कालीकोटमा बाँदर आतंक : बाली बचाउन किसानलाई हम्मे

कालीकोटमा बाँदर आतंक : बाली बचाउन किसानलाई हम्मे

खाँडाचक्र –८ कै सृजना मल्लले विगतमा बाँदर धपाएर बालीको संरक्षण गर्न सकेपनि अहिले बाँदरको संख्या बढेकाले बाँदरले उल्टै आक्रमण गर्न थालेको गुनासो पोखिन्।

कालीकोट : कालीकोटमा बाँदर आतंक बढ्दै गएको छ । बाँदर आतंकका कारण किसानलाई बाली जोगाउन मुस्किल भएको छ । किसानले खेतबारीमा लगाएको हिउँदे अन्नबाली बाँदरले नष्ट गर्न  थालेपछि किसान हैरान भएका हुन् । 

जिल्लाका ९ वटै स्थानीय तहमा बाँदरले दुःख दिइरहेको किसानले बताएका छन्  । कर्णालीका हिमाली जिल्लामा प्राय पछिल्लो समय उत्पादनमा ह्ररास हुन थालेको छ। खेतवारीमा फलेको अन्नबाली किसानले भित्राउन नपाउदै बाँदरले खाइदिनु,गाउँमा खाद्यान्न अभाव हुनु,बाँदरका कारण खेतवारी बाँझै हुनुले थप समस्या भएको महावै गाउँपालिका -७ का स्थानीय किसान धनबहादुर रोकायाले बताए । 

उनले भने,' खेतबारीमा लगाएको गहुँ,तरकारी बाँदरले नष्ट गर्न थालेपछि राम्नी कोटबाडा,औलगेला,गणेशकोटललगायत अधिकांश ठाउँमा जमिन बाँझै छ ।  स्थानीय सरकारले कुनै पनि पहल नगरेको किसानको गुनासो छ । 

महावै गाउँपालिकाका उपाध्यक्ष दानसिंह सेजुवालले आफ्नो गाउँपालिकामा बाँदर आतंक बढ्दो भएपनि सरकारको तर्फबाट कुनै पहल हुन नसकेको बताए । उनले भने,'कतिपय किसानले अन्नबाली नै लगाउन छाडेका छन् । यसरी बाँदरले सताएको यो वर्ष मात्रै होइन । ७/८ वर्ष भइसक्यो । अबका दिनमा यसबारे कार्यपालिकाको बैठकमा छलफल गरी केही किसानका लागि राहत ल्गाउने प्रतिबद्धता  जनाउँछौं।'

यस्तै खाँडाचक्र नगरपालिका-८ निवासी कुष्मा मल्लले पनि आफूहरूले बाँदर आतंक झेल्दै आएको बताइन् । ‘खाना पकाएर अन्य कामका लागि बाहिर गएको बेला बाँदरले घरभित्र पसेर खान समेत दिँदैनन्,'उनले भने,‘अन्नबाली त्यसैगरी नष्ट गरिदिन्छ । हिजो आज त बाँदर धपाउँदै दिन बित्छ । घरको काम सबै छुट्छ। के खाने,के लगाउने भन्ने पीर  छ ।’

खाँडाचक्र –८ कै सृजना मल्लले विगतमा बाँदर धपाएर बालीको संरक्षण गर्न सकेपनि अहिले बाँदरको संख्या बढेकाले बाँदरले उल्टै आक्रमण गर्न थालेको बताइन् । उनले भनिन्, ‘लगाएको अन्नबाली बाँदरले नष्ट गर्न थालेपछि अब किसान खेतबारी छोडेर विदेश जानुपर्नेवाध्यता आएको छ। ' उनले थपिन्, 'धपाउन गयो भने उल्टै आक्रमण गर्ने डर । महिला र बालबालिकालाई त बाँदरले देख्नै सक्दैनन् । उल्टै लखेट्न पो आउँछन् । मेरो  लुगा समेत बाँदरले च्यातिदियो।'

कृषि विकास कार्यालयका प्रमुख भरत बस्नेतले जति दु:ख दिएपनि  बाँदरलाई मार्न वा क्षति पुर्‍याउन नपाइने बताए।  वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रुपमा सूचीकृत गरेको छ । स्थानीय सरकारले बाँदर धपाउने यन्त्रको प्रयोग गरेमा किसानलाई राहत हुन सक्छ ।

पलाँता ८ का स्थानीय मदन रोकायले बाँदरले पुर्‍याएको क्षति राज्यले पूर्ति गरिदिनुपर्ने किसानको माग रहेको  बताए । उनले सम्बन्धित निकायसँग क्षतिपूर्तिको माग गर्दा समेत कसैले वास्था नगरेको गुनासो गरे।

उनले बाँदर धपाउन स्थानीय प्रशासनले सहयोग गर्नुपर्ने माग गरे । बाँदर आंतक कम गर्न स्थानीय सरकारले केही पहल नगरेको पलाँता ७ का हरी बिष्टको आरोप छ । जिल्लाका विभिन्न गाउँमा बाँदरले बाली खाइदिएपछि  गुनासो बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

कृषकले बाँदरको व्यवस्थापन एवम् क्षतिपूर्तिको माग गर्दै आए पनि त्यस सम्बन्धमा स्पष्ट नीति तयार नहुँदा उनीहरूले राहत तथा क्षतिपूर्ति पाउन नसकेको हो।

सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले सबै एकजुट भएर बाँदरका कारण उब्जिएको समस्या समाधान गर्नुपर्ने बताए। उनले जिल्लाको पलाँता गाउँपालिका,पचालझरना गाउँपालिका, खाँडाचक्र नगरपालिका, नरहरीनाथ गाउँपालिकालगायत ९ वटै स्थानीय तहमा बाँदर आतंकले मुख्य खाद्यबालीका रूपमा रहेको गहुँ बाली बचाउन हम्मेहम्मे परेको बताए।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.