बोर्डको ताला फुटाएर सदस्यसचिवले सम्हाले कार्यभार

बोर्डको ताला फुटाएर सदस्यसचिवले सम्हाले कार्यभार
सुन्नुहोस्

विराटनगर : उच्च अदालत विराटनगरको फैसलाबाट पुनर्बहाली भएका कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले बिहीबारदेखि कार्यभार सम्हालेका छन्। 

नेकपा (एमाले)का युवा नेता एवं नेपाल खेलकुद महासंघका अध्यक्ष बस्नेत सदस्यसचिवको कार्यभार सम्हाल्न पुग्दा खेलकुद विकास बोर्डको कार्यालयमा ताला लगाइएको थियो। कार्यालयमा ताला लगाएर कर्मचारीहरु ओलम्पियन्स पुनर्मिलन तथा प्रथम स्पोर्टस सेलिब्रेटी कार्यक्रममा सहभागी हुन सुनसरीको इटहरी गएका थिए। 

इटहरीमा आलम्पियन्सहरुलाई स्वागत गर्दै वाकाथन (पैदल यात्रा)को उद्घाटन गरिएको थियो। ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन गराउने कार्यक्रमको उद्घाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले गरेका थिए। कार्यक्रमको समापन वैशाख २२ गते इलाममा गरिने छ। 

सूचना नै जारी गरेर बोर्डको कार्यालयमा ताला लगाउँदै उक्त कार्यक्रममा सहभागी हुन कर्मचारीहरू गएका हुन्। बोर्डको कार्यालयबाट प्रवाह गरिने सेवा बिहीबार बन्द रहने जानकारीसहितको सूचनामा यसअघिका सदस्यसचिव हंशराज वाग्लेको हस्ताक्षर छ। 

कार्यालय नै बन्द रहेको पाइएपछि कार्यभार सम्हाल्न पुगेका बस्नेत अलमलमा परेका थिए। त्यसपछि स्थानीय प्रशासनको निर्देशन र वडाको जनप्रतिनिधिको रोहबरमा ताला फुटाइएको हो। बोर्डका अधिकृत विनोद पाण्डेले बिना जानकारी कार्यालय बन्द गर्न मिल्दैन भनेर प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निर्देशन दिएपछि ताला फुटाएर सदस्यसचिव बस्नेतलाई हाजिर गराइएको जानकारी दिए। 

‘कर्मचारीहरू कार्यालयमा ताला लगाएर हिँडेका रहेछन्। पुनर्बहाली हुनु भएको सदस्यसचिवले आजै कार्यभार सम्हाल्न आउँछु भनेर फोन गर्नु भयो,’ उनले भने, ‘त्यसपछि मैले स्थानीय प्रशासन र वडा कार्यालयसँग समन्वय गरें। कार्यालय खोल्नुपर्छ भन्ने कुरा आएपछि ताला फुटाइएको हो।’ पाण्डेका अनुसार विभिन्न निकायहरुसँगको समन्वयमा र विराटनगर महानगरपालिका वडा नम्बर ७ का प्रतिनिधिको रोहबरमा ताला फुटाइएपछि सदस्यसचिव बस्नेतले कार्यभार सम्हालेका छन्। 

प्रजिअ भट्टराईले पनि बिना जानकारी कार्यालय बन्द गर्न नमिल्ने बताए। ‘बोर्ड प्रदेश सरकार मातहतको कार्यालय हो। त्यसमा मैले हस्तक्षेप गर्ने कुरा भएन,’ उनले भने, ‘ताला लगाइएको छ, कसो गर्ने होला भनेर फोन गरेका थिए। तपाईंहरूको हिसाबले जे गर्नुहुन्छ गर्नुस् भनेर भनिदिएँ।’ 

यता उच्च अदालत विराटनगरले पनि खेलकुद विकास बोर्डलाई बिहीबार नै फैसलाको जानकारी गराएको छ। ताला लगाएको कार्यालयमा कर्मचारी नभेटिएपछि अदालतले बोर्डको कार्यालयको भित्तामा फैसलाको जानकारी टाँसेको थियो। बस्नेत पनि अदालतको फैसला बोकेर कार्यभार सम्हाल्न पुगेका थिए। 

बस्नेतलाई मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारले २०७८ असोज २४ गते ४ वर्षका लागि खेलकुद विकास बोर्डको सदस्यसचिव नियुक्त गरेको थियो। तर, उनी ६ महिनामै पदमुक्त भएका थिए। उनलाई मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको मन्त्रिपरिषद्ले २०७८ चैत २१ गते बर्खास्त गर्ने निर्णय लिएको थियो। उक्त निर्णयविरुद्ध बस्नेतले २०७९ वैशाख १४ गते उच्च अदालत विराटनगरमा रिट दिएका थिए। 

रिटमाथि अन्तिम सुनुवाइ गर्दै उच्च अदालत विराटनगरका न्यायाधीशहरू ममता खनाल र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले तत्कालीन मन्त्रिपरिषद्को निर्णय बदर गर्दै बोर्डको सदस्यसचिवमा बस्नेतको पुनर्बहाली हुने फैसला गत सोमबार गरेको हो। बस्नेतलाई पदमुक्त गर्दै राजेन्द्रकुमार राई नेतृत्वको सरकारले २०७८ चैत २२ गते बोर्डको सदस्य सचिवमा हंशराज वाग्लेलाई नियुक्त गरेको थियो। वाग्लेलाई पनि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले २०८० जेठ ३ गते बर्खास्त गरेको थियो। 

कार्की नेतृत्वको सरकारले गरेको निर्णयविरुद्ध वाग्लेले पनि उच्च अदालतमा रिट दिएका थिए। उच्चको आदेशबाट तत्काल वाग्ले काममा फर्किए। वाग्लेलाई बर्खास्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्चले आदेश दिएपछि उनी काममा फर्किएका थिए। तर, अहिले आएर उच्चले वाग्लेको रिट खारेज गरिदिएको छ। बस्नेत आफूले दायर गरेको मुद्दा विचाराधीन रहेकै अवस्थामा २०७९ को प्रदेशसभा निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए। 

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘ख’बाट उम्मेदवार बनेका उनी नेपाली कांग्रेसका केदार कार्कीसँग पराजित भए। कार्की अहिले कोशी प्रदेशको मुख्यमन्त्री छन्। निर्वाचनमा पराजय बेहोरेका बस्नेतको भने अहिले अदालतको फैसलाबाट सदस्यसचिवमा पुनर्बहाली भएको छ। 

उनले आफूलाई एमाले नेतृत्वकै सरकारले सदस्यसचिव बनाएको बताए। ‘अहिलेको सरकारले मलाई सदस्यसचिव बनाएको हैन। आफ्नै पार्टीको नेतृत्वमा सरकार हुँदा यसअघि नै नियुक्ति पाएको हुँ,’ उनले भने, ‘अहिलेको सरकारले नियुक्ति दिएको भए अलग कुरा हुन्थ्यो। काम गर्न अप्ठेरो हुने महसुस मैले गरेको छैन।’

कार्यभार सम्हाल्दै बस्नेतले खेलकुद क्षेत्रको समृद्धिका लागि आफूले काम गर्ने बताए। खेल र खेलाडीको विकासका लागि सक्रिय हुने प्रतिबद्धता उनको छ। ‘म प्रदेश खेलकुद विकास बोर्डको संस्थापक सदस्यसचिव हुँ। राजनीतिक प्रतिशोधका आधारमा तत्कालीन सरकारले मलाई बर्खास्त गरेको थियो,’ उनले भने, ‘ढिलै भएपनि अदालतबाट न्याय मिलेको छ। म जिम्मेवारीमा फर्किएको छु।’

यसअघि आफूले बनाएका योजना अनुसार खेल क्षेत्रको विकासमा सक्रिय भएर लाग्ने बस्नेतले बताए। सबै पक्षसँग समन्वय गरेर खेलाडीको विकास तथा खेलकुदका गतिविधिलाई चलायमान बनाइने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.