राजनीतिक दबाबले ‘तरबार प्रहार गर्ने पक्राउ परेन’

राजनीतिक दबाबले ‘तरबार प्रहार गर्ने पक्राउ परेन’
तरबार प्रहार गरेर ज्यान मार्न खोज्नलाई प्रहरीले पक्राउ नगरेकोमा कारबाहीको माग गर्दै पीडित परिवार।  तस्बिर : जितेन्द्रनारायण ठाकुर
सुन्नुहोस्

विराटनगर : जग्गाको विवादले दुई युवामाथि ज्यान मार्ने तरिकाले तरबार प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा नलिएको भन्दै पीडित परिवारले आपत्ति जनाएको छ।

किटानी जाहेरी दिए पनि प्रहरीले राजनीतिक पहुँचको अधारमा पक्राउ नगर्दा गाउँमा त्रसित भएर बस्नु परेको पीडितको भनाइ छ। विराटनगरमा आइतबार पीडित परिवारले पत्रकार सम्मेलनको आयोजना गरेर ज्यान जाने गरी तरबार प्रहार गरी ४ लाख नगद लुट्नेहरू गाउँमा खुल्लम्खुल्ला घुम्ने गरेकाले आफूहरू त्रसित भई विस्थापित बन्ने अवस्थामा पुगेको दुःखेसो पोखे।  

विराटनगर—१४ का पूर्ववडाध्यक्ष ६५ वर्षीय बलदेव यादवसहित ९ जनाविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय रानी विराटनगरमा किटानी जाहेरी दर्ता गराएको छ। गत चैत २९ मा विराटनगर १४ का पूर्ववडाध्यक्ष बलदेव यादवको योजनामा ९ जनाको समूहले विराटनगर १४ का ४० वर्षीय सन्तलाल यादव र सोही ठाउँका ३० वर्षीय प्रकाश यादवमाथि तरबार प्रहार गरेका पीडितको आरोप छ। तरबार प्रहारबाट सन्तलाल गम्भीर घाइते छन्। उनका दुवै हातमा हड्डी भेटिने गरी काटिएकाले हातका औंलाहरूसमेत काम गर्न छाडेका छन्। उनको अहिले विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

विराटनगर १४ का ६५ वर्षीय बलदेव यादव, सोही ठाउँका ३४ वर्षीय शंकर भनिने रविन यादव, ४४ वर्षीय फुलेश्वर यादव, ३१ वर्षीय रोजौ भन्ने राजवेश यादव, ४६ वर्षीय उपनारायण यादव, ४२ वर्षीय शंकर यादव, ६५ वर्षीय धनपत यादव, ३२ वर्षीय दीपेश यादव र ६२ वर्षीय जोगीलाल भनिने योगीलाल यादवविरुद्ध पीडितले इप्रका रानीमा किटानी जाहेरी दर्ता गराएका छन्। किटानी जाहेरी दिइएकामध्ये फुलेश्वर प्रहरी नियन्त्रणमा छन्। उनी बिरामी परेको भन्दै अहिले विराटनगरस्थित मेट्रो न्युरो हस्पिटलमा उपचाररत छन्। 
तरबार प्रहारबाट गम्भीर घाइते भएका सन्तलाल यादवकी श्रीमती ममता यादवले श्रीमान्लाई तरबार प्रहार गर्नेहरू अहिले गाउँघरमा निर्धक्क घुमिरहेका गुनासो गरिन्। यस विषयमा प्रहरीलाई खबर गरे पनि पक्राउ नगरेको उनले आरोप लगाइन्। त्रासले गर्दा श्रीमान्लाई अस्पतालमा समेत भेट्न नगएको उनले बताइन्। तीन सन्तानका बाबु यादवको अवस्था  खतरामुक्त नरहेको बताइएको छ। 

सन्तलालको बुबा पञ्चाल यादवले आफूले खेतीको पैसा लिएर विराटनगर आइरहेका बेला पूर्ववडाध्यक्ष बलदेव यादवको निर्देशनमा ९ जनाको समूहले पैसा लुट्न लाग्दा छोरालाई फोन गरेर बोलाएको सुनाए। छोरा आउनासाथ उनीहरूले तरबारले काट्न थालेका उनले  बताए।

‘छोराले मोटरसाइकलको हेलमेट नलगाएको भए दुई टुक्रा बनाउने थिए। हेल्मेटले नै जोगायो तर दुवै हातका नसा काटिने गरी आधा दर्जन स्थानमा काटिएको छ’, उनले भने। पैसा लुट्न लागेको भन्दै फोन आएपछि आफू सन्तलालसँगै गएको र त्यहाँ आफूमाथि पनि तरबार प्रहार भएको अर्का घाइते प्रकाश यादवले बताए। ‘पूर्ववडाध्यक्षले मुद्दा केही दिनमा खाइदिने भन्दै धम्की दिँदै गाउँमा हिँड्न थालेको छ’, उनले भने। पीडित परिवारले घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

घटनाको मुख्य अभियुक्त तरबार प्रहार गर्ने ३२ वर्षीय दीपेश यादव रहेको पीडितको भनाइ छ। मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताए। ‘उजुरी प्राप्त भएको छ। हामीले घटनाको अनुसन्धान गर्दैछौं,’ एसपी कार्कीले भने, ‘आक्रमणमा संलग्नहरू कारबाहीको दायरामा आउनेछन्।’ अभियुक्तहरू फरार रहेकाले खोजी कार्य तीव्र बनाइएको उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.