उपचार खर्च जुटाउन जहानै सडक निर्माणमा

उपचार खर्च जुटाउन जहानै सडक निर्माणमा
चुमनुब्री ३ न्याकफेदी आसपास पहरो फुटाउँदै मजदुरहरू । तस्बिर : शिव उप्रेती

गोरखा : रुकुमपश्चिमका २२ वर्षका दाउद बुढा अहिले गोरखाको न्याकफेदीमा सडक खन्ने काममा व्यस्त छन् । नेपाली सेनाले जिम्मा लिएको सो सडकको पहाड फुटाउने काममा उनी मात्र होइन, उनका बुवा नर्द बुढा, जेठा दाइ शेखर बुढा, दिदी मनमती बुढाथोकी, भिनाजु विजय बुढाथोकी सो सडकमा काम गरिरहेका छन् ।

उनीहरू विगत तीन वर्षदेखि यस सडकमा काम गरिरहेका छन् । दाउद १४ वर्षकै हुँदा बुवासँग काम गर्न हिँडेका थिए । त्यतिबेला उनका बुवा दार्चुलाको तिंकर सडक निर्माणको काम गर्दथे । तर, बेस्सरी बिरामी भएपछि उनी उपचार गर्न काठमाडौंं गए ।

काठमाडौंंले ठीक गर्न नसकेपछि फेरि उपचारका लागि भारत गए । दिल्लीमा धेरैपटक उनको अप्रेसन पनि गरियो, तर अझैसम्म पूर्ण रूपमा ठीक भएको छैन । ‘पेटको अप्रेसन गरेर ६ महिनासम्म आईसीयूमा राखेर उपचार भयो । ३० लाखभन्दा धेरै त काठमाडौंमै खर्च भयो । सबैले आस मारेका थिए’, उनकी दिदी मनमती भन्छिन्, ‘काठमाडांैले इन्डिया लैजानू भन्दियो । इण्डियामा पछिल्लोपल्ट अस्ति मंसिरमा पनि दुई पटक अप्रेसन भयो । त्यो पनि बिग्रियो । फेरि जेठमा बोलाएको छ । काम नगर भनेको टेर्दैन ।’ 

दाउदको घाँटीमा अहिले पनि बाहिरबाट प्वाल पारेको घाउ ट्वाङ्ङ देखिन्छ । पेट र घाँटीको असफल अप्रेसन गरे पनि दाउदलाई बिरामी जस्तो बनेर घरमा रल्लिएर बस्न मन लाग्दैन । त्यसैले बुवा, दाइ, दिदीभेनाको पछि लागेर काममा हिँडेका छन् । ‘उपचार खर्च धेरै चाहिन्छ, त्यही भएर काम गर्न आएको हो’, उनी भन्छन्, ‘बुवा र दाइले दुःखले कमाएको पैसाले मात्र पुग्दैन, त्यसैले धेर थोर भए पनि सघाउ हुन्छ भनेर म पनि काममा आएको हुँ ।’

उनी यसअघि बुवाकै टिममा रहेर डोल्पा सडकमा काम गर्दथे । ‘डोल्पा सडकमा काम गर्दा पेट दुखेर मुच्र्छा परेर ढलेछु । काठमाडौंं लगेर आईसीयूमा भर्ना गरेछन्’, उनी भन्छन्, ‘त्यहाँँ ६ महिनासम्म आईसीयूमा बसेर उपचार गर्दा पनि निको भएन ।’ भारत लगेर उनको उपचार पनि गरियो । तर निको भएन । ‘अस्ति मंसिरमा नि दुईफेर अप्रेसन गरेको, अझै भएन । फेरि जेठमा आऊ भनेको छ’, उनले भने, ‘जेठमा इन्डिया जान खर्च धेरै चाहिन्छ, त्यसैले काम गर्न आएको हो ।’ बिरामी भएर ६ वर्षसम्म काम नगरी आराम गरेर बसेको उनको भनाइ छ । 

उनका बुवाले यसअघि नेपाली सेनाले जिम्मा लिएको दार्चुला र डोल्पाको सडक निर्माणमा काम गरिसकेका छन् । अहिले विगत तीन वर्षदेखि उनको जहान, परिवारै गोरखाको बेनीघाट, आरुघाट, लार्के सडकको काममा छन् । 

पहाड फुटाएर सडक खन्ने काममा धेरै जोखिम हुन्छ । ‘काम गर्नुभन्दा नि बिस्फोट गरेपछि माथिका ढुंगाहरू सबै धराप भएर बसेका हुन्छन् । कतिबेला खस्छ पत्तै हँुदैन । त्यसबाट बच्नै गाह्रो हुन्छ’, उनले भने । नेपाली सेनाले तिब्बतको सीमा जोड्ने योजनाका साथ विगत सात वर्षदेखि जोडतोडले बेनिघाट, आरुघाट, लार्के सडक निर्माणको काम गरिरहेको छ । पृथ्वी राजमार्गको बेनिघाटदेखि आरुघाट, आर्खेत, सोती हुँदै हावा डाँडासम्मको ६२ किलोमिटर सडक निर्माणको काम सडक विभाग स्वयंले गरेको थियो ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.