वीरगन्जको नबिल बैंकबाट चोरी भएको केही रकम भेटियो, दुई भारतीयसहित चार जना पक्राउ

वीरगन्जको नबिल बैंकबाट चोरी भएको केही रकम भेटियो, दुई भारतीयसहित चार जना पक्राउ

वीरगन्ज : वीरगन्जको नबिल बैंकको बाइपास शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ लाख चोरी भएको घटनामा संलग्न रहेको समूहमध्ये प्रहरीले दुई भारतीयसहित चार जनालाई पक्राउ गरेको छ।यस्तै बैंकबाट चोरी भएकोमध्ये केहि रकमपनि फेला परेको छ। 

चोरीमा संलग्न रहेको आशंकामा प्रहरीले रौतहटबाट दुई जना नेपालीलाई पक्राउ गरेको छ भने भारतको घोडासहनबाटपनि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। चोरीमा संलग्न समूहका बाँकी एक जना भने अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरी श्रोतले जानकारी दिएको छ।

हालसम्म पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका-७ पथरा बुधरामका सन्जय जयसवाल र   छोटेलाल जयसवाल रहेका छन्। त्यस्तै भारतीय प्रहरीले बिहारको पूर्वी चम्पारण जिल्लाको घोडासहनका मन्टु पासवान र ललन कुमारलाई नियन्त्रणमा लिएको हो। 

सन्जय र छोटेलाललाई प्रहरीले रौतहटको मौलापुरबाट मंगलबार साँझ पक्राउ गरेको हो। उनीहरू दुवै जना रात्रीबसमा चढेर काठमाडौं जाँदै गरेका बेला प्रहरीले बस घेरा हालेर नियन्त्रणमा लिएको हो।ती दुवै जना अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन्। 

मन्टु र ललनलाई भने भारतीय प्रहरीले घोडासहनबाट नियन्त्रणमा लिएको हो। उनीहरू अहिले भारतीय प्रहरीकै हिरासतमा छन्। उनीहरूलाई नेपाल ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साको श्रोतले बताएको छ। घटनामा संलग्न अर्का एक भारतीयको पनि खोजी भइरहेको प्रहरी श्रोतले जानकारी दिएको छ।
 
बैंकमा चोरी गर्नुभन्दा पहिले चोरहरूको समूहले गत आइतबार वीरगन्जको नयाँ बसपार्कस्थित रानीपोखरी होटलमा छोटेलाल जयसवालका नाममा कोठा बुक गरेर बसेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले भने चोरीको घटनामा संलग्न रहेको आशंकामा अहिलेसम्म दुई जना नेपालीलाई मात्र नियन्त्रणमा लिएको बताए। भारतमा पनि एक जना पक्राउ परेको जानकारी भारतीय प्रहरीबाट आएको तर यस बारेमा यकिन भने भइनसकेको उनले बताए। थापाले भने,‘अहिलेसम्म हामीले दुई जना नेपालीलाई मात्र नियन्त्रणमा लिएका छौं। अनुसन्धान प्रभावित हुने भएकाले उनीहरूको पहिचान सार्वजनिक गर्न मिल्दैन। उता भारतमा पनि एक जनालाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको भन्ने खबर छ।’

गत आइतबार राति नबिल बैंकको शाखाबाट चोरी भएको १ करोड ३४ लाख रकममध्ये केही रकम प्रहरीले भारतमा फेला पारेको छ। भारतको घोडासहनमा लुकाएर राखिएको अवस्थामा उक्त रकम भारतीय प्रहरीले फेला पारेको हो। अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने,‘ चोरी भएको रकम ६ वटा झोलामा राखेको अवस्थामा भेटिएको छ। फेला परेको उक्त रकम अहिले गन्ने काम भइरहेको छ।’

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले पनि चोरी भएको रकममध्ये केही रकम फेला परेको पुष्टि गरे। उनले भने,‘चोरी भएको रकममध्ये केही रकम भारतमै भेटिएको खबरपनि आएको छ। कति रकम भेटिएको हो ? कहाँबाट कस्तो अवस्थामा भेटिएको हो? यसबारेमा विस्तृत विवरण आइसकेको छैन।’   
 
रकम चोरी भएको नबिल बैंकका शाखा प्रबन्धक विजय पौडेलले भने बैंकमा रातिको समयमा सुरक्षा गार्ड नराखेर आफूहरूबाट चुक भएको बताए। बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्सामा भेटिएका पौडेलले भने,‘नबिल बैंकले कुनै कुनै शाखामा मात्र रातिको लागि सुरक्षा गार्ड राख्ने गरेको छ। धेरैजसो ब्रान्चमा रातिका लागि सुरक्षा गार्ड राखिएको हुन्न। सीसीटीभीले नै सेक्युरिटीको काम गर्छ। वीरगन्ज बाइपासको ब्रान्चको सन्दर्भमा हामीमा अलि बढी नै कन्फिडेन्ट थियो। जसका कारण रातिमा सेक्युरिटी गार्ड राखेका थिएनौं। त्यही नै हामीबाट चुक भए जस्तो लाग्छ।’

बाइपास रोडमा रहेको नबिल बैंकको शाखाबाट गत आइतबार राति पाँच जनाको संख्यामा रहेका चोरहरूको समूहले मूल गेटको ताल्चा फोडेर भित्र प्रवेश गरी टिनको बाक्सामा रहेको १ सय र २० रुपैयाँको नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ बोरामा हालेर लगेको बैंकको सीसीटीभीको फुटेजमा देखिएको थियो। 

शाखा प्रबन्धक पौडेलका अनुसार बैंकको भल्टभित्र रहेको फलामे सेफमा पनि ५ करोड भन्दा बढी नै रकम राखिएको थियो। तर चोरहरूले टिनको बाकसमा रहेको रकम मात्रै चोरेर लगेको र सेफमा रहेको रकम भने सेफमै सुरक्षित अवस्थामा रहेको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.