गुल्मीका ८० सामुदायिक वनमा आगलागी, आगो लगाउने दुईजना पक्राउ

गुल्मीका ८० सामुदायिक वनमा आगलागी, आगो लगाउने दुईजना पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

गुल्मी : गर्मीयाम बढेसँगै गुल्मीमा आगलागीका घटना दैनिक बढिरहेका छन् । पछिल्लो समय जिल्लाका १२ वटै स्थानीय तहमा रहेका सरकारी,सामुदायिक तथा व्यक्तिगत वनमा आगलागी भइरहेको छ । आगलागीका कारण जिल्लाभर दर्जनौं घर गोठ जलेर पूर्ण क्षति भएका छन् भने कयौं घरगोठमा आंशिक क्षति पुगिरहेको छ । 

आगोका कारण सयौं वन्यजन्तु तथा पशुचौपायले ज्यान गुमाएका छन् । बढ्दो गर्मी र नागरिकमा जनचेतनाको कमीका कारण जिल्लाका विभिन्न ठाउँमा आगलागीका घटना बढ्दै गएको डिभिजन वन कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख तथा वरिष्ठ वन अधिकृत पंकजकुमार ठाकुरले बताए । उनका अनुसार हालसम्म जिल्लाभर ८० सामुदायिक वनमा आगो लागेको छ भने २ हजार बढी हेक्टर क्षेत्रफल नष्ट भएको छ ।

आगलागी घटनाको कारण र नियन्त्रणमा भइरहेका पहलका बारेमा मंगलबार जिल्लास्थित सञ्चारकर्मीसँग डिभिजन वन कार्यालय गुल्मीले अन्तरक्रिया समेत गरेको छ । अग्नि नियन्त्रणको लागि तीनै तहका सुरक्षाकर्मी र रेसुंगा नगरपालिकालाई कार्यालयले आवश्यक सामाग्री हस्तान्तरण गरिसकेको छ । डढेलो नियन्त्रणको लागि समुदायस्तरमा जनचेतना फैलाउन र  सबै एकजुट भएर लाग्न समेत वरिष्ठ वन अधिकृत ठाकुरले आग्रह गरेको छन् । गतवर्ष जिल्लाभर १ सय ८ वटा सामुदायिक वनमा आगलागी हुँदा २२ सय हेक्टर क्षेत्रफल नष्ट भएको थियो । 

वनमा आगो लगाउने दुईजना पक्राउ

बढ्दो आगलागीका कारण गुल्मीको वातावरण धुवाँमय बन्दा वायु प्रदूषण बढेको छ । एक सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्लाको रेसुंगा नगरपालिका –७ स्थित सिस्न्यारा पातल सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा रेसुंगा गाउँपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी छन् । 

गत बैशाख ७ गते उक्त सामुदायिक वनमा आगलागी हुँदा बोटविरुवा र वन्यजन्तुमा ठूलो क्षति पुगेको थियो । आरोपी दुवैजनाले वनमा आफूहरुले आगो लगाएको स्वीकार गरिसकेका छन् । आगलागी घटनाबारे उनीहरूबाट थप अनुसन्धान भइरहेको छ । उनीहरूलाई नेटा बजारबाट वैशाख १७ पक्राउ गरिएको थियो । उनीहरुलाई वन ऐन २०७६ मार्फत आगो लगाएको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ । वनमा आगो लगाउने व्यक्ति पुष्टि भएमा ३ वर्ष कैद र ६८ हजार जरिवान वा दुवै सजाय हुन सक्ने कार्यालयले जनाएको छ । 

पाखो तथा खरबारीमा राम्रो घाँस पलाउने आशामा नागरिकले आफैँ आगो लगाउने गरेका छन् भने खेतबारीमा बर्खेबाली लगाउनु अघि स्याउला,पात पतिङ्गर पोल्ने जस्ता गतिविधिका कारण आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जनाकारी दिए ।  

प्राय:दिनहुँजसो जिल्लाका विभिन्न स्थानमा रहेका व्यक्तिगत खरबारीमा आगलागी भइरहेका छन् । अधिकांश घटनामा मानवीय लापरबाही नै बढी देखिएको प्रहरी नायब उपरीक्षक पोखरेलले जनाकारी दिए ।आगलागी भएका अधिकांश ठाउँमा तीनवटै तहका सुरक्षाकर्मी,स्थानीयवासी र वन कार्यालयका कर्मचारीको सहकार्यमा निभाउने गरिएको छ । एकपटक निभाइसकेका ठाउँमा पनि पुनः आगलागी हुने गरेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.