अन्नपूर्ण आरोहण दिवस म्याग्दीमा मनाउन माग

अन्नपूर्ण आरोहण दिवस म्याग्दीमा मनाउन माग
सुन्नुहोस्

बेनी : जिल्लाका सरोकारवालाहरूले आठ हजार मिटर अग्लो पहिलो मानव पाइला परेको अन्नपूर्ण हिमालको आरोहण दिवस म्याग्दीमा मनाउन माग गरेका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरमा बसेको जिल्ला स्तरीय समन्वय बैठकले म्याग्दीकै भूगोलमा आरोहण दिवस मनाउन माग गर्ने निर्णय गरेका छन्। 

अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भारतकुमार पुनले समन्वय बैठकको निर्णय अनुसार आरोहीले प्रयोग गर्ने आधार शिविर र हिमाल भएको भूगोलमा अन्नपूर्ण आरोहण दिवस मनाउन नेपाल पर्यटन बोर्डलाई पत्राचार गरिने जानकारी दिए। 

वैशाख २० गते बिहिबार जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको अध्यक्षतामा म्याग्दीका ६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रजिअ लक्ष्मण ढकाल लगायत सुरक्षा अधिकारीहरूको बैठक समुन्द्रि सतहदेखि ४ हजार १०० मिटर उचाइमा रहेको आधार शिविरमा बसेको थियो। 

बुधबार नारच्याङको हुमखोलादेखि पैदलयात्रा गरेर आधार शिविरतर्फ गएको टोली शुक्रबार फर्किएको हो। फ्रान्सका मौरिस हर्जोगले सन् १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए। 

हरेक वर्ष जुन ३ मा स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर ‘अन्नपूर्ण डे’ मनाउने गरिएको छ। यसअघिका वर्षमा पोखरा र कास्कीको अन्नपूर्ण गाउँपालिकाको भूगोलमा अन्नपूर्ण दिवस मनाइएको र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले हिमालको रोयल्टी नपाएको अध्यक्ष पुनले बताए।

‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रोयल्टी दावी गरेपछि गत मंसिरमा उपाध्यक्ष बालानन्द पौडेल सहितको टोलीले स्थलगत अध्ययन गरेर जानु भएको थियो,’ उनले भने ‘अन्नपूर्ण दिवस मनाउन बजेट विनियोजन गरेको पर्यटन बोर्डले म्याग्दीमा कार्यक्रम आयोजना गर्न गरेको प्रस्तावलाई बेवास्ता गरेकाले दवावका लागि निर्णय सहित पत्राचार गरिएको हो।’

मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो। अन्नपूर्ण पहिलो पटक मानव पाइला परेको ८ हजार मिटर अग्लो हिमाल हो। मौरीज हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर तयार पारिएको नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरीस हर्जोग’ पदमार्गको प्रर्वद्धनका लागि आधार शिविरमा समन्वय बैठक र जनप्रतिनिधिहरूको पदयात्रा गरिएको गाउँपालिकाका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले बताइन्। 

‘अन्नपूर्ण हिमाल म्याग्दीमा भएर पनि यसको रोयल्टी लगायतको लाभ हामीले पाउन सकेका छैनौं,’ उनले भनिन् ‘यो तथ्यलाई पुष्टि गरेर वित्त आयोगले वितरण गर्ने पर्यटन रोयल्टी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ल्याउने र पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यले पैदलयात्रा गरिएको हो।’ चालु वसन्त याममा अन्नपूर्ण आरोहणको अनुमति लिएका २५ जना आरोहीले ५१ लाख ६१ हजार ८८० रुपैयाँ रोयल्टी तिरेका पर्यटन विभागले जनाएको छ। गत बसन्त याममा ५ समूहका ५४ जनाले अन्नपूर्ण हिमाल आरोहणको अनुमति लिएका थिए। 

हुमखोला हुदै गुरासेडाँडा, फुतफेते झरना, सम्धीखर्क, भुसकेत, नारच्याङ पञ्चकुण्ड ताल हुदै चार हजार एक सय मिटर उचाइको अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गलाई प्रथम आरोहीको सम्मानमा ‘मौरिस हर्जोग’ नामाकरण गरिएको छ। 

पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थल लगायतका पर्यटन पूर्वाधार तयार भएपछि अन्नपूर्ण आधार शिविरमा पर्यटकहरू पुग्न थालेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए। नारच्याङदेखि कुल ४२ किलोमिटरको दुरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ। हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ। एकै दिन पैदलयात्रा गरेर पुगिने र नयाँ ठाउँ भएकाले ‘भर्जिन’ गन्तव्य रोज्नेहरूलाई अन्नपूर्ण नर्थ वेसक्याप आकर्षक गन्तव्य रहेको प्रजिअ लक्ष्मण ढकालले बताए। 
 
हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै  २०६८ मा नारच्याङका तेज गुरुङको नेतृत्वमा ‘मौरिज हर्गोज पदमार्ग’को पहिचान गरिएको थियो। २०७७ माघमा नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरिएको थियो। 

अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थल, लगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले २ करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले ४० लाख रुपैयाँ भन्दा बढी लगानी गरेका छन्। चालु आर्थिक वर्षमा गाउँपालिकाको पचास लाख रुपैयाँ बजेटमा भुसकेत र आधार शिविरमा आश्रयस्थल निर्माण गर्ने तयारी भएको छ। एकीकृत पर्यटन गुरुयोजना तयार पार्न अध्ययन र सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको छ। 

अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ। अन्नपूर्णको फेदीमा करिब २० हजार बर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणको रुपमा रहेको छ। पदयात्राका क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा भुपु खेलाडी मञ्चका अध्यक्ष खड्ग रानाभाट, भुपु खेलाडी मञ्चका कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठ र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज बहादुर गुरुङको टोलीले अन्नपूर्ण आधार शिविरलाई लक्षित गरेर म्याराथन प्रतियोगिता सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.