पृथ्वी तलमा स्वर्ग हो जानी लेख्याँ

बालाजु बाइसधारा

पृथ्वी तलमा स्वर्ग हो जानी लेख्याँ
सुन्नुहोस्

ल्हुँती अर्थात् बालाजुको प्रमुखस्थल बाइसधारा हो भने यहाँको प्रमुख आकर्षण नै बालाजु बाइसधारा मेला हो।

काठमाडौंको पश्चिमोत्तर दिशामा नागार्जुन पर्वतको काखमा रहेको ऐतिहासिक नगर बालाजुलाई नेपाल भाषामा ल्हुँती भनिन्छ।  ल्हुँती भन्नाले ढुंगाको पहरो रसाएर आएको पानी भन्ने अर्थ लाग्छ।  प्रारम्भमा यहाँ पहरो रसाएर पानी बग्ने गर्दथ्यो र त्यसैको नामबाट नै यसको नाम ल्हुँती रहन गएको पाइन्छ। 

ल्हुँती अर्थात् बालाजुको प्रमुखस्थल बाइसधारा हो भने यहाँको प्रमुख आकर्षण नै बालाजु बाइसधारा मेला हो।  ऐतिहासिक तथ्यका आधारमा बाइसधाराको निर्माण कान्तिपुरका मल्ल राजा जयप्रकाश मल्ललाई जान्छ।  उनले नेपाल सम्बत् ८७५ मा बालाजुमा एक्काइस धारा निर्माण गराएका थिए।  पछि रणबहादुर शाहले १८५५ सालमा बीचमा एउटा ठूलो धारा निर्माण गराएपछि यसको नाम बाइसधारा रहन गएको देखिन्छ। 

बाइसधारा उद्यानका रूपमा २०२१ सालमा सबैका लागि सार्वजनिक गरिएको यस ठाउँमा वर्षको एक दिन अर्थात् बालाजु बाइसधारा पूर्णेको दिन भव्य मेला लाग्छ।  उक्त मेला भर्न उपत्यकाबाट मात्र नभएर नुवाकोट, धादिङ, काभ्रेबाट पनि भक्तजन आउने गर्छन्।  उक्त दिन बाइसधारामा स्नान गरी उद्यानको पूर्वतिर रहेको सानो कुण्डका भगवान् विष्णु अर्थात् बालनीलकण्ठको पूजा अर्चना गर्ने गरेर नागार्जुन पर्वतका टुप्पोमा रहेको जामाचोमा दर्शन गर्न जाने चलन छ। 

इतिहासमा उल्लेख भएअनुसार ज्ञानेश्वरमा प्राप्त बूढानीलकण्ठको मूर्ति दरबारको भण्डारखालमा स्थापना गर्दा भगवान् रिसाएर अब उप्रान्त तिमीहरूले मेरो दर्शन गर्न नआउनू भनेका थिए।  सोही कारण प्रताप मल्लले बालाजुमा उक्त मूर्तिकै प्रतिरूप तयार पार्न लगाई नेपाल सम्बत् ७७५ मा प्रतिस्थापन गराएका थिए।  तर गोपाल वंशावलीअनुसार बालाजुको जलशायी मूर्ति विष्णुगुप्तले नै स्थापना गरेको देखिन्छ।  जसलाई जलशायी हरिहरमूर्ति मानिएको छ।  जुन कुरालाई गौतमवज्र वज्राचार्यले ‘हनुमानढोका राजदरबार’ नामक पुस्तकमा चर्चा गरेका छन्। 

तर विदेशी लेखक सिल्भा लेभीले भने नेपाल नामक पुस्तकमा ईस्वीको सत्रौं शताब्दीमा प्रताप मल्लले नयाँ नीलकण्ठ बालनीलकण्ठ, बालाजी बनाए भन्ने तथ्य उल्लेख गरेकी छन्।  त्यस्तै, बालाजुमा विष्णु भगवान्को शेषशायी मूर्ति स्थापना गर्दा उक्त ठाउँवरपर कालभैरवको मूर्ति भेट्टिएको थियो र उक्त मूर्तिलाई हनुमान ढोकाअगाडि लगेर प्रताप मल्लको पालामा स्थापना गरिएको थियो।  

बाइसधारा स्नान गरेर नागार्जुन पर्वतको टुप्पोमा रहेका जामाचो बुद्धस्तूप र नागार्जुन महादेवको दर्शन गर्न थुप्रै भक्तजन जाने गर्दछन्।  यो तीर्थ हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो।  जामाचोका रूपमा प्रसिद्ध रहेको यस स्थानलाई बुद्धधर्ममा ‘जातामात्रोच्व’ भनिन्छ।  सात हजार फिट उचाइमा रहेको यस तीर्थको उत्पत्ति र नामकरणका बारेमा स्वयम्भू पुराणमा पनि उल्लेख भएको पाइन्छ। 

पृथ्वीनारायण शाहको नेपाल एकीकरणको समयमा समेत उपत्यकाको एउटा महŒवपूर्ण राज्यका रूपमा लुटीकोट रहेको तथ्य इतिहासमा पाइन्छ।  त्यसैले, नेपाल राज्यको एकीकरणमा सानो भएर पनि ल्हुँतीकोटको महŒवपूर्ण स्थान रहेको पाइन्छ।  कान्तिपुरको रक्षाका निमित्त बनिरहेको ल्हँुतीकोटमा घेरा दिएर रातमा आक्रमण गरी पृथ्वीनारायण शाहले १८२२ सालमा यस कोटलाई दखल गरेको तथ्य बाबुराम आचार्यद्वारा लिखित् ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ नामक पुस्तकमा उल्लेख छ।  ल्हुँतीकोटमा अझै पनि जंगबहादुरकालीन दरबारको भग्नावशेष र जुद्धशमशेरको पालामा निर्माण भएको दरबार देख्न सकिन्छ।  
आदिकवि भानुभक्त आचार्यले पृथ्वीको एउटा स्वर्ग हो भनेर उल्लेख गरेको यो स्थानको हिजोआज रौनक हराएको देखिन्छ। 

यति दिन पछि बल्ल बालाजु देख्याँ
पृथ्वी तलमा स्वर्ग हो जानी लेख्याँ। 

उनै कविको सालिक उद्यानको अग्रभागमा स्थापना गरिएको छ।  जसको उद्घाटन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५० सालमा गरेका थिए।  प्रारम्भमा काठमाडौंका नेवार समुदायले मात्र मनाउने गरिएको यो मेला हाल आएर सबै सम्प्रदायले मनाउने गरेको पाइन्छ।  यस अवसरमा ल्हुँतीकोटवरपरका नागार्जुन, बालाजु, फूलबारी, लोलाङ र श्वेतविनायकको खटजात्रा हुने गर्दछ।  धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले महŒवपूर्ण मानिने बाइसधारामा वर्षैभरि नै पर्यटक आउने गर्छन्।  

त्यसैले यसलाई अझै व्यवस्थित रूपमा सञ्चालन गर्न सकेमा यसले ऐतिहासिक पहिचान बचाउन सक्ने देखिन्छ।  बालाजुका विभिन्न पोखरीमा पानीको सञ्चय गरेर एवं सरसफाइलाई विशेष जोड दिने हो भने यो स्थान बाह्य तथा आन्तरिक पर्यटकका लागि विशेष 
पर्यटकीयस्थल बन्ने देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.