गुगल म्यापको प्रयोग गरी फिल्मी शैलीमा झापा र मोरङका सहकारीमा चोरी गर्ने गिरोह पक्राउ

गुगल म्यापको प्रयोग गरी फिल्मी शैलीमा झापा र मोरङका सहकारीमा चोरी गर्ने गिरोह पक्राउ

झापा : विगत ६ महिनादेखि झापा र मोरङका दुई दर्जन बढी सहकारी संस्थामा श्रृङ्खलाबद्ध चोरीका घटना घट्यो। एकपछि अर्को गर्दै फिल्मी शैलीमा सहकारी संस्थाहरूबाट लाखौँ रुपैयाँ चोरी भइसकेको घटनाका कारण नेपाल प्रहरीको शान्ति सुरक्षामाथि नै प्रश्न उठ्यो। 

शान्ति सुरक्षाको माग गर्दै झापा जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यालय झापाको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र समेत बुझायो। सहकारीहरूबाट लाखौँ रुपैयाँ चोरी गर्ने गिरोहका व्यक्तिहरू सीसीटीभी क्यामेरामा देखिँदा समेत उनीहरू पक्राउ पर्न नसक्दा प्रहरीमाथि ठुलो चुनौती थपियो। 

सहकारीमा चोरी गर्ने गिरोह मध्यरातमा तीन जना मोटरसाइकल चढेर निस्किने, उनीहरू कालो ब्याग बोक्ने, अनुहार मास्कले छोप्नेदेखि मोबाइल नम्बरसमेत प्रहरीले पत्ता लगायो। ती गिरोहको नजिक पुग्न प्रहरीलाई ६ महिना कुर्नु पर्‍यो। अन्ततः झापा प्रहरीलाई एउटा ठुलो सफलता हात पर्‍यो। 

सहकारीमा चोरी गर्ने ६ जनाको गिरोहलाई झापा प्रहरीले शुक्रबार बिहान ७ बजेको इटहरी उपमहानगरपालिका–६ स्थित न्यु विशाल होटेल एन्ड गेस्ट हाउसको कोठा नम्बर ६ मा लुकीछिपी बसेको अवस्थामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए। 

पक्राउ पर्नेहरूमा मुख्य योजनाकार मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–५ का ३० वर्षीय सोमलाल स्याङ्तान, सोही ठाउँका २१ वर्षीय सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २४ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका–८ फाखेलका २८ वर्षीय अजय राना मगर रहेको एसपी केसीले बताए। प्रहरीले उनीहरूको साथबाट दुई मोटरसाइकल र चोरीमा प्रयोग गर्ने औजारहरू बरामद गरेको छ।  पक्राउ परेका उनीहरू एउटै गाउँका हुन्। 

मुख्य योजनाकार सोमलाल मकवानपुरबाट पूर्व आएर गुगल म्यापको प्रयोग गरी झापा र मोरङका विभिन्न सहकारीको कार्यालय तथा त्यस स्थानको वस्तुस्थितिका बारेमा बुझ्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सोमलालले नै जिपिएस कन्ट्रोल गर्दै अन्य पाँच जनालाई चोरीमा खटाउने गरेका एसपी केसीको भनाई छ। चोरीमा संलग्नलाई चोर डाँका कसुर मुद्दामा झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान अघि बढाएको उनले बताए। 

यसरी पक्राउ परे 

प्रहरीले चोरी भएको सहकारी संस्थालाई निगरानीमा राखेर अनुसन्धानको सुरुवात गरेको थियो। सुरुमा वरिपरिको सीसीटीभी फुटेज सङ्कलनदेखि लिएर घटनास्थलमा पुगेर त्यहाँका व्यक्तिहरूसँग सोधपुछ गर्ने कार्य गर्‍यो। तर, चोर पत्ता लागेन। हप्तेपिच्छे सहकारीहरू चोरेले फोड्न थाले। त्यसपछि प्रहरीले सूक्ष्म ढङ्गबाट अनुसन्धान गर्ने सोच बनाए। सहकारीहरूमा चोरी भएको बेला त्यस लोकेसनमा भएका मोबाइल नम्बरहरू ट्रेससँगै सङ्कलन गर्न थाले।

सहकारीहरूमा चोरी भएका बेला आसपास देखिएका केही मोबाइल नम्बरहरू एउटै भएको पत्ता लगाए। त्यो पत्ता लगाउन प्रहरीलाई झन्डै महिना दिन लाग्यो।  त्यसपछि प्रहरी मोबाइल नम्बर बोकेका व्यक्तिहरूको लोकेसन ट्रेस गर्न थाले। उनीहरूको लोकेसन हेटौँडासहित पूर्वका विभिन्न स्थान देखाउँथ्यो। उनीहरू एक ठाउँमा नबस्दा प्रहरीलाई समस्या भयो। एक जना प्रहरी उनीहरूको लोकेसन ट्रेस गरेर बस्थ्यो। झापा छिर्ने बित्तिकै उनीहरूलाई पक्राउ गर्ने प्रहरीले योजना बनायो। तर, त्यो अवधिभित्र उनीहरू झापा छिरेन। बैशाख ६ गते साँझ उनीहरूको लोकेसन इटहरी देखायो। 

आज राती पक्कै फेरि सहकारी फोड्न उनीहरू झापा आउँछ कि ? भनेर प्रहरी टोली दमक गएर बस्यो। लोकेसन अनुसार चार जना मोटरसाइकलमा पूर्वतिर निस्किएको देखायो। तर, उनीहरू झापा नआएर मोरङका विभिन्न पूर्वी भागहरू घुमेर बिहान ४ बजे पुनः इटहरी गएर बसेको लोकेसन देखियो। 

इटहरी लोकेसन देखाएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसँग समन्वय गरी झापा प्रहरी बिहान ६ बजे त्यसतर्फ लागे।  उनीहरू बसेको होटेल पनि पत्ता लगाए। इटहरी उप–महानगरपालिका–६ स्थित न्यु विशाल होटेल एन्ड गेस्ट हाउसको कोठा नम्बर ६ मा उनीहरू बसेको रहेछ। त्यसपछि प्रहरी टोली होटेल सञ्चालकसँग सहकार्य गरी कोठाको ढोका फोडेर उनीहरू पक्राउ गरे। कोठाभित्र तीन वटा खाटमा दुई/दुई जना सुतिरहेका थिए। सोही बेला उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरूलाई त्यही दिन दिउँसो झापा ल्याई पुर्‍याइएको थियो। 

एसपी केसीका अनुसार मकवानपुरबाट चोरी गर्न उनीहरू मोटरसाइकल चढेर पूर्व आउँथे। उनीहरू दमक र इटहरीका होटेलमा बसेर सहकारीमाथि निगरानी गरेर चोरी घटनालाई अन्जाम दिन्थे। सहकारीबाट रकम चोरेर उनीहरू सिधै मकवानपुर नै जाने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको बताए। उनीहरूले झापाका १३ वटा सहकारी संस्थाबाट ३० लाखभन्दा बढी रकम चोरी गरेको छ। सोही गिरोहले मोरङका १० भन्दा बढीका सहकारीबाट पनि लाखौँ रकम चोरी गरेको जनाइएको छ। 

चोरीका मुख्य योजनाकार सोमलाल र बुद्धले बढी रकम लाने र चालक तथा रेखदेख गर्नेहरूलाई १० देखि १५ हजार रुपैयाँसम्म दिने गरेको प्रहरीले जनाएको छ। भल्ट र सेफ सोमलाल र बुद्धले फोड्ने काम गर्थे। दुई जना बाहिरी रेखदेख र दुई जना मोटरसाइकल लिएर आउँथे। 

यता मुख्य योजनाकार सोमलालले २०८० बैशाख १२ गते मध्यरातमा इलामको महमाई गाउँपालिका–४ शुक्रबारे बजारस्थित साना किसान महिला कृषि सहकारी संस्था फोडेर २७ लाख ७१ हजार रुपैयाँ चोरी गरेका थिए। चोरी मुद्दाका सोमलाल इलाम प्रहरीको फरार सूचीमा रहेको जनाइएको छ। २०७० सालमा सोमलाललाई महानगरीय प्रहरी वृत्त बौद्धले घरमा चोरी गरेको आरोपमा पक्राउ समेत गरेको थियो।  

यी सहकारीहरू भए चोरी 

यी गिरोहले गत मंसिर २६ गते दमकस्थित काबेली साना किसान सहकारी संस्थामा चोरीको पहिलो प्रयास गरेका थिए। त्यहाँ केही फेला नपरेपछि गत पुस २६ गते मध्यरातमा झापाको हल्दिबारी गाउँपालिका–२ स्थित एकता बहुउद्देश्यीय सहकारी संस्था फोडेर साढे ३ लाख रुपैयाँ चोरी गरेका थिए। दमक, हल्दिबारी हुँदै त्यसपछि जिल्लाका विभिन्न पालिकामा रहेका सहकारी संस्थाहरूमा श्रृङ्खलाबद्ध चोरीमा उनीहरूको संलग्नता रहेको छ।  उनीहरूले झापा मात्र नभई मोरङमा समेत सहकारी संस्थाहरू फोडेर चोरी गरे। 

उनीहरूले माघ १७ गते हल्दिबारी–४ स्थित जलथल साना किसान सहकारी संस्था र दुग्ध सङ्कलन केन्द्र एकै पटक चोरी गरे।  सहकारीको कार्यालयभित्र रहेको भल्ट फुटाएर नगद एक लाख २५ हजार चोरी गरेका थिए, भने दूध सङ्कलन केन्द्रबाट नगद २६ हजार चोरी गरे।  

चैत २१ गते झापाको गौरादह ५ मा एकै रातमा तीन वटा सहकारीबाट ६ लाख ३६ हजार ५ सय रुपैयाँ बराबरको चोरी गरे।  उनीहरूले जनहित साकोसबाट ५ लाख, महारानी साकोसबाट ८५ हजार ५०० र साना किसान सहकारीबाट ५४ हजार चोरी गरेका थिए। 

चैत ५ गते राति गौरादह-९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा चोरी गरेका थिए। चैत २० गते कचनकवल गाउँपालिका-२ स्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था र साना किसान सहकारी संस्थामा चोरी गरेका थिए। त्यसपछि भद्रपुर ३ स्थित किचकबध बचत तथा ऋण सहकारी संस्था चोरीको प्रयास गरेका थिए।  

उता मोरङको बेलबारी–१० नारायण चोकस्थित झलझली बचत तथा ऋण सहकारी संस्थाको गेट र भित्रको झ्याल फुटाएर ३५ हजार पाँच सय रुपैयाँ चोरी भएको थियो।  बेलबारी ३ सहकारी मार्गमा रहेका जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड र लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी प्रयास भएको थियो। त्यस्तै पुस १२ गते कानेपोखरी ७ स्थित जनमुखी बचत तथा ऋण सहकारीबाट ४ लाख १४ हजार ८०१ रुपैयाँ, माघ २९ गते राति कानेपोखरी–६ स्थित आदर्श बचत तथा ऋण सहकारीबाट ९३ हजार ९६० रुपैयाँ, फागुन २ गते पथरीशनिश्चरे ८ स्थित सिद्धेश्वर बचत तथा ऋण सहकारीबाट चार लाख ७६ हजार १६६ रुपैयाँ चोरी भएको थियो। 

त्यसैगरी फागुन १५ गते राति लेटाङ–२ फडानी स्थित एकीकृत जनभावना बचत तथा ऋण सहकारीबाट १२ लाख ८१ हजार ३० रुपैयाँ, खैरेनी सेवा केन्द्रबाट ३ लाख ९० हजार ५८५ रुपैयाँ र गोदावरी सेवा केन्द्रबाट ८ लाख ९० हजार ४४५ रुपैयाँ चोरी भएको थियो। बेलबारी ८ राधानगरस्थित जनप्रेमी बचत तथा ऋण सहकारीमा चोरीको प्रयास भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.