं’ छाङरुका स्थानीय योगेश सिंह बोहराले बताए।व्यास गाउँपालिका २ दुम्लिङदेखि दोपाखेसम्मको करिब १५ किलोमिटर लामो क्षेत्रमा तत्कालै सडक निर्माण कार्य सुरु गरी पैदलबाटो खोल्नुपर्ने व्यासका स्थानीयको माग छ। 

व्यासवासीका तर्फबाट १ नम्बर वडाअध्यक्ष बोहराले गृहसचिव अर्यालसँग कौवाक्षेत्र र बुँदीक्षेत्रमा सशस्त्र प्रहरीको बीओपी स्थापना गर्न माग गरेका छन्। सीमा प्रशासन कार्यालय व्यासमै सञ्चालन गर्न, सीमा प्रशासन कार्यालयलाई अध्यागमन कार्यालयमा रूपान्तरण गर्न, बुँदी र दुम्लिङमा नेपाल–भारत जोड्ने झोलुंगे पुल निर्माण गर्न र इलाका प्रहरी कार्यालय तिंकरको भवन पुननिर्माण गर्न पनि माग गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.