रातु नदी सभ्यताको दोहन तीव्र : जिसस प्रमुख र पत्रकारलाई खोलामै आक्रमणको प्रयास

रातु नदी सभ्यताको दोहन तीव्र : जिसस प्रमुख र पत्रकारलाई खोलामै आक्रमणको प्रयास
सुन्नुहोस्

काठमाडौं : महोत्तरीको बर्दिबासस्थित रातु नदी सभ्यता अन्तर्गतको रातु खोला क्षेत्रबाट तस्करहरूले नदीजन्य पदार्थको दोहन तीव्र परेका छन्। क्रसर माफियाहरूले प्राकृतिक स्रोतको दोहन गरेर मालामाल भइरहेका छन्। अन्न र पानी नपाएर नागरिक पिरोलिएका छन्। 

तस्करहरूले दिनदाहाडै रातु खोलाको वरिपरिबाट २०-३० फिट गहिरो खाल्टो हजारौं घनमिटर नदी जन्य पदार्थ खनेर तस्करी गरिरहेका छन्। नशालु पदार्थको सेवन गर्दै माफियाहरूले गुण्डागर्दी शैलीमा स्थानीयलाई त्रासमा राखेर रातदिन नदीजन्य पदार्थको दोहन गरिरहेका अनुगमनका खटिएकाहरू नै बताउँछन्।

सूचना पाएर अवैध उत्खननको अनुगमन गर्न पुगेका जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख समुनलाल कर्ण र पत्रकार विशाल बस्नेतमाथि बिहीबार किसानगरस्थित रातु नदीको तटबन्ध नजिकै माफियाले आक्रमणको प्रयास गरेका थिए। आफूलाई मनकामना क्रसर उद्योगको सञ्चालक बताउने प्रकाश खड्काले आक्रमणको प्रयास गर्दै समाचार संकलनमा अवरोध गर्नुको साथै सञ्चार सामग्री समेत खोस्ने प्रयास गरेको पीडित पत्रकारले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ। यस घटना लिएर महोत्तरीको प्रहरी, प्रशासनको बैठक बसेको जनाइएको छ।

बर्दिबास नगरपालिकाले चालु आवका लागि मुख्य बहाव क्षेत्रबाट नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लगाएको थियो। त्यस ठेक्का विरुद्ध सर्वोच्च अदालतमा परेको रिट माथि वैशाख १८ गते पूर्ण सुनुवाइ हुँदैछ। फागुन २० गते सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गर्दै रातु खोला उत्खनन बन्द गर्न भनेको थियो। 

तर, तस्करहरूले कानुन हातमा लिँदै रातारात खोला र बगर खनिरहेका छन्। सर्वोच्च अदालतमा रिट निवेदन हालेका समूहका शंकर महतोका अनुसार रातु खोला र  बगरबाट गहिरो खाल्टो खन्दै बालुवा, गिट्टीको दोहन गरिरहेका छन्। कानुनी राज्यमा पनि माफिया र गुन्डाहरूको साम्राज्य  फस्टाएको छ। यो क्रम २५ वर्षदेखि चल्दै आएको छ। प्रहरी प्रशासन र स्थानीय सरकार उनीहरूको अगाडि निरीह जस्तै छन्।

‘खोला उत्खनन रोक्न नागरिकहरू सर्वोच्च अदालतमा छन्। अवैध रुपमा लगाएको खोला उत्खननको ठेक्का विरुद्धमा हामी अदालत गएका छौं’, महतोले भने, ‘ हाम्रो दाबीलाई मध्यनजर गरेर सर्वोच्चले तत्कालका लागि उत्खननमा  रोक लगायो। तर, त्यसको पनि कार्यान्वयन भएको छैन।’

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिलाउने भन्दै बर्दिबासबासी न्यायको पर्खाइमा छन्। तर, रातु खोला र त्यस वरिपरिको बगरबाट माफियाहरूले युद्धस्तरमा बालुवा-गिटी निकालिरहेको रिट निवेदक महतोले बताए। उनले भने, ‘एक प्रकारले सार्वजनिक सम्पत्तिको डकैती जारी भइरहेको छ। तर, प्रहरी प्रशासन र स्थानीय सरकार चुप लागेर बसेको छ।’ यसबारे महोत्तरीका राजनीतिक दलहरूले शनिबार जिल्ला समन्वय समितिका प्रमुख, सीडीओ, एसपीलाई ध्यानाकर्षण गराएको उनले बताए।

नेकपा माओवादी केन्द्रका महोत्तरी जिल्ला इन्चार्ज राजु खड्काले रातु खोलामा सार्वजनिक सम्पत्तिको ब्रह्मलुट धन्दा फस्टाएको बताए। तर प्रहरी, प्रशासन र स्थानीय सरकारको मौन भने अचम्म खालको रहेको सुनाए। ‘हात्तीका हात्ती डुब्ने र बस्तीका बस्ती बिलाउने खाल्टो खनिँदैछ। यति भनेपछि प्रहरी-प्रशासन र स्थानीय जनप्रतिनिधिहरूको सेटिङ बारे भन्नु पर्छ र ?’ उनले प्रश्न गर्दै भने, ‘रातु खोलाको बालुवागिट्टी हिरा जस्तै बहुमूल्य छ। त्यसैले माफियाहरूले त्यसको दोहन गरिरहेको छ।’ 

उनका अनुसार अवैध कामको उजागर गर्न, नियन्त्रण गर्नका लागि स्थलगत रिपोर्टिङ गर्न र अनुगमन गर्न पुगेका पत्रकार र जिल्ला समन्वय समितिका अध्यक्षमाथि नै माफियाले दुर्व्यवहार र आक्रमणको प्रयास गर्छ र प्रहरी प्रशासनले दोषीलाई पक्राउ गर्दैन भने हामीले के बुझ्ने ? गुण्डागर्दीको आडमा बर्दिबास नगरक्षेत्रमा खोला दोहन भइरहेको भन्दै उनले भने, ‘यहाँ क्रप्सन र क्राईम पोल्टिक्सले शीर उठायो। यो प्रहरी प्रशासनलाई चुनौती नै हो।’ गाउँ-गाउँमा प्रहरी, प्रशासन, स्थानीय सरकारका प्रतिनिधि हुँदा हुँदै माफियाहरूले सार्वजनिक सम्पतिको डकैती गर्नु सोचनीय विषय बनेको उनले बताए।

अढाई दशकदेखि  रातु नदी सभ्यताको तीव्र दोहनले नदी वरिपरिका २५ हजार विघा उब्जाउ भूमि मरुभूमीकरण बनिसकेको छ। ३५ वटा बस्तीका ७५ हजार स्थानीय बर्सेनि प्राकृतिक प्रकोप बाढीको कटान, डुवानले पीडित छन्। चुरे क्षेत्रबाट बग्ने खोला दोहनले अन्न अभाव र पिउने पानीको चरम हाहाकार भइरहेको चुरे विज्ञ डा. विजय कुमार सिंहले बताए। उनले भने, ‘चुरे क्षेत्रका वन, नदीनाला, खाला संरक्षण नभए मधेश मरुभूमिकरण बन्दै जान्छ।’

घटनाको कडा निन्दा र  विरोध

जिल्ला समन्वय समितिका अध्यक्ष र पत्रकारमाथि भएको घटनाको चौतर्फी निन्दा र कडा विरोध भएको छ। नेपाल पत्रकार महासंघ महोत्तरी, चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाज जनकपुरधाम, बर्दिबास नगर पत्रकार सञ्जालले अलग अलग प्रेस विज्ञप्ति जारी गर्दै दुर्व्यवहार र आक्रमणको कडा शब्दमा भर्त्सना र विरोध गरेको हो। दोषीलाई तुरुन्त पक्राउ गरेर कारवाही गर्न माग गरिएको छ।

जिल्ला समन्वय समिति महोत्तरीका अध्यक्ष सुमन लाल कर्णले खोला दोहन गर्नेहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई जानकारी गराएको बताए। ‘हामी कसैको डर, त्रासले तर्सिदैनौं र डराउँदैनौं,’ अध्यक्ष कर्णले भने, ‘कानुनी व्यवस्थाको डर नभएसम्म नीति नियमको परिपालन हुँदैन। कानुन कार्यान्वयनमा जाँदा धेरै अवरोधहरू आउँछन्। हामी सबै एक भएर त्यसको सामना गर्दै समस्याको समाधान गर्छौं। ’ 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले दुर्व्यवहार र आक्रमणको घटना बारे जानकारी पाएलगत्तै प्रहरीले दोषीको खोजी गरिरहेको बताए। उनले भने, ‘दोषीलाई पक्राउ गर्न प्रहरी सक्रिय भएको छ। गुन्डागर्दी गर्नेलाई कारबाही गरेर तिनीहरूको मनोवल निरुत्साहित गर्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.