मतदातालाई आफ्नो पक्षमा पार्ने होडबाजी

चुनावमय बन्यो इलाम

चुनावमय बन्यो इलाम

इलाम : जाडो निख्रिएर गर्मी छिप्पिँदै गर्दा सुन्दर पहाडी जिल्ला इलाम भने चुनावले तात्तिएको छ। उम्मेदवारहरू घरघर पुगेर सुन्दर र समृद्ध जिल्लाको सपना देखाउँदै मतदाता फकाउँदैछन्। क्षेत्र नम्बर २ को विकासका विभिन्न अवधारणा प्रस्तुत गर्दै मतदातालाई आफ्नो पक्षमा पार्ने होडबाजी चलेको छ। 

वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन देशभरका अधिकांश नेता कार्यकर्ता यतिखेर इलाममा छन्। उनीहरू आश्वासनका पोका बाँड्दै राजनीतिक शक्ति प्रदर्शनमा उत्रिएका छन्। 

गत भदौ २६ गते नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनपछि निर्वाचन आयोगले उपनिर्वाचनको मिति तय गरेको हो। आयोगले मिति घोषणा गरेसँगै इलाममा चुनावी उत्सव सुरु भएको छ। उम्मेदवारहरूले अहिले मतदाताको घरदैलोमा पुग्ने क्रम तीव्र बनाएका छन्। null

दलका ‘हेभिवेट’ नेताहरूको बाक्लो उपस्थितिले इलाममा चहलपहल निक्कै बढेको छ। उम्मेदवारहरू किसानका खेतबारीसम्म पुगेर आफ्ना वाचाहरू सुनाइरहेका छन्। सडक, शिक्षा स्वास्थ, खानेपानीलगायत भौतिक पूर्वाधारको अभावमा दशकौंदेखि उपेक्षित बनेको छ इलाम— २। यहाँका जनताले राज्य संयन्त्रकै आँखा यस ठाउँको अभावमा पर्ने आशा गरिरहेका छन्। निर्वाचन नजिकिँदै गर्दा दलहरू ठूला सभा र कोणसभामा व्यस्त छन्। 

शीर्ष नेता नै भोट माग्न व्यस्त

उपनिर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार जिताउन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले इलामको मंगलबारे आएर आमसभामा भाषणमात्रै गरेनन्, सबैसँग मत पनि मागे। स्वर्गीय सुुवास पुत्र सुहाङलाई मत मागेर नेता ओली फर्किएलगत्तै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितको केन्द्रीय नेतृत्वको टोलीले इलाम सदरमुकाममा खुल्ला सभा गरेर डम्बर खड्कालाई मतदान गर्न आह्वान गरे। 

गृहमन्त्री रवि लामिछानेसहितको टोली आफ्नो दल रास्वपाका उम्मेदवार मिलन लिम्बूको लागि गाउँमै पुगेर भोट माग्न व्यस्त भएको दृश्य यत्रतत्र देखिन्छ। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिङ नागरिकका माझ पहिचानको मुद्दा लिएर उत्रिएका छन्। 

दलबाट टिकट लिएर उम्मेदवार बनेका मात्र होइन, स्वतन्त्र उम्मेदवारी दिनेहरूको पनि दाबी आफूले चुनाव जित्ने नै छ। वाम किल्लाको उपमा पाएको इलाममा स्वर्गीय नेम्वाङ पुत्र सुहाङलाई नेकपा माओवादीले समेत साथ दिएको छ। अघिल्लो पटक एक्लै चुनाव लडेर निर्वाचन जितेको एमालेले यसपटक माओवादीको साथ पाएपछि सजिलै जित्ने सोझो आकलन गरेर बसेको छ।

यस्तो छ अघिल्लो निर्वाचनको तथ्यांक

निर्वाचन आयोगको तथ्यांकअनुसार गत निर्वाचनमा एमालेले समानुपातिकतर्फ २६ हजार ५ सय ६२ मत पाएको थियो। 

null

निर्वाचन जितेका स्वर्गीय सुवासले प्रत्यक्षतर्फ ३० हजार २० मत पाएका थिए। समानुपातिकमा ५ हजार १ सय ५३ मत पाएको माओवादीसमेत एमालेलाई नै मत दिन तयार भएको छ। गत निर्वाचनमा माओवादीले गठबन्धनका कारण कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई मत दिएको थियो। 

चुनावी अभियानमा उम्मेदवारका अवधारणा

इलाम क्षेत्र नं. २ को उपनिर्वाचनका लागि नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङले चुनावी अभियानको क्रममा सुशासन, कृषि, पर्यटन, स्वास्थ्य, सडक, शिक्षा, उद्योग, खेलकुद, खानेपानी, सूचना–सञ्चारलगायत विषयका एजेन्डा बनाएका छन्। उनी यसैमा केन्द्रित भएर मतदातासँग कुरा गरिरहेका छन्।

उनले ‘इलामेलीको इलम : सहरका हरेक डिपार्टमेन्टल स्टोरमा मेड इन् इलाम’, खेलकुदतर्फ ‘एक वडा एक खेलकुद मैदान, एक स्थानीय तह एक रंगशाला : खेलाडीको संरक्षण हाम्रो अभिभारा’ लगायतका नारा अघि सारेका छन्। 

उनी भन्छन् ‘नागरिकको अवस्था र गुनासो बुझेको छु, त्यसलाई सम्बोधन गर्न लाग्नेछु।’ उनले आफ्ना स्वर्गीय पिता सुवास नेम्वाङका वाचा पूरा गर्ने बताउने गरेका छन्। नेम्बाङलाई नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलले समेत समर्थन गरेका छन्। क्षेत्र नं. २ को उपनिर्वाचनका लागि १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। 

निर्माण व्यवसायीको छवि बनाएका नेपाली कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्कालाई त्यस क्षेत्रका मतदाताले सुख–दुःखमा सहयोग गर्ने ‘दानी’ नेताको रूपमा सम्झन्छन्। ‘सेवा गरिनै रहेको छु, त्यस क्षेत्रको प्रतिनिधि भएर अझ धेरै काम गर्न चुनावी मैदानमा उभिएको हुँ’, खड्का भन्छन्, ‘जनताको सुखदुःखमा साथमै छु। भुगोल बुझेको छु। समस्या सबै थाहा छ। मतदाताले मलाई नै जिताउँछन्।’

null

कृषि, पर्यटनको दृष्टिले निक्कै अघि रहेको इलाम २ का उम्मेदवारहरू कोही लिखित त कोही मौखिक रूपमा उक्त क्षेत्रको विकासको अवधारणा सुनाउँदै मतदाताको आँगनमा पुग्ने क्रममा छन्। कांग्रेसका उम्मेदवार खड्काले आफ्नो क्षेत्रको विकासका लागि ८ वटा अवधारणा अघिल्लो आइतबार सार्वजनिक गरेका छन्। 

उनले अभिभावक कृषि बैंक तथा बिमा, बाटोदेखि विकाससम्म, इलमी इलामेली शिक्षा, इलामेली उद्यमशीलता स्कुल र इलाम लगानी सम्मेलन २०८२ लाई मुद्दा बनाएका छन्। खड्काले भने, ‘आठ (अ) र चियाको बजारीकरणमा काम गर्ने योजना बनाएको छु।’ उनले कृषि उपजको बजारीकरण र उचित मूल्यका लागि समेत काम गर्ने प्रतिबद्धता जनाएका छन्। कृषि अनुदान, कृषि तथा पशु बिमालाई किसानको उन्नतिमा लगाउने उनको अवधारणापत्रमा उल्लेख छ।  

खड्काले अघिल्लो निर्वाचनमा २९ हजार ९ सय ६ मत पाएका थिए। कांग्रेसका दह्रा आकांक्षी ठानिएका भेषराज आचार्य खड्कालाई सघाउन चुनावी मैदानमा उत्रिएपछि कांग्रेसमा उत्साह छाएको छ। आचार्य भन्छन्, ‘यस पटक कांग्रेसको जित पक्का छ।’ कांग्रेसका जिल्ला सचिव पूर्ण गौतमले कांग्रेसमा यसपटक अभू्तपूर्व उत्साह रहेको बताए। 

गत निर्वाचनमा समानुपातिकतर्फ ५ सय ८६ मत प्राप्त गरेको नेकपा (एस)का उम्मेदवार जितबहादुर राईले पनि चुनावी अभियानलाई तीव्र बनाएका छन्। उनले इलाम क्षेत्र नं. २ को भूगोल र समस्या बुझेको उम्मेदवार भएकाले यस पटक आफूले सबै उम्मेदवारलाई उछिन्ने दाबी गरे। नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल आफ्नो दलले यस पटक आश्चर्य पार्ने परिणम ल्याउने बताउँछन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बू पनि चुनावी अभियानमा छन्। आफूले नागरिकको पक्षमा काम गर्ने उनले बताए। निर्वाचन अघिदेखि नै जनताको घरदैलोमा पुगेर सूक्ष्म विश्लेषण गरेको बताउने रास्वपाले यसपटक इलामबाट एक जना सांसद थपेर फर्कने दाबी गर्दै आएको छ। केन्द्रीय अध्यक्ष रवि लामिछाने नागरिकलाई मत परिवर्तन गर्न आग्रह गर्दै गाउँतिरै व्यस्त छन्। 

रास्वपासँग अहिले ‘पुराना दलले त्यस क्षेत्रमा काम नगरेको’ एजेन्डा छ। पार्टीका अधिकांश नेताहरूले त्यही एजेन्डालाई प्रमुखताका साथ उठाइरहेका छन्। रास्वपाले गत निर्वाचनमा प्रत्यक्षतर्फ १ हजार ३ सय ८० मत पाएको थियो भने समानुपातिकमा ४ हजार ६ सय ८६ मत प्राप्त गरेको थियो। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ पनि जनताको आवश्यकताअनुसार काम गर्ने योजना सुनाउँदै आफूले नै जित निकाल्ने दाबी गर्छन्। गत निर्वाचनमा राप्रपाले सो क्षेत्रबाट समानुपातिकमा १ हजार १ सय ९१  मत प्राप्त गरेको थियो भने राप्रपाको उम्मेदवारले ५ सय १० मत प्राप्त गरेका थिए। 
पहिचानवादी उम्मेदवारको रूपमा चर्चा कमाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले पनि चुनावी अभियानलाई तीव्र बनाएका छन्। उनलाई पहिचानवादी मतदाता र धरानका मेयर हर्क साङपाङसहितको साथ छ।  

इलाम—२ मा अर्जुनकुमार शाही (स्वतन्त्र), गणेशबहादुर चौहान (राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल), जयवन्तविक्रम शाह (राष्ट्रिय मुक्ति आन्दोलन नेपाल), डाकप्रसाद गौतम (स्वतन्त्र), दिनेश बोहोरा (स्वतन्त्र), धनराज मगर (नेसनल रिपब्लिक नेपाल), प्रेमकुमार थाम्सुहाङ (जनमत पार्टी), मनीबहादुर लिम्बू (मंगोल नेसनल अर्गनाइजेसन), मनोज निरौला (स्वतन्त्र), योगेन्द्र गुरुङ (स्वतन्त्र), राज बस्याल (स्वतन्त्र), रेशमबहादुर सुनार (नेपाल जनता दल), श्यामबहादुर दर्जी (नेपाल मजदुर किसान पार्टी) सहित १९ जना चुनावी मैदानमा छन्। 

स्थानीय तहमा को बलियो ?

गत स्थानीय निर्वाचनमा इलाम— २ मा कांग्रेस र एमालेकै मत भारी देखिएको थियो। निर्वाचन आयोगको तथ्यांकलाई जोड्दा गत स्थानीय तह निर्वाचनमा कांग्रेसले बढी मत प्राप्त गरेको थियो। निर्वाचन क्षेत्रभित्र पर्ने स्थानीय तहको मत जोड्दा कांग्रेससँग ३५ हजार ४ सय ६१ मत छ। स्थानीय तह निर्वाचनमा कांग्रेसले ६ हजार ६ सय ५० मतसहित चुलाचुली गाउँपालिका अध्यक्ष जितेको थियो। 

null

इलाम क्षेत्र नं. २ मै पर्ने इलाम नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा पनि कांग्रेसले बाजी मारेको थियो। नगरपालिकाको ११ वडामध्ये ९ वटा वडामा कांग्रेसले पकड जमाएको छ। कांग्रेस १ हजार १ सय ८१ मतसहित वडा नं. १ मा विजयी भएको थियो।

त्यसैगरी, ९ सय ७८ मतसहित वडा नम्बर ४ मा विजयी हुँदा १ हजार ४ सय १८ मतसहित ५ नम्बर वडा, १ हजार २ सय २७ मतसहित ६ नम्बर वडा, ९ सय ६२ मतसहित ७ नम्बर वडा, ९ सय १३ मतसहित ८ नम्बर वडा, १ हजार ५ सय ११ मतसहित ९ नम्बर वडा र १ हजार २ मतसहित १२ नम्बर वडा जितेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। यस्तै, माई नगरपालिकाको ६ नम्बर वडामा ८ सय ५८ मत प्राप्त गरी कांग्रेसका उम्मेदवारले विजय हासिल गरेका थिए। 

त्यसैगरी, इलाम क्षेत्र नं. २ मा पर्ने स्थानीय तहमध्ये नेकपा एमालले देउमाई नगरपालिका, मांसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका जितेको थियो। निर्वाचन क्षेत्रअन्तर्गतको तीनमध्ये दुई वडा एमालेले हात पारेको थियो। यता इलाम नगरपालिकाको ११ वटा वडामध्ये ३ वटा वडामा मात्रै एमालेले 
जितेको थियो। 

देउमाई नगरपालिकामा एमालेले ८ हजार ६ सय ९५ मतसहित नगरप्रमुख जितेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ। एमालेले मांसेबुङ गाउँपालिकामा ३ हजार ८ सय १८ र फाकफोकथुममा ५ हजार ३ सय २२ मतसहित गाउँपालिका अध्यक्ष जितेको आयोगले आफ्नो तथ्यांकमा उल्लेख गरेको छ। 

माई नगरपालिकाको तीन वडामध्ये एमालेले वडा नं. ७ मा ९ सय ५० र वडा नं. ८ मा ८ सय ४८ मतसहित वडाध्यक्ष जितेको थियो। यता, इलाम नगरपालिकाको ११ वडामध्ये वडा नं. २ मा ७ सय २४, वडा न ३ मा ८ सय र ११ नम्बर वडामा १ हजार १७ मतसहित वडाध्यक्ष जितेको थियो। 
निर्वाचन आयोगको तथ्यांक हेर्दा इलाम क्षेत्र नं. २ मा पर्ने स्थानीय तहको परिणामअनुसार एमालेसँग ३३ हजार ६ सय ६३ मत छ। जवकि स्व. नेम्वाङले गत संघीय निर्वाचनमा ३० हजार २० मत प्राप्त गरेका थिए। 

सबै दलका आफ्नै एजेन्डा 

वैशाख १५ गते हुने उपनिर्वाचनमा मतदान गर्ने मतदाताको संख्या १ लाख १५ हजार ८ सय ८९ जना रहेको छ। उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय मात्र बनाएका छैनन्, जनमत परीक्षणको अवसरको रूपमा उपयोग गर्ने तयारी गरेका छन्। 

२०५६ सालदेखि इलाम क्षेत्र नं. २ बाट लगातार एमालेका सुवास नेम्वाङले चुनाव जित्दै आएका थिए। एमालेलाई आफ्नो साख जोगाउनुपर्ने बाध्यता छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुहाङलाई नजिताए इलाम विकासका दृष्टिले पछि पर्ने बताएर फर्केका छन्। 

ओलीले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई विजयी गराउन आह्वान गर्दै त्यस क्षेत्रको विकासको जिम्मा आफूले लिनेसमेत बताए। उनले प्रतिस्पर्धी दलहरूलाई चुनावी अभियानमा खर्च गरेर बालुवामा पानी नहाल्नसमेत आग्रह गरे। 

उनले सुहाङ हारे इलामलाई घाटा हुनेसमेत चेतावनी दिए। उनले भने, ‘यहाँको विकासको जिम्मा म लिन्छु।’ सुहाङ कमाउन चुनावी मैदानमा नआएको ओलीले प्रष्ट्याए । उनले भने, ‘सुहाङले बहस गर्दै कमाउँछन्। पैसा कमाउन यहाँ उकालो ओरालो हिँडेको हैन, देश बनाउन हिँडेको युवा हो।’ 

उनले परस्परमा घृणा फैलाउने काम नगर्नसमेत आग्रह गरे। उनले भने, ‘अरूको धर्म, आस्थाप्रति घृण नफैलाऊ, सम्मान गरांै।’ ओलीले फाल्गुनानन्दलाई राष्ट्रिय विभूति एमालेले बनाएको तर अहिले केही मानिसले एमाले फाल्गुनानन्द विरोधी भनेर भ्रम फैलाउन लागेको बताए। 

उनले भने, ‘हामी फाल्गुनानन्द राईलाई राष्ट्रिय विभूति बनाउने अनि अहिले एमालेलाई नै फाल्गुनानन्द विरोधी भन्ने ?’ नेता ओलीले माङ्सेबुङमा गएर यसअघि गरेको भाषण सम्झँदै भने, ‘हामीले जे जे भनेका थियौं त्यो पूरा गर्न हामी अहिले पनि लागिरहेका छौं।’ 

उनले नेकपा एमालेको नेतृत्व र संयोजनमा संविधान बनेको र सो संविधानमा विभिन्न भाषा संस्कृतिका कुरा संविधानमा आफूहरूले लेखेको दाबी गरे। उनले भने ‘हामीले संघीयताको कुरा संविधानमा लेख्यांै, भाषा संस्कृति र पहिचानको कुरा लेख्यौं अहिले त्यही संविधान पढेर हामीले लेखेको कुरा अहिले हामीलाई सुनाउने ?’

एमाले इलामका अध्यक्ष महेश बस्नेतले नयाँ शक्ति वा उम्मेदवारहरूबाट आफूहरूलाई कुनै किसिमको असहज र चुनौती नरहेको बताए। उनले भने, ‘हाम्रो सैद्धान्तिक मत सुरक्षित छ।’ गत निर्वाचनमा गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गरेर जितेको यस क्षेत्रमा एमालेलाई यसपटक माओवादीलगायत दलको साथ रहेको उनले बताए। 

माओवादीसँग गठबन्धन गर्दासमेत गत निर्वाचनमा १ सय १४ मतको झिनो अन्तरले पराजित भएको कांग्रेस यसपटक बदला लिने रणनीतिका साथ चुनावमा होमिएको छ। 

कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, डा. शेखर कोइराला, शशांक कोइरालासहितका नेता चुनावी क्षेत्रमा उतारेको कांग्रेसले एक्लै चुनाव जितेर इतिहास रच्ने र वाम विरासत तोड्ने गरी काम गर्ने पार्टीका कार्यवाहक सभापति खगेन्द्र देवान दाबी गर्छन्। 

महामन्त्री थापा र शर्मा पनि यसपटक इलामे जनताको खास प्रतिनिधि खड्कालाई जिताउन आह्वान गरेर फर्किसकेका छन्। थापाले कांग्रेस उम्मेदबार डम्बर खड्का इलामको समस्या बोकेर संसद् छिर्ने वास्तविक प्रतिनिधि हुने बताए। उनले कांग्रेसको तर्फबाट उठेका खड्काको जिम्मा आफूले लिने बताए। उनले भने, ‘इलामको विकासका लागि जिम्मा लिने खालको उम्मेदवार इलामे जनतालाई चाहिएकाले तपाईंको प्रतिनिधित्व गर्ने खास मान्छे डम्बर खड्का हुन्।’ 

इलामको यो चुनाव गठबन्धनको राजनीतिसँग जोडिएको भन्दै नयाँ सन्देशका लागि खड्कालाई जिताउनुपर्ने बताए। उनले यो चुनाव उत्तेजनाको राजनीतिसँग जोडिएकाले सजग रहन आग्रह गरे। सहिष्णु पहिचान यात्रासँग जोडिएको निर्वाचन भएको भन्दै खड्कालाई मतदान गर्न थापाले सबै मतदातालाई आह्वान गरे। 

अर्का महामन्त्री विश्वप्रकाश शर्माले परिवर्तन, पहिचान र प्रगति इलाममा कांग्रेसको मुद्दा भएकोे बताए। शर्माले कांग्रेसले सबैको पहिचान रक्षाका लागि लडिरहेको दाबी गरे। पहिचानको विषयमा कांग्रेस विनम्रताका साथ सुनेर समाधानको पक्षमा रहेको शर्माले बताए। उनले भने, ‘पहिचानको पक्षमा कांग्रेसलाई भरोसा गर्न आग्रह गर्दछु।’

उनले अघिल्लो निर्वाचनको वाचा सम्झिएर कांग्रेसको उम्मेदवारलाई मतदान गर्न माओवादीलाई आग्रह गरे। इलाममा विद्युतीकरण, सडकलगायतका क्षेत्रमा भएको विकासमा कांग्रेसले योगदान गरेको उनले सविस्तार सुनाए। 

कांग्रेस नेतृ कुसुम दाहाल यस निर्वाचनमा कांग्रेस एक ढिक्का भएर चुनावी मैदानमा रहेकाले कांग्रेसले बाजी मार्नेमा विश्वस्त छिन्। उनी भन्छिन्, ‘कांग्रेसमा हिजोको असमझदारी सकिएको छ, आज एक ढिक्का भएको कांग्रेसको अनुभव आम कार्यकर्ताले गरिरहेका छन्।’ कांग्रेसका प्रभावशाली नेता भेषराज आचार्यको त्याग र सक्रियताको कारण कांग्रेसले विजय हासिल गर्ने माहौल बनेको दहालको भनाइ छ। 

परम्परागत दलहरूले काम गर्न नसकेको आरोप लगाउँदै  राजनीतिमा परिवर्तन जरुरी छ भनेर आफूलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने प्रयास गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लागि पनि यो उपनिर्वाचन महŒवपूर्ण छ। माओवादीबाट आएका मिलन लिम्बूलाई पार्टीले उम्मेदवार बनाएको छ। 

गत वर्ष चितवन र तनहुँमा भएका दुई उपनिर्वाचन जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वबाट पनि खाता खोल्दै परम्परागत दलहरूलाई चुनौती मात्र दिन चाहेको छैन, वैकल्पिक शक्ति आफू नै हो भन्ने प्रमाणित गर्न खोजेको छ।

आफ्नो उम्मेदबार मिलन लिम्बूसँगै गाउँ छिरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू पार्टीको उम्मेदवार जिताउन मात्रै इलाम नआएको बताए। उनले इलाम र आम इलामेली नागरिकलाई जिताउन आफू चुनावी घरदैलोमा आएको जनाए।  
पहिचान पक्षधरहरू पनि उपनिर्वाचनमार्फत आफ्नो मागलाई वैधता दिलाउन लागि परेका छन्। कतिपयले यो निर्वाचनलाई पहिचानको पक्षमा भएको जनमत संग्रहको रूपमा अथ्र्याउने गरेका छन्। कोशी प्रदेशको नामकरणमा असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएका डकेन्द्रसिंह थेगिम पहिचान पक्षधरका तर्फबाट स्वतन्त्र उम्मेदवार छन्। 

थेगिमको चुनावी सभाहरूमा मास तताउँदै हिँडेका धरान उपमहानगरपालिका प्रमुख हर्क साङपाङ देशभरिबाट स्वतन्त्र उम्मेदबारले जित्नुपर्ने बताउँदै आएका छन्। इलामचोक बजारमै आमसभा गरेर उनले देशमा जनताका लागि काम गर्ने सच्चा पार्टी नभएको भन्दै श्रम नगर्नेहरू कम्युनिस्ट हुनै नसक्ने दाबी गरे। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.